व्युटिसियन पेसामा सिक्ने क्रम कहिले सक्दिैन

101


सृङगार महिलाको गहना हो । एक महिलालाई सुन्दर देखिन प्रोडक्टको महत्व जति हुन्छ त्यो भन्दा धेरै प्रोडक्ट प्रयोग गरेर आफ्नो कला देखाउने व्युटिसियनहरुको हुन्छ । कुनै समय व्युटिसियन पेसालाई केवल समय बिताउने एक माध्यामको रुपमा मात्र हेर्ने गरिनथ्यो । तर अहिलेको प्रविधिमय विश्व बजारमा व्युटिसियन पेसालाई नाम र दाम कमाउने उत्कृष्ट माध्यामको रुपमा हेर्ने गरिन्छ ।

यसरी करिब १७ वर्षदेखि सौन्दर्य पेसामा आवद्ध रहेकी व्युटिसियन हुन् सुभद्रा श्रेष्ठ । उनले सयौँ महिलालाई सुन्दर मात्र बनाएकी छैनन आफैँमा केही गर्छु भन्ने अठोट भयो भने सफल व्युटिसियन बन्न सकिन्छ भन्ने सन्देश पनि दिएकी छन् ।

केही महिलाहरुले विवाहपछि आफ्नो जीवनलाई अगाडी बढाउने माध्याम नै देख्दैनन । केहीले परिवारको साथ पाउँदैनन त केही साथ पाएकाहरुले पनि हामी महिला भन्ने संकोच सोचका कारण पछाडी नै परिहेका हुन्छन । तर उनले भने आफ्नो जीवनको आमुल परिवर्तन विवाहपछि नै गरेकी हुन् ।

आज भन्दा २० वर्ष अगाडी सौन्दर्य पेसालाई हेर्ने मानिसहरुको नजर धेरै फरक थियो । यस पेसालाई एउटा साधारण, समय कटाउने मेलो र खर्चिलो भन्ने गरिनथ्यो । त्यो समयमा उनले समाजको यी सब कुरालाई बेवास्ता गर्दै आफ्नो पाहिला अगाडी बढाएकी थिइन् ।

उनले जाउलाखेल भनिमण्डलबाट आफ्नो व्युटिसियन यात्रा सुरु गरेकी हुन् । सानैदेखि सुभद्रालाई यस पेसाप्रति निकै रुची थियो । आफैँ सृङगारिन अनि अरुलाई सृङर्गान उनलाई धेरै मन लाग्थ्यो । जसको कारण उनको सपना नै एक प्रोफेशनल व्युटिसियन बन्नु थियो ।

त्यही क्रममा उनले आफ्नो डेढ वर्षको छोरालाई सम्हाल्दै एन्जल व्युटिहोममा पुगेर व्यटी सम्बन्धी सिप सिकेकी थिइन् । उनको श्रीमान विदेशमा थिए । सुख र सुविधाको हिसाबले उनको जीवनमा केही कुराको कमि थिएन । तर उनी आफैँमा केही गर्न चाहन्थिइन् । आत्मानिर्भर हुन चाहिन्थइन् । आफ्नो व्युटिसियन बन्ने सपना पुरा गर्न उनले जीवनमा धेरै संघर्षको बाटोहरुलाई पार गरिन् ।

डेढ वर्षको छोरालाई बहिनीको साहारमा छोडेर उनी विभिन्न ठाउँमा तालिमको लागि पुगिन् । सिक्दै जाँदा उनलाई आफ्नो सपनाप्रति झन लगाब बढ्दै गयो । उनीमा व्युटिसयन बन्ने र आफैँले पार्लर खोल्ने भुत यसरी चढेको थियो कि,बाटोमा छोरालाई बोकेर हिड्दै गर्दा कुनै पार्लर र व्युटिसियन देखिन भने आफू त्यही ठाउँमा एक दिन पुग्छु भन्ने कल्पना गर्दा घण्टौैँ बितेको थाहा नै पाउँदैन थिइन् ।

त्यही सपनालाई साकार बनाउन उनले करिब १७ वर्ष अगाडी आफू बसेको कोठालाई नै पार्लर बनाइन् । जसको नाम राखिन् ‘सन साइन् व्युटि पार्लर’ । आफ्नै कोठालाई पार्लर बनाए उनले सोचे जस्तो सबै कुरा सहज थिएन । घर अगाडी नै उनको प्रतिस्पर्धामा अर्को पार्लर थियो ।

ट्याक्सीको छतमा सिसा हालेर होस् या फेसियलको एउटा समानबाट उनले आफ्नो पार्लरलाई सञ्चालनमा ल्याइन् । सुरुवातका केही दिनमा उनको पार्लरमा क्लाइन्टहरु कम आए तर उनले दिएको सुविधासँग क्लाइन्टहरुको चाप पनि बढ्दै गयो । अन्तत उनको कामलाई क्लाइन्टले यति धेरै मन पराए की, घर अगाडीको पार्लर सर्न बाध्य भयो ।

उनी कोठाबाट सटरमा सरिन् । ठाउँ सानो थियो । सफा चिटिक्क परेको जसले गर्दा क्लाइन्टलाई आर्कषण गर्यो । डाक्टरदेखि बैंकको सिइओसम्म उनको क्लाइन्ट भए । तर उनलाई कता–कता मनमा क्लाइन्ट आफ्नो कामले खुसी भए पनि आफुले चाहे जस्तो सुविधा दिन नसकेको भान भइरहेको थियो ।
आफु बसेको ठाउँबाट पनि केही बाध्यताको कारण छोडेर जानु थियो । एक प्रकारले त्यो ठाउँमा उनको लगाव बसिसकेको थियो । आफूले सपना सजाएको ठाउँबाट अन्त सर्न पर्दा उनी धेरै दिन रोएकी पनि थिइन् । यता,आफ्नो सानै देखिको सपना पनि पुरा गर्नु थियो । त्यही भएका क्लाइन्टलाई पनि आफ्नै बनाइ राख्नु थियो ।

त्यही कारण १५ वर्ष काम गरिरहेको सटरलाई छोडेर अर्को ठाउँमा आफ्नो पार्लर सारिन् । अहिले उनको पार्लरको ठाउँ मात्र ठुलो भएको छैन सुविधा सम्पन्न पनि छ । उनले आफ्नो क्लाइन्टको आवश्यकता अनुसार पार्लर सम्बन्धी सबै प्रकारका सेवाहरु दिने गरेकी छिन् ।

समय र क्लाइन्टको माग अनुसार उनले आफ्नो पार्लरलाई चिटिक्क बनाएर राखेकी छन् । १७ वर्षको अन्तरालमा उनले क्लाइन्टलाई सेवा मात्र हैन । उनीहरुले प्रयोग गर्ने प्रोडक्ट कस्तो हो, त्यसका फाइदा तथा बेफादाको बारेमा पनि जानकारी दिने गरेकी छिन् ।

उनलाई थाहा छ,व्युटिसियन पेसामा नामसँगै पैसा पनि हुन्छ तर त्यसको लागि धर्यताको आवश्यकता पर्छ । एकपछि अर्को प्रविधिमा आफूलाई अपडेट गराइरहनुपर्छ । उनी भन्छिन्–‘ व्युटिसियन पेसामा सिक्ने क्रम कहिले सक्दिैन । आज एक कुरा सिकियो भनेर खुसी भइन्छ भोलि अर्को कुरा अपडेट भइहाल्छ। जति नै आफूलाइ अपडेट गरे पनि केही अझै सिक्न बाँकी नै छ जस्तो लाग्छ ।

अहिले प्रतिस्पर्धाको समय छ, केही नयाँ दिन सके मात्र क्लाइन्टहरु आफूतर्फ आर्कषित हुन्छन् तर उनको भने १७ वर्ष अगाडी देखिकै क्लाइन्टहरु आइरहेका हुन्छन् । यसरी क्लाइन्ट आउनुको मूख्य कारण उनले दिने सेवा र सुविधासँगै आत्मिय व्यवहार हो । जहाँ आउने हरेक क्लाइन्टसँग समन्वयन गरेर मात्र काम अगाडी बढाउछिन् । प्रस्तुति : आयुष्मा बस्नेत