विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान : प्रदेश प्रमुख गुरुङ

64

गण्डकी । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान भएको बताएका छन् । तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसारको अवसरमा आज शुभकामना दिँदै उनले सोनाम ल्होसारले नेपाली समाजमा सद्भावना बढाउँदै, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको उल्लेख गरे ।

यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने प्रदेश प्रमुख गुरुङले विश्वास व्यक्त गरे। “हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइने गरिन्छ । यस पर्वमा तामाङ समुदायले कूलपूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नुका साथै आफन्तजन भेला भई भोजन एवं मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ”, सन्देशमा भनिएको छ ।

यो पर्व तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चालगायत जातिले आ–आफ्नै शैली र परम्पराअनुसार मनाउँदै आएको सन्देशमा उल्लेख छ । सोनाम ल्होसारले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी प्रदेश प्रमुख गुरुङले शुभकामना व्यक्त गरेका छन् । रासस