अरुको दुखको अगाडी मेरो दुख सानो लाग्छ

381

ललितपुर जाउलाखेलको कुसुन्तीमा जन्मिएकी सुरुची खड्का एकल महिला हुन् । मनमा लागेका हरेक कुरालाई प्रस्ट व्यक्त गर्ने उनी आफ्नो परिचयमा दिँदा शानको साथ म एकल महिला हुँ भन्न हिचकिचाउँदिनन् । त्यसैले उनी समाजले गर्ने एकल महिलाप्रतिको व्यवहार र प्रश्नको जवाफलाई निर्धक्क दिने गर्छिन ।
सानैदेखि निडर स्वभावकी उनले जाउलाखेलको कुसुन्तीमा नै आफ्नो बाल्यकाल बिताइन् । भानुभक्त मेरोरियल हाइएर सेकेन्डरी स्कूलबाट एसएलसी दिइन् अनि हिमालयन नर्सिङ क्याम्पसमा होसटेल बसेर नर्सिङ सकिन् । स्कूल क्याम्पसमा उनले राम्रो छात्राको उपमा पाएकी थिइन् ।

सानैदेखि उनको मनमा सेवाको भाव जागेको थियो । संयुक्त पविारमा हुर्केको भएर पनि होला उनी स्वभावले पनि अरुलाई सहयोग गर्न निकै रुचाउथिइन् । नर्सिङ पढ्ने क्रममा प्रयोगात्मक परिक्षाको लागि क्लिनिक जाँदा उनी सजिलै सबैसँग घुलमिल हुन्थिइन् । जसले गर्दा उनीसँग केही उमेर पुगेका आमा बुबाहरु धेरै नजिक हुन्थे । उनी ती व्यक्तिहरुलाई सेवा गर्न बाटो पर्दा होस् या फोन गरेर बो लाएको समयमा सामान्य पे्रसर जाँचनको लागि पनि पुग्ने गर्थिन ।

यसरी उनले आफ्नो नर्सिङ यात्रा फ्याम्ली प्लानिङ असिसटेशन अप नेपालको जरिबुट्टी ब्रान्चमा भोलिन्टियरको रुपमा सुरु गरिन् । त्यही काम गर्ने क्रममा उनको नेपाल मेडिकल कलेजमा नाम निकालिन् । उनले नेपाल मेडिकल कलेजको आइसी यु जागिर पाइन् । त्यहाँ तीन महिना काम गरेपछि उनले अक्ला अस्पतालमा पनि अन्र्तवार्ता दिइन् ३३ जनाले दिएको अन्र्तवार्तामा उनले ७ जना भित्र नाम निकालिइन् ।

मेडिकल कलेजमा काम गरेको अनुभव उनलाई अल्कामा पनि काम लाग्यो । यसरी उनले बिहान र बेलुकाको समयमा मिलाएर दुबै तिर काम गरिन् । उनी दिनमा १६ घण्टा व्यस्त नै हुन्थिइन् । त्यसरी आफूलाई व्यस्त राख्दा पनि उनी निकै खुशी थिइन् । उनलाई काम काम भन्दा पनि सेवा धेरै लाग्थ्यो । यसरी उनले तरिकाले रत्तदान कार्यक्रम गरेर होस् या बृद्ध, बृद्धा आमा बुबाको घरमा पुगेर होस् हरेक तरिकामा बाट सेवा नै गरिरहेकी हुन्थिइन् ।

कामकै शिलशिलामा उनी स्पर्श नेपाल नामक संस्थासँग जोडिन् पुगिन् । खासमा उनी त्यहाँ जागिरको शिलशिलामा पुगेकी थिइन् । जसले उनको अन्र्तवार्ता लिएका थिए । उहीँ व्यक्ति उनको जीवनमा प्रेमी मात्र हैन श्रीमान बनेर आए । करिब ६ महिनाको प्रेम सम्बन्धीपछि उनी विवाह गरिन् । माइतका केही व्यक्तिहरु सुरुमा विवाहको लागि राजी थिइनन् तर उनले परिवारलाई पनि मनाइन् । आफू भन्दा ११ वर्षले जेठो भए पनि उनी उनको मायामा पुरै पग्लेकी थिइन् ।

यसरी दुबै परिवारको सहमतिमा उनले विवाह गरिन् । धेरै व्यक्तिहरुले भगवानले जुराएको जोडी भनेर पनि तारिफ गर्थे । उनी पनि मन पराएको मान्छेलाई श्रीमान बनाउन पाउँदा निकै खुसी थिइन् । तर त्यो खुसी धेरै समय टिकेन । सानो सानो विषयमा झगडा पर्न थाल्यो । उनी श्रीमतीको भन्दा धेरै कुरा आमाको सुन्थे त्यो पनि एकोहोरो ।
विवाह अगाडीको उनको व्यवहार र विवाहपछिको उनको व्यवहारमा आकाश पातालको फरक हुँदै गयो । उनी लामो समयम कुलतमा फसेका थिए । यो कुरा उनलाई थाहा त थियो । तर सामान्य हो, कुनै उमेरमा केही व्यक्तिले गलत बाटो रोज्छन् तर राम्रो मार्गनिर्देशन पाए भने सफल पनि हुन्छन् भनेर आफूलाई विश्वास दिलाएकी थिइन् । यता, कयौँ पटक उनलाई समान झै घरबाट निकाले त कहिले उनी आफैँ पनि अत्याचार शहन नसकेर निस्किन बाध्य भइन् ।

तर उनी सधैँ सम्बन्ध बचाउनलाई आफूले शहन सक्ने क्षमतासम्म आफूलाई धर्यतामा राखिन् । यसो हुँदा हुँदै उनी डिप्रेशनको सिकार भइन् । उनी केही समय अगाडी आफैँले गरेको काम समेत बिर्सने अवस्थामा पुगिन् । त्यो समयमा पनि उनको श्रीमानले थोरै साथ दिने कोसिस पनि गरेनन् । जतिबेला उनलाई श्रीमानको सबै भन्दा धेरै आवश्यक थियो । तर पनि एक दिन सबै ठिक हुन्छ भन्ने आशामा आफूलाई बलियो बनाउने कोसिस गरिन् ।
जब उनको पेटमा बच्चा आयो । उनलाई सबै कुरा ठिक हुन्छ भन्ने लागेको थियो । जुन दिन श्रीमानले उनलाई अन्तिम पटक घरबाट निकालेका थिए । त्यसको भोलि पल्ट उनले आफू गर्भवती रहेको कुरा थाहा पाएकी थिइन् । उनी निकै खुसी थिइन् एक आमा बन्ने खुसी थियो अर्को तर्फ अब जिन्दगीले केही नयाँ मोड लिन्छ सब ठिक हुन्छ भन्ने विश्वास थियो ।

तर सबै सोचे झै कहाँ हुन्छ र ? उनी आफैँ माफि मागेर खुसीको कुरा सुनाउन हातमा गुलाफको फूल बोकेर घरमा त पुगिन् तर त्यो घरको सबै ताल्चा फेरिएको थियो । उनले फोन गरेर पेटमा मायाको चिनो पलाउर्दै गरेको खबर त श्रीमानलाई सुनाइन् तर पनि ती श्रीमानको मनमा आफ्नो सन्तानप्रति माया जागेन उल्टै एभोर्सन गर्न भनियो ।

त्यो समय उनी आफैँमा टुटिन् उनले कयौँ पटक पेटमा हुर्कदै गरेको शिशुलाई संसारमा आउनु अगाडी बदाई गर्ने सोच पनि बनाइन् तर आमा बन्दै गरेको त्यो मातृत्वले उनलाई गलत गर्न दिएन ।

जीवनमा धेरै चुनौती आयो । सम्बन्धलाई जोगाउन उनले धरै महिला आयोगहरु धाइन् । विभिन्न संघसंस्थासँग सहयोग मागिन् तर सबैले आश्वासन मात्र दिए । । उनले आफ्नो सम्बन्ध जोगाउन श्रीमानको गोडा ढोकेर माफि समेत मागिन् । तर पेटमा बच्चा भएको ६ महिनामा उनको सम्बन्ध विच्छेद भयो । अदालती प्रक्रिया अझै छ ।

२८ वर्षको उमेरमा एकल महिलाको रुपमा आफूँलाई समाजमा चिनाइरहँदा कहिले काँही उनले अनौठो व्यवहारको सामाना पनि गरेकी छिन् । उनलाई ती कहाली लाग्दा दिनहरको तीता पालहरु धेरै याद आउँछ, जहाँ समाजले जित्न नसक्दा चरित्रमा औँला उठाएका थिए ।

तर उनले कहिले हिम्मत हारिनन् । आफ्नो बच्चाको लागि भए पनि समाजसँग लड्ने निर्णय गरिन् । कोरोना महामारीके कारण भएको लकडाउनमा इन्टरनेट मार्फत विभिन्न कुराहरु सिकिन् । धेरै एकल महिलाहरुको समुहमा सक्रिय भइन् । जहाँ उनले अरुको दुख सुनेर आफ्नो दुखलाई भुलिन् । उनी भन्छिन्–‘कहिले काँही म मात्र होला यति ठूलो पीडमा परेको भनेर सोच्थे । जब अरुको दुख पीडा सुने त्यसको अगाडी मेरो पीडा त केही हैन जस्तो लाग्यो । आफूँ जस्तै धेरैको दुख सुनेर मैले जिउने हिम्मत बटुले । ’ बच्चा पनि जन्मियो त्यही बच्चाको मूख हेरेको पैसाबाट चार हजार झिकेर उनले बालबालिकाको लागि मलमल कपडा बनाउने आफ्नै व्यवसाय सुरु गरिन् । उनले सामाजिक सञ्जालमा आफूले बनाएको डिजाइन राखिने जुन भाइरल भयो ।

उनले धेरै एकल महिलाहरुको ग्रूपलाई पनि सहभागी गराइन् अनि नामै ‘आमाज क्रियशन’ राखेर व्यवासय सञ्चालन गरिन् । उनले आफूँ जस्तै एकल महिलाको लागि केही गर्ने उदेश्य राखेर अगाडी बढिन् अहिले आमाज क्रियशनमा केही सेयेरहोल्डर जोडिएका छन् । नामसँगै धेरै एकल महिलाहरुले दाम कमाएका छन् ।
अहिले उनी आफ्नो काम र छोराको हेरचाहामा व्यस्त छिन् । तर हरेक ती महिलाहरु जसले विभिन्न कारण एकल महिलाको रुपमा आफ्नो जीवन बिताइरहेका छन् उनीहरुलाई बाच्ने हौसला दिन्छिन् । समाजसँग आफ्नो अधिकारको लागि लड्न सिकाउँछिन् । उनको यो हिम्मत र हौसला देखेर उनको साथी र आफन्तहरुले पनि आज हातमा हात मिलाएर अगाडी बढ्न प्रेरणा दिएका छन् । प्रस्तुति :आयुष्मा बस्नेत