महिनावारी बार्नु राम्रो कि नराम्रो ?

85


महिनावारी बार्नुको पनि कुनै कुनै अर्थ या करण हुन्छ । महिनावारीको समयमा पहिले पहिले सरसफाइमा ध्यान दिदैन थिए । त्यसैले संक्रमणका साथै इन्फेक्सन हुन्छ भनेर खेतबारीमा काम गर्न,पानी बोक्न, खाना बनाउन, गाईबस्तु छुन वा दुहुन बन्देज थियो । जुन महिला स्वयम आफैँ र परिवारको स्वास्थमा केन्द्रित थियो । पछि गएर त्यसलाई पाप र अपराधसँग जोड्न थाले अहिले त्यस्तो अवस्था छैन । अहिले विभिन्न ब्राण्डका साबुन,स्यानेटरी प्यार्डका साथै हाइजेनिक थुप्रै समान सजिलै पाइन्छ । यसरी हेर्दा महिलनावारी बार्नु एक तरिकाले सही पनि हो किन भने त्यो समयमा महिलाहरुलाई आरामको आवश्यकता पर्छ अर्कोतर्फ भन्दा महिलाहरुको स्वास्थ्यको हेलचेक्राइ गरेर अन्धविश्वासमा विश्वास गर्नु गलत पनि हो । –इन्दिरा गौतम

महिनावारी एक प्राकृतिक प्रक्रिया हो । यस अवस्थामा विशेष हेरचाह र साथको आवश्यकता पर्दछ । आरामको लागि महिनावारी बार्नु राम्रो हो । तर आरामको नाममा छुनै न हुने, भिन्न बस्नु पर्ने भन्ने कुरा गलत हो । यस अवस्थामा हामी पुरुषहरुले महिलाको भावनालाई बुझेर अझ उनीहरुलाई आराम दिनको लागि सहयोग गर्नुपर्छ । जसका लागि मनतातो पानी,फलफुल,झोलिलो खाने कुरा लगायत उनीहरुको रुची अनुसारको काम गरिदिन सक्छौँ । –उज्जल प्याकुरेल, पत्रकार

महिनावारी बार्नु राम्रो हो । हामी महिलाहरुलाई त्यो समयमा विशेष आरामको आवश्यकता पर्छ । हामीले आराम गरेर घरमै बसेर फलफुल खाने,झोलिलो खाने कुरा खाने, तातो पानीले पेट सेक्ने लगायतका काम गनुपर्छ । समय–समयमा नुहाउने, शरीरको सरसफाइमा ध्यानदिने गर्नुपर्छ । तर बार्ने भन्दैमा घरको भान्सामा जान नहुने, घरका पुरुष पात्रलाई छुन नहुने, लगायतका कामहरु गर्न
नहुँने भन्ने हैन । –सोनी कराञ्जित,बरिष्ठ ब्युटिसियन

महिनावारी एक प्राकृतिक प्रक्रिया हो । यसलाई बार्नु भन्दा पनि यस समयमा महिलाहरुले सरसफाइमा विशेष ध्यान दिन आवश्यक हुन्छ । पहिलेका मानिहसहरु शिक्षित थिएनन त्यसैले महिनावारी बार्ने भनेर भान्सामा जान नदिने, फलफुलका बोटहरु छुन नदिने,गाईबस्तु छोएमा पाप लाग्ने लगायतका अन्धविश्वास गर्थे । वास्तवमा भन्ने हो भने, त्यो समयमा महिलाहरुलाई पीडा हुने भएकाले आरा मगर्नको लागि महिनावारी बार्ने भनिएको हो । तर शिक्षाको अभावले गर्दा मानिसहरुले अन्धविश्वासलाई विश्वास गरेका हुन् । यसर्थ, महिनावारी बार्नु गलत हो । –प्रकाश कुमार श्रेष्ठ,समाजसेवी

पछिल्लो समय महिनावारी बार्ने चलन हराउँदै गएको छ । शहरमा मात्र होइन गाउँमा पनि महिलाहरुले महिनावारी बार्नु एक अन्धविश्वास हो । यस समयमा त झन महिलालाई विशेष हेरचाहको आवश्यकता पर्छ भनेर विभिन्न जनचेतनामुलक कार्यक्रमहरु हुने गरेका छन् । त्यसैले महिनावारी बार्नु भन्दा पनि यस समयमा महिलाहरुलाई आफ्नो स्वास्थ्यको विशेष हेरचाह गर्न, आराम, गर्न तथा सरसफाइमा ध्यान दिन आग्रह गर्न चाहन्छु –मनिता थापा, फेसन डिजाइनर

महिनावारी बार्नु भनेको एक अन्धविश्वास हो । यो बार्नुपर्ने कुरा नै होइन किन बार्ने ? महिनाभरी जम्मा भएर जमेको फोहोर चिज बाहिर निस्कने समय भएकाले हामीले सरसफाईमा ध्यान दिनुपर्छ । यो समयमा शरीर निकै कमजोर हुन्छ । त्यसले जुस, सुप, दाल जस्तो झोल पदार्थ धेरै खानुपर्छ । अहिले त पहिलेको तुलनामा अहिले महिनावारी बार्ने कुरा बिस्तारै परिवर्तन हुँदै गएको छ । त्यसैले पनि महिनावारी बार्नुनै पदैन । –उषा किरण बास्कोटा, विद्यार्थी