स्थानीय निर्वाचन : मंगलबार रातिदेखि मौन अवधि लागू हुँदै

51

काठमाडौं– यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ।

आयोगका अनुसार मौन अवधिमा प्रचार प्रसारलगाायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुनेछ। यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन।

त्यसकारण चुनावी प्रचारका लागि मंगलबार अन्तिम दिन हो। अन्तिम दिन भएकाले मंगलबार उम्मेदवारहरू चुनावी प्रचार प्रसारलाई तिव्रता दिने ध्याउन्नमा छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा पुगेका छन्।

 

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ।

मौन अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न निषेध गरिएको आयोगले जनाएको छ।