होलीमा रंग खेल्नु कतिको उपयुक्त हो ?

125

निता राउत, सञ्चारकर्मी : समाजसेवी
रंग को पर्वको रुपमा होलीलाई चिनिन्छ । यस दिन विशेष गरि रंगको प्रयोग बढी गरिन्छ । रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकरात्मक प्रभाव पार्छ । यस दिन विशेष गरि रातो रंगको प्रयोग बढी हुन्छ । रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । तर पछिल्लो समय त अनुहार नै नचिन्ने गरि रासायनिक पदार्थ बाट बनेको रंगको प्रयोग गर्न थालिएको छ । जसले गर्दा होली खेलेपछि छाला सम्बन्धि विभिन्न समस्याहरु आएको देखिन्छ । होली खेल्न प्रयोग गरिएको रंगका कारण अनुहारमा चाया पोतो, दाग, एलर्जी र सानासाना खटिराहरु आउने हुन्छ । संवेदनशिल छालाको लागी बजारमा उपलब्ध रंगहरु ठिक हुदैनन् । मेरो विचारमा बजारमा पाईने केमिकल युक्त रंगहरु प्रयोग गर्नु भन्दा सचेत भएर असर नपर्ने खालको रंग खोज्नुपर्छ । होलीको विशेषता नै रंग सँग जोडिएको हुन्छ । होलीमा रंग नै नेखल्नु भनेको त होइन रंग खेल्ने भन्दैमा केमिकल मिश्रण गरिएको रंगको प्रयोग गर्नु भन्दा सकेसम्म प्राकृतिक रंगको प्रयोग गर्दा राम्रो हुन्छ ।

 

दिवाकर नगरकोटी, ब्राण्ड म्यानेजर, सीजी ब्राण्ड
होली एक रंगहरुको पर्व हो । हामी होलीको दिनमा साथी भाई आफन्तहरु जम्मा भएर रमाईलो गरी रंग दलेर मनाउँछौँ । तर पछिल्लो समय रंग दलेर होली मनाउने भए पनि कसैको अनुमति बिना विभिन्न रंगहरु मिसाएर लगाइदिने विकृति बढेको छ । त्यसै पनि आजभोलि रंगहरुको विभिन्न प्रकारको केमिकलहरु मिसिएर आउने गर्छ । जसले गर्दा हाम्रो छालामा प्रत्यक्ष असर पर्छ । यसर्थ मेरो विचारमा होलीमा रंग नै लगाउनु भन्दा पनि सामान्य सफा पानीमा मात्र पनि होली खेलेर मनाउन सकिन्छ ।

ज्ञानीमैया महर्जन, ब्युटीसियन
होली मलाई मन पर्ने पर्व मध्यको एक हो । होलीको दिनमा रंग खेल्नु नै विशेष हो त रंग खेल्नुपर्छ । तर रंग खेल्ने भन्दैमा अनावश्यक रुपमा हो–हल्ला गरेर मानिसहरुको अनुमति न लिएर, बाटोमा हिडिरहेका मानिसहरुलाई सताएर रंग दल्नु नराम्रो हो । सीतिम रंगहरु त्यो पनि आफ्नो छालालाई असर गर्छ की, गर्दैन त्यसको विचार गरेर रंग खेल्नु राम्रो हो । त्यसैले होलीमा रंग खेल्नु राम्रो हो । रंग खेल्दा अर्गानिक रंगहरुको प्रयोग गर्नुपर्छ ।

प्रेम पन्थी, प्रोफेशनल फोटोग्राफर
होलीमा खेल्ने भनेकै रंग हो । तर पछिल्लो समय रंगको नाममा विभिन्न प्रकारका विकृति आइरहेको छ । युवा युवतिले होलीलाई एक पर्वको रुपमा भन्दा पनि रमाइलोको रुपमा मात्र लिने गरेका छन् । जसले गर्दा विभिन्न नसालु पदार्थ खाने, बाटोमा जो मानिसहरु भेटिन्छ उनीहरुलाई रंग लगाउने प्रवृतिको विकास भएको छ । यो एकदम गलत हो, हामीले आपसी माया प्रेम बाडेर, घरमा विभिन्न परिकार बनाएर घर परिवारमा रंग दलेर मात्र पनि होली मनाउन सक्छौँ । त्यसैले होलीमा रंग खेल्नु राम्रो हो । तर त्यसले कसैलाई पनि असर पार्न भएन ।

अन्जन शाही ठकुरी, म्यानेजर कर्णकर्ण टी
होली अर्थात रंगहरुको पर्व । होलीको दिन एक अर्कामाथि विभिन्न प्रकारका रंगहरु हालेर एक अर्कालाई रंगीन बनाउँछन् । होली पर्व मनाउनुको पौराणीक कारण इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन अगाडी होलीकालाई दहन गरिन्छ । साना साना बालबालिकादेखि बृद्ध बृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन । युवा युवतीहरु गीत गाउदै नाच्दै होली खेल्छन् । यस पर्वलाई फाल्गुन पूर्णीको दिनमा मनाउने भएकाले यसलाई फागु पूर्णीमा पनि भनिन्छ । होली पर्व घर परिवार साथीभाई आपसमा रंगमा रंगिएर उल्हासपूर्वक मनाउने फागुन पूर्णीमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्म रंग र रंगीन घोल पदार्थ लिएर गाउँदै बजाउदै रमाइलो गर्दै आपसी रिसिबीलाई बिर्सेर उत्साह र उमंगको साथ मनाउने रंगीन पर्वको रुपमा लिइन्छ । यसरी होली खेल्दा स्वास्थ्य र सौन्दर्यसम्बन्धी विषयमा सावधानी अपनाउनु जरुरी हुन्छ ।

सबी लामा नेगी, डिजाइनर
होली पर्व भन्नासाथ हामी रङ्गको पर्व भन्ने बुझ्छौ । त्यसकारण होली र रंगलाई छुट्टाउनु मिल्दैन । आफ्नो ईच्छा अनुसार रंगसँग खेल्दै साथीहरू अथवा परिवारसँग रमाउने रमाइलो चाड हो होली । कसैलाई रंग दलेर खेल्नु मन नपर्न सक्छ वा कसैको छालालाइ असर पर्छ भने उनीहरुले रंग नखेल्दा हुन्छ । मलाई होलीमा रंग खेल्नु सामान्य लाग्छ । खेल्नु पनि पर्छ । तर आज भोलि रंगमा धेरै केमिकलहरु मिसिने भएकोले साबधानी पूर्वक खेल्नु पर्छ ।