आज फूलपाती : घर–घरमा फूलपाती भित्र्याएर मनाइँदै

23

काठमाडौं । नेपालीहरुको महान् पर्व दशैंको आज सातौँ दिन घर – घरमा फूलपाती भित्र्याएर मनाइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर – घरमा शास्त्रीय विधिअनुसार शुभ – साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदै आएको छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु , हलेदो , केराको बोट , धानको बाला , बेलपत्र , दाडिम , जयन्ती , अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । फूलपाती भित्र्याउन साइतको आवश्यकता नपर्ने समेत समितिले जनाएको छ ।

परम्परागत रुपमा हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने चलन छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगरजातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि काठमाडौंको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

काठमाडौंको जमलदेखि हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी , गुर्जुका पल्टन , ब्यान्डबाजा , पञ्चेबाजा , सिङ्गारिएका कल्स्यौंडी र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।

राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दशैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेका छन् । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दशैं अर्थात दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ ।

आजैका दिनबाट सरकारी कार्यालय पनि विदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस स – परिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ – आफ्नो घर फर्किने क्रम अझ तीव्र हुने गर्छ ।

फलस्वरूप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो , चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटे पिङले दशैंको रौनकतालाई अझ बढाउने गर्छ ।