यात्रा संस्कार

114

मानिसले यात्राबाट जीवनमा अनुभव र ज्ञान लिएको हुन्छ । यात्राको परिभाषा मानिसहरुको भोगाई अनुसार फरक फरक छन् । कोहीले यात्रा भन्ने वित्तिकै रमझम, ठूलो बजेटमा गरिने ऐस आरामलाई मात्र बुझ्छन् भने कोही प्रकृतिको काखबाट लिइने आनन्दलाई यात्रा भनेर बुझ्ने गर्छन ।

वास्तवमा यात्रा एक कला हो । अनुभवको भण्डार हो । कहिले उकाली कहिले ओराली, सुख, दुख, आँसु, हाँसो बीचको संगमलाई बुझ्ने अनि बुझाउने उपयुक्त माध्याम हो यात्रा ।
विशेष यात्राको महत्व पुरुष वर्गको साथसाथै महिला वर्गले अझ धेरै बुझ्न आवश्यक छ । एक महिलाले श्रीमान,छोराछोरी, घर परिवारलाई दिइरहेको समयबाट केही सयम आफ्नो लागि पनि निकाल्न आवश्यक छ । पुरुषलाई झै महिलालाई स्वतन्त्र नभएको हाम्रो देशमा महिलाले नै आफ्नो ज्ञान र अनुवको लागि भए पनि यात्रा गनुर्् निकै आवश्यक हुन्छ ।

म प्रकृतिसँग रमाउने व्यक्ति, प्रकृतिको काखमै मैले स्वर्गको अनुभव गरेको छु । त्यसैले कोरोना महामारीको समयमा सबै भन्दा धेरै मैले यात्राको अनुभूति र आनन्द लिए । दिनभरी घरमा बसिरहनु भन्दा घर अगाडी भएको वातावरणमा रमाउन मात्र सकियो भने सबै भन्दा धेरै अनुभव बटुल्न सकिन्छ । प्रकृतिबाट जीवन र जगतलाई अत्यन्त सरल रुपमा बुझ्न सकिन्छ । जीवनमा मैले धेरै यात्रा गरे । सगरमाथाको बेसक्याम्पदेखि काठमाडौँ वरपरका यी डाँडा पाखामा मेरो गोडा नपरेको ठाउँ कम होलान् । तर हरेक ठाउँबाट मैले केही न केही नयाँ कुरा सिकेको छु व्यवहारमा लागु गरेको छु ।

मैले सम्पन्न परिवारको रहनसहन देखि एक छाक खानको लागि दिनभरी पसिना बगाउने व्यक्तिबाट जीवन जिउने पाठ सिकेको छु । त्यो सबै पाठ सिक्ने मौका मैले यात्राको क्रममा नै पाएकी हुँ । यात्रा गर्न पैसाको आवश्यकता पर्दैन केवल मन हुनुपर्छ । हामीले हाम्रो बजेट अनुसारकै यात्राको योजना बनाउन सक्छौँ ।

आमा घरको पहिलो शिक्षक हो । आमाले जति धेरै कुरा देखेको हुन्छ, भोगेको हुन्छ । त्यसबाट नयाँ अनुभव र अनुभूति सँगालेको हुन्छ । त्यो अनुभव र अनुभूति सन्तानको लागि उपयोगी हुन्छ । नेपाली समाजलाई मात्र हेर्ने हो भने, पुरुषको तुलनामा महिलाहरु निकै कम यात्रामा निस्कने गर्छन् । महिलाहरुको दिमागमा सानैदेखि समाजले घर परिवार सम्हाल्नुपर्छ, साँझ घर छिट्टै घर फर्कनु पर्छ लगायतको धारणा सृजना गरको छ । त्यसले गर्दा महिलाले आफ्नै लागि पनि समय निकाल्ने कोसिस गरिरहेका हुँदैनन ।
तर अब समाज आधुनिक हुँदै गएको छ । विश्वको भ्रमण हामीले एक कोठामा बसेर गर्न सक्छौँ । यधपि, जुन प्रकृतिमा गएर प्रत्यक्ष रुपमा त्यहाँको वातावरणलाई नजिकबाट निहाल्ने कोसिस गछौँ तब जीवनको वास्तविक अर्थ के हो भन्ने कुरा बुझ्छौँ ।

सबै भन्दा पहिला हामीले यात्रा अर्थात भ्रमण गर्ने संस्कारको विकास गर्न आवश्यक छ । शहरी क्षेत्रमा पछिल्लो समय महिलाहरु आत्मानिर्भर बन्न घर बाहिरको काममा जान थालेका छन् । घरको अधिकांश कामहरु पनि उनीहरुले नै गरिरहेका हुन्छन् । जसले गर्दा उनीहरुमा मानसिक र शारीरीक जिमेवारी धेरै पर्ने गर्छ । उनीहरुले त्यतिबेला आफ्नो खुसी र इच्छा के हो भन्ने कुरा नै बिर्सेका हुन्छन् । त्यस कारण जति नै व्यस्त समय भए पनि हरेक महिलाले नयाँ अनुभव बटुल्न, खुसी हुन यात्राको योजना बनाउनुपर्छ । यात्राबाट दिमाग फ्रेस हुनुको साथै नयाँ ज्ञान सिक्ने अवसर मिल्छ ।

यात्राले मानिसलाई किताबी ज्ञान भन्दा सय गुणा बढी अनुभवको भण्डार सिकाउँछ । यात्राले कुनै ठाउँको रहनसहन, वातावरण, दुख सुख मात्र हैन, हामी जन्मनुको सार्थक सत्यलाई नियाल्न सिकाउँछ । ४० केजीको मान्छेले ८० केजीको भारी किन बोक्छ ? एक घुड्को पानी पिउनको लागि टाढाको पधँेरासम्म मानिसहरु किन धाउँछन् ? रातभरी बिझाउँने ओछ्यानमा मिठो सपनाको कल्पना कसरी गर्छन ? हो, यी सब प्रश्नको जवाफ मात्र हैन हाम्रो जीवनको महत्व बुझ्न यात्रालाई संस्कारको रुपमा विकास गर्न निकै आवश्यक छ । यात्राबाट प्राप्त अनुभवले जीवनलाई आफ्नो अवस्था अनुसार कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा सिकाउँछ ।

यात्राले मान्छेलाई धर्यवान, निडर शहनशिल,पौरखी बनाउनुको साथै जस्तो परिस्थितिमा पनि बाच्न सिकाउँछ । , अभावको जीवनमा पनि खुसीको पालुका कसरी पलाउँछ भन्ने कुराको अनुभव बुझाउँ छ ।

त्यसैले हामीले हाम्रो आवश्यकता भित्र केवल गाँस,बाँस,कपास,शिक्षा,मात्र हैन यात्रालाई एक संस्कारको रुपमा जोड्न आवश्यक छ । यात्राबाट पाएको ज्ञानले नै वास्तवमा हामी को हौँ र हामीले दुखको भिडमा पनि जीवनलाई कसरी जिउन सक्छौँ भन्ने पाठ सिकाउँछ । यात्रा गर्ने क्रममा विभिन्न समाजलाई नजिकबाट नियाल्ने मौका मिल्छ । अभाव दुख पीडा भित्र आफूलाई कसरी खुसी राख्न सकिन्छ भन्ने ज्ञान सिकाउँछ । त्यसैले हरेक महिलाले यात्राको लागि जीवनका थोरै समय भए पनि छ्टाउन आवश्यक छ । यात्राले मानिसलाई शारीरिक रुपमा मात्र हैन मानसिक रुपमा पनि स्वस्थ राख्न मद्दत गर्छ । जति मानसिक रुपमा स्वस्थ भइयो उतिनै सृजनशिल पनि भइन्छ ।

कहिले उकाली कहिले ओराली,घाम र पानी,सजिलो र अपठ्यारो,कहिले मन आत्तिने, कहिले मात्तिने कहिले शरीर गल्ने त कहिले दंग पर्ने यात्रा जस्तै छ जिन्दगी ।
त्यसैले म भन्छु , जीवन बुझ्न आधुनिक प्रविधिको साथ साथै कुनै नयाँ ठाउँमा पुगेर ज्ञान, अनुभव हासिल गर्दा जीवन सरल हुन्छ र काम गर्न खुसी र प्रेरणा मिल्छ । त्यसैले मैले मेरो जीवनमा धेरै अनुभवहरु बटुलेको छु । त्यही अनुभवले गर्दा मैले सरल तरिकाले जीवन जिउन सकेको छु । प्रस्तुति :आयुस्मा बस्नेत