एक प्रश्न : नारी दिवस मनाउनुलाई तपाईं कसरी लिनु हुन्छ ?

126

 

महिला प्रति सम्मान, प्रशंसा र सद्भाव प्रकट गर्ने दिनको रूपमा ८ मार्च लाई मनाउन थालिएको छ । महिलाको आर्थिक, राजनीतिक तथा सामाजिक अधिकारलाई स्थापित गरि महिलालाई सबै क्षेत्रमा समान व्यवहार र पहँुच स्थापित गर्न नारी दिवस मनाउने गरिएको हो । अन्तर्राष्ट्रिय नारी दिवस यो दिन सबै राजनीतिक दलहरू, गैह्सरकारी संस्थाहरु, सरकारी निकायहरु, पत्रकारहरु, बुद्धिजीवीहरु तथा आमसमुदायले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा नारीप्रति सम्मान प्रकट गर्ने, प्रशंसा र सद्भाव प्रकट गर्ने गर्दछन् । कानुनबाट र व्यवहारबाट विभेद, असमानताका विषयहरु हटाउन प्रण गर्दछन्, प्रतिवद्धता जाहेर गर्दछन् । फेरी विस्तारै दिनहरू बिन्दै जान्छन्, ती गरिएका प्रतिवद्धताहरू पातलिदै जान्छन् र विस्तारै विस्तारै पुरानै ठाउँमा पुग्दछन् । यसरी महिलाको अवस्था पुनः लगभग पुरानै अवस्थामा पुग्दछ । यसमा मुख्य जिम्मेवार सरकार र राजनीतिक दल हुन् तर हामी पनि अछुतो चाहि छैनौ । महिलाको मुक्ति वा समतामूलक समाज निर्माणको लागी १ दिन मात्र हैन ३६५ दिन नै सजग र सचेत हुन जरुरी छ । जबसम्म विभेद रहिरहन्छ तब सम्म यो अभियानलाई निरन्तर र अविछिन्न रूपमा चलाइरहनु पर्छ । यसले मात्र भित्र सम्म जरा गाडेर बसेको पितृसत्तात्मक सोच तथा समग्र विभेदको अन्त्य गरि समतामूलक समाज निर्माणको महाअभियान पुरा हुन सक्दछ र नारी दिवसलाई कर्मकाण्डीय रुपमा एक दिन मनाउने भन्दा पनि यसले उठाएका सवालहरुलाई सधै,सबै सरोकारवाला निकायले अगाडी बढाउनु उपयुक्त हुन्छ जस्तो लाग्छ साथै भएका उपलब्धिहरुको समीक्षा गर्ने, समविकासका विधि प्रकृयावारे छलफल गर्ने, उपलब्धिको मूल्याकंन गर्ने, गर्नु पर्ने कामको समीक्षा गर्ने दिनको रुपमा नारी दिवसलाई मनाउनु असाध्यै सान्दर्भिक र उपयुक्त छ । विभेद्हरुको अन्त्य गर्न र समतामूलक समाज निर्माण गर्न नारी दिवसले जुन प्रेरणा प्रदान गरेको छ, साहास थपेको छ यो अत्यन्त सहनीय छ । यसलाई अझ प्रभावकारी बनाउदै मनाउनु पर्दछ भन्ने लाग्छ ।
कमला उप्रेती
अध्यक्ष, महिला आधारशिला

महिलाका हकअधिकारलाई सफल कार्यान्वयनमा जोड दिन र थप अधिकार प्राप्तिका निम्ति आवाज उठाउने अवसरका रूपमा नारी दिवसलाई लिने गरेकी छु तर समतामूलक समावेशी सामाजिक संरचनाको निर्माण गर्न जुनसुकै निहुँमा महिलामाथि हुने अन्याय, उत्पीडन र विभेदको समूल अन्त्य गर्दै सार्थक र उपलब्धिमूलक बनाउन सकियो भने मात्र दिवस मनाउनुको औचित्य हुन्छ कि जस्तो लाग्दछ ।
नम्रता गैरे
शाखा अधिकृत, सर्वोच्च अदालत

नारी जन्मिएको हैन,बनाइएकी हुन्, फ्रेन्च लेखिका सिमोन दि बिउवर ले भने झै नारी दिवसको सुरुवात नारीको अधिकार र समानताका लागि भए पनि अहिले भने नारी दिवसको औचित्य माथि नै प्रश्न गर्नु पर्ने आवश्यकता छ । संसारभर तथा नेपालमै पनि अहिले नारीको महिमा, नारीका सफलता र कामहरु अवगत गराउन र महिलाको चेतना स्तर बढाउन नारी दिवस मनाइन्छ । पुरुष दिवस नहुने तर नारी दिवस हुनु आँफै पनि पुरुष प्रधान समाज को उपज हो । प्रश्न समानता को हो त्यसैले नारी दिवस मनाइनु आँफै पनि विभेद पूर्ण देखिन्छ । एकातिर नारी, पुरुष समान हौ भन्ने अनि अर्को तर्फ नारीको योगदान भन्दै कुनै एक दिनलाई उत्सवको रूपमा मनाउने परम्पराले असमानताको चित्रण गर्दछ । अबका नारीले वर्षमा एकदिन मनाइने नारी दिवसलाई खारेज गर्न आवाज उठाउनु जरुरी छ । नारी पूर्ण स्वतन्त्र छन् । नारी पहिले एउटा मानव हुन्, हरेक मानव मात्रले पाउने अधिकार, शिक्षा ,स्वास्थ्य र राज्य बाट पाउनु पर्ने सुरक्षा को प्रत्याभुति उसले नि पाउनु पर्छ भन्ने आवधारणाको विकास गर्न अब सक्नु पर्छ ।
सोफिया थापा, गायिका

सन् १९०८ तिर अमेरिकाको न्युयोर्कमा गार्मेट फ्याक्ट्रीमा काम गर्ने नारीहरुले आफूमाथिको विभेद विरुद्ध सुरु गरेको आन्दोलनले आज झण्डै एक सय चौध बर्ष पार गरिसकेको छ । हाम्रो देशमा मात्रै नभएर विश्वका जुनसुकै देशमा पनि लैंगिक विभेद विद्यमान छ । लिङ्गका आधारमा अझै नारीहरु चरम विभेद भोग्न वाध्य छन् । उनीहरु पैत्रिक सम्पत्तिमा पछि पारिनुका साथै आर्थिक अवसरहरुमा समेत चरम विभेद भोग्न बाध्य छन् । नारीहरु केवल बच्चा उत्पादन गर्ने कारखानाको रुपमा लिदा हाम्रो समाज पछाडि परेको यथार्थ हाम्रा सामु रहेको छ । यसले गर्दा नारीहरुको सामाजिक, आर्थिक र शैक्षिक अवस्था सन्तोषजनक छैन । नारीसंग सम्बन्धित समस्या उनको मात्रै समस्या नभएर स्वयम पुरुषको समेत समस्या हो भन्ने चेतना समेत हाम्रो पितृसतात्मक समाजमा भर्खर मात्रै विकसित हुदैछ । यस्तो अवस्थामा नारी दिवस मनाउनु भनेको नारीका समस्या प्रति संवेदनशिलता देखाउनु हो । यी माथि प्रस्तुत गरिएका समस्याहरुबाट हाम्रा नारीहरुलाई बाहिर निस्कन सहयोग गर्नु र आत्मासम्मानका साथ समाजका हरेक अंगमा ओजपूर्ण उपस्थितिको स्वागत गर्नु हो । नारी दिवस आयोजना गर्दा समाजमा नारीका अधिकार स्थापित हुनेछन् भने उनका उपलब्धिहरु संस्थागत हुनेछन् । नारी दिवसले नारीहरुलाई विभेदका विरुद्धमा लड्न र परिवर्तनका पक्षमा जनमत तयार गर्न सघाउने छ । नारी दिवसले नारीलाई मात्रै हैन समग्र मानव समाजमै सहअस्थित्वको विकास गर्ने र महिला, पुरुष दुबैको समान विकासमा टेवा पुग्ने छ ।
रमेश दाहाल, गीतकार

नारी एउटा पहिचान हो । यो पहिचानलाई स्थापित गर्ने अभियान मध्येको एक महत्वपूर्ण कार्य नारी दिवस हो । अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तारिखका दिन हरेक बर्ष विभिन्न कार्यक्रम गरी विश्वभर मनाइन्छ । भनिन्छ, नारी र पुरुष एक रथका दुइ पाङ्ग्रा हुन् । दुइटैले सन्तुलित भई बराबर गतिमा गुड्दा हाम्रो रथ गन्तव्यमा पुग्दछ तर हाम्रो देश र विश्वका विभिन्न स्थान र क्षेत्रहरुमा नारी र पुरुषलाई बराबर हैसियतमा दुई पाङ्ग्रा मानेको पाइदैन । नारीले आज पनि विभिन्न खालका विभेदहरुको सामना गर्नु परिरहेकै छ । जनसंख्या नारीहरुकै बढी छ तर आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा नारीहरुको उपस्थिति न्यून नै पाइन्छ । केही उदार सोच भएका परिवारमा बाहेक अधिकांश घरमा अहिले पनि नारीहरुमाथि कुनै न कुनै खालको भौतिक, अभौतिक र आर्थिक हिंसा हुने गरेकै छ । सामाजिक चेतनाको स्तर निकै बढ्दा पनि त्यसो हुनु बिडम्बना हो । स्वीकार नै पर्ने सत्य चाहिँ के छ भने एउटी नारी माथि हुने हिंसा र विभेदमा अन्य नारीहरु नै पुरुषभन्दा बढी प्रत्यक्ष रुपमा संलग्न हुने गरेका छन् । नेपाल सहित विश्वका धेरै देशले संविधान र कानूनमा समेत विशेष व्यवस्था गरी आर्थिक, सामाजिक र अरु सबै क्षेत्रमा नारीहरुको संलग्नता बढाउन खोजेका छन्, लोकतान्त्रिक सरकारहरुले राजनैतिक प्राथमिकतामा पनि पारेका छन् तर व्यवहारमा भने भनिएजस्तो गरी अभ्यास नगर्दा कार्यान्वयनमा कठिनाई भएको छ । नेपालको संविधानमा समेत ३३ प्रतिशन महिला आरक्षणको व्यवस्था भएको भएपनि त्यसको कार्यान्वयन अपूर्ण नै छ । त्यसैले यस्ता थुप्रै नारीसँग सम्बन्धित विषयहरुलाई स्थापित गर्न नारी दिवस अझ प्रभावकारी ढंगले मनाइनु पर्दछ, कर्मकान्डी तरिकाले होइन । बर्षमा १ दिन होइन बर्ष भरि नै यी बिषयहरुको खोजी र सकारात्मकता तर्फ विकास भइरहेको छ, छैन भनि निरन्तर निगरानी गरिरहनु पर्दछ । यो कामका लागि नारी र पुरुष दुबै जिम्मेवार छन् । यो धर्ति नारी र पुरुष दुबैको लागि बराबर हो । विश्वका नारीहरुलाई नारी दिवसको शुभकामना !
दिवेश खत्री
प्रिन्सिपल, हाम्रो सनसाइन स्कुल, कपन, काठमाडौं ।

प्रत्येक वर्षको ८ मार्चलाई श्रमिक महिला दिवसका रूपमा संसारभर मनाउने गरिएको छ । महिलालाई सशक्त बनाउनका लागि यो दिवस मनाउन थालिएपछि केही न केही सकारात्मक परिवर्तन त अवश्य भए । नेपालकै सन्दर्भमा कुरा गर्दा राष्ट्रपति, सभामुख तथा प्रधानन्यायाधीश जस्ता उच्च पदमा पनि गर्बिलो सहभागिता भएता पनि आम महिलाहरुको अवस्था भने नाजुक नै छ । पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुव्यवहार, एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथा जस्ता अमानवीय व्यवहार सहन बाध्य भएका छन् । महिलाहरुलाई पारिवारिक, सामाजिक, आर्थिक हरेक पक्षले बाँधेर राख्ने हुनाले पनि उनीहरुले आफ्नो दक्षता, क्षमता र रुची अनुसारको काम गर्न सहज छैन । त्यसका लागि सबैभन्दा पहिला घर–समाजले गर्ने व्यवहार र दृष्टिकोण परिर्वतन गर्न जरुरी छ । अन्तर्राष्ट्रिय नारी दिवस कुनै उत्सव नभई उत्पीडित महिलाको लैंगिक हिंसा विरुद्धको आवाज हो । यसर्थ आवाज उठाउनु पनि उत्तिकै अर्थपूर्ण छ ।
सविता पोख्रेल, संचारकर्मी