कोरोना पछिको व्यवसाय कस्तो छ ?

15

कोरोनाले अरु व्यवसायीलाई जस्तै सुन व्यवसायीलाई पनि प्रत्यक्ष असर पुर्याएको छ । कोरोना कहरको बेला ठप्प भएको व्यवसाय कोरोना पछि भने केहि सहज भएको छ तै पनि कोरोनाको कारणले नै मान्छेको क्रय शक्ति घटेकोले पहिला भन्दा कम मात्र सुन लगायत सुनका गहनाको किनबेच भइरहेको छ । विवाह लगायतका शुभकार्यमा पहिले झै सुन पसलमा मान्छेको भीडभाड बढेको छैन, कतिपयले पहिले गरेको अर्डर समेत रद्ध गरेका छन् भने कतिपयले अर्डर गरेको परिमाण घटाउने गरेका छन् । यो व्यवसायलाई सिजनले पनि असर गर्ने गर्छ, बैशाख भर्खर लागेको छ, अव चाहि व्यवसायमा केहि सहज हुन्छ कि भन्ने आशा देखिएको छ तर कोरोना कहरको दोश्रो लहरले अव के हुने हो भन्न सक्ने अवस्था भने छैन, यो प्रतिकुल अवस्थामा सबैले सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाइदिए सबैलाई सहज हुने थियो, पहिलो जस्तो व्यवसाय ठप्प हुने थिएन ।–ज्योत्सना श्रेष्ठ, सुन व्यवसायी

कोरोनाले धेरै असर गर्यो । लकडाउनले मान्छेको हिँडडुल नै नभए पछि पहिरन छनौटको आवश्यकता नै भएन, यसर्थ केभिडको बेला तहसनहस भएको व्यवसायमा कोभिड पछि केहि सुधार भएको छ, मान्छेहरुका गतिविधि चलायमान भए संगै व्यवसायमा पनि चहलपहल सुरु भएको छ । चरम निराशाबाट अव केहि आशा पलाएको छ, तै पनि पहिलेको जस्तो अवस्थामा फर्कन भने समय लाग्ने देखिएको छ, फेरी कोरोनाको हल्लाले व्यवसायमा केहि कमी हुने हो कि भन्ने त्रास पनि बढेको छ ।–लतसा बराल, फेशन डिजाइनर

मुलुक लकडाउनमा गए संगै सबै क्षेत्र ठप्प भयो सो बेला ब्युटिपार्लर तथा तालिम इष्न्टिच्युटहरु पनि बन्द भए । समाजका सबै गतिविधिहरु ठप्प भए पछि हाम्रो व्यवसाय पनि बन्द भयो । लामो समय बन्दाबन्दीमा बसे पछि कोरोना कहर कम हुने क्रममा लकडाउन खुल्यो, लकडाउन खुले संगै घरमै बसेका मान्छेहरु आ–आफ्नो व्यवसाय र दैनिकीमा फर्कन थाले । हाम्रो व्यवसायमा पनि सुधार हुन थाल्यो, कोरोना पछिको यो समयमा सामान्य रुपमा नै व्यवसाय अघि बढिरेहेको छ, सेवाग्राहीहरुको उपस्थिति पनि सामान्य जस्तै भएको छ भने हामीले ब्युटिशियन तालिम पनि संचालन गर्दै आइरहेका छौ, तालिम लिनेहरु पनि सामान्य अवस्थामा झैं आइरहेकाले कोरोना पछि व्यवसाय राम्रो भएको छ । अव फेरी कोरोनाको त्रास नबढे देखि व्यवसाय पहिलेकै अवस्थामा फर्कने थियो भन्ने आशा जागेको छ ।–रामेश्वरी मानन्धर, ब्युटिशियन