आसिफको अर्धशतकमा नेपालको सहज जित

11

काठमाडौं । त्रिदेशीय टी–२० श्रृङ्खलाको तेस्रो खेलमा नेपालले मलेसिया विरुद्ध सहज जित हासिल गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा आसिफ शेखको अर्धशतकमा नेपालले सहज जित हासिल गरेको हो। मलेसियाले दिएको ११५ रन लक्ष्य नेपालले चार विकेटको क्षतिमा १३.४ ओभरमा पूरा गरेको हो।

यो जीतसँगै नेपाल अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। नेपालको चार अंक छ भने मलेसियाको दुई अंक छ। पपुवा न्युगिनीले अहिलेसम्म अंक बटुल्न सकेको छैन।

नेपालका लागि शेखले ३८ बलमा ५७ रन प्रहार गरे। जसमा सात चौका र एक छक्का सामेल छन्। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २१, दिलिप नाथले १४ र रोहित पौडेलले १२ रन बनाए।

त्यस्तै, मलेसियाका लागि पवनदीप सिंहले दुई, मुहम्मद अमिर र सयेद अजिजले एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिउाले आठ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। मलेशियाका लागि जुवैदी जुल्किफले ३२, अहमद फैजले २४, मुहम्मद अमिरले १६ र सयेद अजिजले १४ रन बनाएका थिए।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिएका थिए।

टी–२० श्रृङ्खला अन्तर्गत चौथो खेलमा बिहीबार नेपाल र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ।