शान्त अनि निडर आनन्द र सरस्वतीको सहयात्रा

96

दुई हृदयको मिलन, सहयात्री वा जीवन साथी , बाँच्ने आधार, प्रकृतिको नियम, पवित्र बन्धन, सृष्टिको सुरुवात, श्रीमान श्रीमतीको सम्झौता, सामाजिक तथा सांस्कृतिक नियम वा चलन, मानवीय आवश्यकताको संगम हो विवाह ।

विवाह जीवनको महत्वपुर्ण संस्कारका साथै जीवन साथी साथमा जीनवभर अघि बढने कार्यको सुरुवात पनि हो । अपरिचित सम्बन्धलाई परिभाषा गर्दै एक बाट दुई दुईबाट तीन हुँदै एक परिवारको सृष्टि हुनु नै विवाह हो ।
फरक भुगोल, फरक परिवेश, फरक रहनसहन, फरक कला संस्कृतिको बीचमा आत्मियता आदानप्रदान हुँदै एक विवाह सम्पन्न भएको हुन्छ । विवाहमा केवल एक महिला र पुरुष पात्र मात्र हैन दुइ भिन्न परिवारसँगै समाज पनि जोडिएको हुन्छ । यसरी सामाजिक रुपमा जोडिएको सम्बन्धसँगै एक अपरिचित जोडीले सुख र दुखलाई आधा–आधा बाढेर अगाडी बढ्न गरिएको प्रण नै विवाहको पहिलो कदम हो ।

यसरी नै आज भन्दा ३३ वर्ष अगाडी एक पहाडी मुलुकको केटी सरस्वती पुरी र तराई मुलुकका केटा जयप्रकाश आनन्दले आफ्नो वैवाहिक यात्रा अगाडी बढाएका थिए । निरन्तर अगाडी बढिरहेको यो यात्रामा विभिन्न आरोहअवरोह आयो तर दुबैले मिलेर नै त्यसलाई पार लगाए ।

पिता श्यामसुन्दर रौनियार, आमा फुलेश्वरी देवी रौनियारको कोखबाट जयप्रकाश आनन्दको जन्म २०१६ सालमा भएको हो । मिश्रीत मधेसी समाजको बासिन्दा चुरेको फेदिमा घर, पवर्ती समाजको साथीहरु, नेपाली समाजसँग अन्र्तक्रियात्मक सम्बन्ध रहेको आनन्दको जन्म ठाउँ सप्तरीको पुरानो कञ्चनपुर अहिले चन्दरुक नगरपालिकामा भएको हो ।

आनन्दको बाल्यकाल सामान्य रुपमा नै बित्यो । पारिवारिक रुपमा समपन्न परियारमा हुर्किएका आनन्दले अन्य सहपाठीहरुले झै अभावको बाल्यकाल बिताउन परेन । उनी जन्मनु भन्दा करिब ५ वर्ष अगाडी मात्र शिक्षा अर्थात स्कुल भनेर भवनहरुको स्थापना भएको थियो । त्यही भएर कक्षा ५ सम्म त अंगे्रजी शिक्षा नै थिएन । त्यसैले आनन्दले ५ कक्षापछि मात्र ए.बी.सी.डी.. सिकेका थिए । त्यो समय पढाईको धेरै नै महत्व थियो । आनन्द बुबालाई घडी लगाउने रहर व्यक्त गर्दा पनि हैसियत पुगेको छैन एसएलसी पास गरेपछि मात्र लगाउनु पर्छ भन्नु हुन्थ्यो । त्यहाँ आर्थिक अभावले हैन, एसएलसी दिएपछि आफैँमा सक्षम भएको मानिन्थ्यो ।

आनन्द सानैदेखि राजनीतिमा लागेका थिए । आफैँमा निडर, प्रष्ट व्यक्ति भएर होला उनको राजनीतिक यात्रामा उनलाई सबैले सहयोग गर्थे । कक्षा ९ मा पढ्दै गर्दा आनन्दले करिब ५,६ महिना जेल जीवन पनि बिताए ।

विकासका पूर्वाधारहरु भर्खरै गाउँहरुमा पुग्दै थिए । उनले बत्तीको उज्यालो कक्षा १० मा पढ्दै गर्दा देखेका हुन । उनी त्यस भन्दा अगाडी कसरी बत्ती बल्छ होला भनेर हेर्न भारतको विभिन्न गाउँमा पुग्थे ।

पुर्व मोरङको मंगलबारी जन्मिएकी सरस्वती पुरीको पिताको नाम अमर पुरी र आमाको नाम नन्दकुमारी पुरी हो । उनको जन्म २०२५ सालमा भएको हो । सरस्वती बाल्यकालमा निकै शान्त स्वभावकी थिइन् । खेल्ने साथीभाई जम्मा गरेर रमाइलो गर्ने, साइकल चलाउने गरेर नै उनको बाल्यकाल बित्यो ।

उनले त्यो समयमा छोरी भएर पनि शिक्षाको राम्रो अवसर पाएकी थिइन् । उनले सुनपकुवा स्कूलबाट एसएलसी दिएकी हुन । उनी एसएलसीपछि पढ्नको लागि काठमाडौं आएकी थिइन । पदमकन्या कलेजमा पढ्ने उनको बसाई जयबागेश्वरीमा थियो ।

सरस्वती पशुनारायण चौधरी, शैलेजा आचार्य, अनुराधा कोइला बसेको घरमा उनीहरुसँगै बस्थिन् । मोरङमा सरस्वतीको पिता र शैलेजा आचार्यको परिवारको पारिवारिक सम्बन्ध राम्रो थियो । त्यसै कारण सरस्वती उनीहरुसँग बसेकी थिइन ।

त्यही घरको अगाडी आनन्द पनि बस्थे । आनन्द एसएलसी सकिए लगतै राजनीतिमा सक्रिय विद्यार्थीको रुपमा चिनिन्थे । त्यही समयमा आनन्दको गिरीजाप्रसाद कोरालासँग राम्रो सम्बन्ध भइसकेको थियो । गिरीजाले नै आनन्दलाई राजनीतिमा आफ्नो सक्रियता बढाउन आग्रह गरेका थिए । यही क्रममा आनन्द जयबागेश्वरीमा विपी कोइराला बस्ने घरमा बस्थे । जहाँ शुशिला कोइराला, भिमबहादुर तमाङ, विरेन्द्र दाहालसँगै १५ जना बढी राजनीतिमा सक्रिय व्यक्तिहरु थिए ।

यसरी छिमेकी भएको नाता एक तर्फ थियो भने सरस्वती बसेको घरमा आनन्दका साथीहरु पनि थिए । जसको कारण उनीहरुको भेट बाक्लै हुँदै गयो । आनन्दलाई सरस्वतीको रहनसहन, बानी व्यवहार मन पर्यो । अनि आनन्दले विवाहको लागि सरस्वतीलाई प्रस्ताव गरे ।

सरस्वती आफैँमा दोधार अवस्थामा थिइन् किन भने राजनीतिमा सक्रिय रहेको व्यक्ति कहाँ कति बेला के हुन्छ भन्ने ज्यानको पनि कुनै भरोसा थिएन । केही साथीहरुले सरस्वतीलाई राजनीति गर्ने व्यक्तिहरुसँग विवाह नगर्न पनि भनेका थिए ।

यता आनन्दले पनि आफूसँगैका साथीहरु पूर्ण बहादुर खड्का ,बलबहादुर केसी प्रकाश शरण महत लगायतका व्यक्तिहरुसँग बसेर विवाहपछि आर्थिक पाटो के हुन्छ ? सामाजिक पाटो के हुन्छ ? राजनीतिक रुपमा कतिको सहज हुन्छ भन्ने सामुहिक छलफल गरेर मात्र विवाह गर्ने सोच बनाएका थिए ।
आनन्दले आफ्नो विवाहको कुरा शैलेजा आचार्य मार्फत सरस्वतीको पितालाई राख्न आग्रह गरे । शैलेजाले आनन्दमा भएको असल खुवीहरुको प्रसंसा गर्दै आनन्दको लागि सरस्वतीको हात मागिन् तर सरस्वतीको पिताले सिधैँ ‘कोशी पारी छोरीलाई दिनु भन्दा त कोशीमा लगेर फालिदिन्छु । भन्ने कडा जवाफ फर्काए ।

आनन्दमा केही कमि, र उनी अयोग्य भएर हैन त्यो बेला पर्वतीय समाजले बुझेको मधेसी समाज त्यो पनि कोशी पारी त्यसै थियो । पृथक समाज, एकदमै मधेसी र पवर्तीको छोरी , जुन घरमा नेपाली बोलिदैन, नेपाली पहिरन हुदैन, कुनै नेपाली खानापिना हुँदैन । त्यस ठाउँमा छोरीलाई न दिने सरस्वतीको पिताको भनाइ पनि ठिक थियो ।

विस्तारै आनन्द र सरस्वतीको सम्बन्ध छरछिमेक हुँदै साथीभाईहरुले थाहा पाए ।
अनि नेता, विजय गच्छेदार, अमृत अर्याल, विरु लामा लगायतका नेताहरु सरस्वतीलाई लिन उनको घरमा नै पुगे । जाने भए राम्रोसँग हिड नत्र उठाएर भए पनि लान्छौँ भने पछि सरस्वती पनि जानको लागि तयार भइन् । त्यो समय राजनीतिमा लागेका उनिहरुमा उम्लिरहेको रगतमा ठूलो तागत हुन्छ भन्ने ठानेर उनी भाग्न तयार भइन् ।

शैलेजाको घरमा आएर उनले पितालाई पत्र लेखिन् । त्यो विवाह न मागि विवाह थियो , न भागि विवाह थियो, न त प्रेम विवाह नै किन कि आनन्द झैँ सरस्वती प्रेममा डुबेकी थिइनन् ।

यसरी काठमाडौंको गुहेश्वरीमा २०४५ साल, असार २२ गते उनीहरुको विवाह भयो । सरस्वतीले आफ्नो लागि चाहिने कपडा बाहेक सिन्दुर पोते सबै आफैँ नै किनेकी थिइन् । सरस्वतीको तर्फबाट आफन्त माइती जे भने पनि एक जना साथी मात्र थिइन् । सीमित साथीहरु अनि पण्डीत बनेका डा.तुलसी भट्टराइले केही पढेर मन्दिर घुमेपछि उनीहरुको विवाह सम्पन्न भएको थियो । ३२५ रुपैयाँ खर्च भएको त्यो विवाहमा गौशलाको मिठाइ पसलबाट एउटा–एउटा समोसा र रसबरी ल्याएर त्यही खाएर विवाह सम्पन्न गरेका थिए ।

आनन्दको राजनीतिक जीवन यथावत नै थियो । उता, परिवारको बीचमा रहेको पर्वत र मधेसको अन्तरद्वन्द पनि उनीहरुलाई नै झेल्नु थियो । तर जुन दिन एकबाट दुई बनेका थिए । त्यही दिनबाट उनीहरुले सुख र दुखलाई आधा आधा बाडेर अगाडी बढ्ने कसम खाएका थिए । त्यसैले पनि होला सरस्वतीको लागि विवाहपछि कुनै पनि विषयमा असहज परिस्थिति आएन ।

२०४५ सालमा भूकम्प गएपछि सरस्वतीको पिताले दशैँमा आफ्नो घरमा बोलाए । उता आनन्दको आमा आफैँ बुहारीलाई लिन काठमाडौँ आइन् । सासु आमासँगै आफ्नो कर्मघर गइन् । भाषिक रुपमा सरस्वतीलाई केही दिन समस्या त भयो । तर आनन्दको हजुरबुबा हजुरआमादेखि बुबा आमाले गरेको माया र सम्मानले उनलाई मधेसी समाजमा घुलमिल हुन निकै सहज बनायो ।

२०४६ सालमा जेठो छोरा अनुष्क रौनियारको जन्म भयो । त्यही समय आनन्द पनि राजनीतिक क्रान्तिको कारण केही समय जेलमा परे । प्रहरीले घरको समान फाल्नेदेखि केही मानसिक यातना समेत दियो तर सरस्वती कहिले डगमगाइनन् । २०५९ सालमा कान्छो छोरा आरगोस रौनियारको जन्म भयो । अहिले जेठो छोराले भारतमा फिल्म डिजाइनिङ पढेर दुई ओटा फिल्म बनाइ सकेका छन् साथै अन्य फिल्म बनाउने तयारीमा छन् भने कान्छो छोराले ए लेवलको पढाई सकेर बसेका छन् ।

यसरी विवाह गरेको ३३ वर्षको वैवाहिक यात्रामा कयौँ पटक एक अर्कोसँग रुष्ठ भएर बसे । तर त्यो केही समयलाई मात्र सीमित थियो । किन भने सँगै मर्ने अनिसँगै बाच्ने भनेर जोडिएको सम्बन्धमा दुबै जनाले केही कुरा सम्झौता गर्न तयार भए ।

घर हो, अगेनामा आगो न ठोसी बल्दैन । तर कहिले पनि आगोले विकराल रुप लिनु हुदैन कारण एक जना आगो हुँदा अर्को जना पानी भइदिन्छन् । उनीहरुलाई थाहा छ, सम्बन्ध जोड्ने धेरै कारण हुन्छ अनि सम्बन्ध टुट्न एक कारण नै काफि हुन्छ । त्यसैले त हरेक पक्षमा उनीहरु सकरात्मक कारण खोज्छन् । जसले सम्बन्धलाई टिकाएको मात्र छैन झन बलियो बनाउँदै पनि लगेको छ ।

आनन्दको राजनीतिक यात्रामा सबै भन्दा ठूलो हात सरस्वती कै छ । अनि सरस्वतीको सफलतामा आनन्दको साथ छ । आनन्दले मन्त्रीबाट सांसद हुँदै विभिन्न तहमा आफ्नो पहिचान बनाए । विश्वका ५० धन्दा धेरै देशको यात्रा आनन्दले गरिसकेका छन् । सरस्वतीले पनि एक व्युटिसियन र डिजाइनरको रुपमा आफ्नो नाम बनाइन् । सबै कुरामा खुसी अनि सन्तुष्टि छन् ।

पक्कै पनि, दुई व्यक्तिको बीचमा आपसी समझदारी भयो भने सम्बन्धमा कहिले पनि दरार आउँदैन । यस्तै एक उदाहरणीय जोडी हुन् आनन्द र सरस्वती । आनन्द जेल पर्दा होस् या घुमाउन लान्छु भनेर तयार भएपछि कयौँ पटक लगाएको कपडा फेर्दा होस् सरस्वतीले आनन्दप्रति कहिले नकरात्मक सोचिनन् । बरु उनले हातमा हात मिलाएर अगाडी बढ्ने हौसला दिइन् । यता आनन्दले पनि आफ्नो राजनीति जीवनलाई केही पर राखेर भए पनि सम्बन्धको महत्व बुझाउन सधैँ आत्मसम्मान गरे ।

त्यसैले वैवाहिक सम्बन्धलाई सुन्दर बनाउने जिम्मा केवल एक पात्रको मात्र हुँदैन यसमा दुबै जना उत्तिकै जिमेवार हुनुपर्छ । खुसी खोजेर भौतारिन भन्दा आफ्नो मान्छेले दिएको सम्मानमा सन्तुष्टि हुनुपर्छ अनि मात्र एक वैवाहिक सम्बन्ध प्रगाढ हुन्छ । सम्बन्धमा आँधी हुरी, दुख, सुखका धेरै पलहरु आउँछन् । मात्र एकले अर्कालाई बुझेर अगाडी बढ्ने कोसिस गर्यो भने जिन्दगी खुसीले बित्छ ।

त्यसैले सहयात्रामा उनीहरुको साथ र मायाको विशेष महत्व छ । जुन महत्वलाई आजको पुस्ताले बुझ्न आवश्यक छ । प्रस्तुति : आयुष्मा बस्नेत