नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

15

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओमिक्रोन भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार दुई जनामा ओमिक्रोनको संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा ओमिक्रोन देखिएको थियो । उनीहरुमा ओमिक्रोन गत ७ मंसिरमा परीक्षण गरिए पनि गत १९ मंसिरमा संक्रमण पुष्टि भएको अधिकारीले जानकारी दिए । मन्त्रालयका अनुसार उनीहरु दुवै जनाले कोरोना खोप लगाइसकेका थिए ।

अफ्रिकामा गत ३ मंसिरमै ओमिक्रोन फेला परेको थियो । त्यहीँबाट आएका ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । उनी नेपाल आउँदा पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको मन्त्रालयले जनाएको छ । उनीहरु अहिले आइशोलेनसमा रहेर चिकित्सकको निगरानीमा छन् । यस्तै मन्त्रालयका अनुसार ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा नतिजा नेगेटिभ देखिएको छ । दुवै व्यक्तिको सम्पर्कमा आएका ६६ जनाको रिपार्ट नेगेटिभ आएको हो ।

ओमिक्रोन तिव्र गतिमा फैलिने भाइरस भइको विज्ञहरुले बताएका छन् । यो तिव्र गतिमा फैलिने भएकाले संक्रमण दर पनि धेरै हुन सक्ने आकलन गरिएको छ । यसका साथै यसअघि लगाइएको कोरोना खोपले पनि ओमिक्रोलाई काम गर्ने वा नगर्ने बारे अनुसन्धान भइहेको छ ।

ओमिक्रोन विश्वका धेरै मुलुकमा देखिएको छ । यसका साथै नेपालको लागि सबैभन्दा जोखिम मानिएको छिमेकी मुलुक भारतमा २१ जनामा देखिसकेको छ ।