कपडाको रंगहरुसँग रमाउँदा सबै दुख बिर्सन्छु

158

हरेक मानिसको जीवनमा एउटा सपना हुन्छन् । हर कोहीको सपना पुरा नै हुन्छ भन्ने कुराको निर्धारण उसले गर्ने मेहेनत, परिश्रम, धर्यता र संघर्षमा भर पर्छ । यस्तै एक सफल महिला उद्यमीको रुपमा आफ्नो पहिचान बनाउन र आफ्नो सपना पुरा गर्न डिजाइनर पेसामा आवद्ध व्यवसायी हुन् भावना शाही ।

बाँकेको नेपालगञ्ज चिसापानीमा बुबा दलबहादुर शाही र आमा गंगादेवी शाहीको कोखबाट कान्छी छोरीको रुपमा भावनाको जन्म भएको हो । सामान्य परिवारमा जन्मिएकी भावनाको बुबा पेसाले प्रहरी हुन भने आमा गृहणी हुन् ।

शाही ठाकुरी परिवारमा जन्मिएकी भावनाको बाल्यकाल सामान्य रुपमा नै बित्यो । शान्त अनि शुशिल स्वभावकी भावनाले गाउँको परिवेशमा जन्म लिए पनि बाल्यकालमा खासै दुखका पलहरु भोग्नु परेन् । सामान्य तया भावनाको आमाले छोरीहरुले पढाइसँगै घर परिवार र व्यवहारको काममा नै जोड दिनुपर्छ भन्ने मान्यताको साथ भावना बाहिरी काममा भन्दा घरायसी काममा नै धेरै व्यस्त हुने गर्थिन् ।

आमाले भावनालाई भान्सको काम मात्र हैन छोरी भएर जन्मिएपछि हरेक काममा अब्बल हुनुपर्छ भन्ने प्रेरणाको साथ सिलाई बुनाईको काम पनि सिकाउनु हुन्थ्यो । भावनाका सानी आमा डिजाइनर हुनुहुन्थयो । भावनालाई पनि सानैदेखि डिजाइन क्षेत्रमा लगाब बस्दै गयो । भावनाको त्यो लगाब बिस्तारै एक सफल डिजाइन् बन्ने सपना बन्न थाल्यो ।

पढाई र सानी आमाकोमा डिजाइनरको ज्ञान लिँदा लिदै भावनाले साथीहरुको लहलहीमा नेपाल आर्मीमा भर्ती हुने निर्णय गरिन् । यता, भावनाको बुबाको सपना छोरीले भविष्यमा डाक्टर नर्स बनेर सेवा गरोस् भन्ने थियो । साथीभईले भनेका कुरा मात्र हैन उनलाई आफैँमा पनि नेपाल आर्मीको जागिर राम्रो हुन्छ म देशको लागि केही गर्छु भन्ने चाहाना बढ्न थाल्यो ।

भावना घरको कान्छी छोरी भएकोले जागिर भन्दा पनि पढेर केही गरोस् भन्ने चाहन्थे । तर भावनालाई नेपाल आर्मीमा भर्ना हुनु थियो । जुन साथीहरुको लहलहीमा लागेर भावनाले आर्मीमा जाने निर्णय गरेकी थिइन् । ती साथीहरु बाहेक भावनाको मात्र आर्मीमा नाम निस्किएको थियो । जुन कुरा सुनेर भावनाको बुबा आमा निकै भावुक भएका थिए ।

जागिरको शिलशिलामा बिदाको समया जब उनी सानीमाको बुटिकको लागि समान हालिदिन मार्केट जान्थिइन् । उनलाई आफू डिजाइन् नै बन्नुपर्छ भन्ने लाग्थ्यो । जब बाटोमा बुटिकहरु देख्थिइन् । त्यहाँ आफूलाई कल्पना गर्थिन् । त्यसै कारण भावनाले एक दिन जागिरलाई परित्याग गरेर डिजाइनर नै बन्ने अठोट गरिन् । अन्तत : नौ वर्षको नेपाल आर्मीको जागिरलाई अन्त्य गर्दै डिजाइनर पेसामा आवद्ध भइन् ।

भावनाले जागिर गर्दा गर्दै नै फेन्सी पसल खोलेकी थिइन् । भावनाले खोलेको फेन्सी पसल वरपर खासै बुटिक थिएन । त्यहाँ वरपरका महिलाहरुको माग अनुसार ३ लाख लगानीमा भावनाले मैपीमा ‘युबी कलेक्सन’ नामको बुटिक खोलिन् । सुरुका दिनमा व्यापार ठिकै थियो । विस्तारै ग्राहकको चाहाना अनुसार कपडा बन्न थालेपछि बुटिक फैलदै गयो ।

भावनाले आफ्नो व्यापार र कामको महत्व धेरै बुझेकी छिन् । अझ धेरै आफ्नो पेसालाई भावनाले त्यही बेला बुझिन् जति बेला कोरोना महामारीको कारण देश लकडाउनमा थियो । उनले त्यस समयमा पनि आफ्नो व्यापार र सपना पुरा गर्नको लागि हरेक समय संर्घष गर्न सिकिन् । बन्द सडकको भाडा स्टाफको खर्चलाई व्यवस्थित गर्न भावनाले केही समयको लागि आफ्नै बुटिकको एक सटरलाई किराना पसल समेत बनाइन् । लकडाउनको समयमा भावनाले सबै भन्दा धेरै कमाईको केही प्रतिशत सञ्चय गर्न सिकिन् । हरेक संघर्षबाट नयाँ ज्ञान लिइन् तर आफ्नो सपना पुरा गर्ने चाहानालाई कहिले मर्न दिइनन् ।

भावनाले आफ्नो काम र शिक्षाको महत्व त्यतिबेला बुझिन जति बेला भावना कामको शिलशिलामा भारतको यात्राको लागि निस्केकी थिइन् । एक पढेको व्यक्तिले गरेको त्यही काम र न पढेको व्यक्तिले गरेको त्यही काममा कति धेरै अन्तर हुने रहेछ भन्ने कुराको अन्तर जब भावनाले थाहा पाइन् त्यसपछि आफ्नो कामसँगै पढाईलाई पनि निरन्तरर्ता दिन थालिन् । भावनालाई थाहा छ, कुनै पनि काम सानो ठूलो हुँदैन । त्यसैले भावना हरेक कामको सम्मन गर्छिन् ।

अहिले भावनाको बुटिकमा ग्राहकको चाहाना अनुसारको सबै प्रकारका ड्रेसहरु बन्ने गरेका छन् । एक समय थियो सिंहदरबारको गेटमा ड्युटी बस्दै गर्दा सफा चिटिक्क कपडामा डाक्टर, नर्स, इयरहोस्टेज हिडेको देख्दा भावनालाई बुबाको सपना पुरा न गरेकोमा पछुतो लाग्थ्यो । तर अहिले जब सटर खोलेर रंगिन कपडामा डुब्न थाल्छिन् भावनालाई आफ्नो संसार नै यही जस्तो लाग्छ त्यही कपडा हेरेर आफ्नो पीडा भुल्छिन् । एक सटर भित्र रहेको रंगीन कपडालाई नै उनले आफ्नो जीवनको सपना बनाएकी छिन् ।

साधारण जीवन बाच्न चाहने भावनाको एक मात्र लक्ष्य एक सफल उद्यमी महिला बन्नु छ त्यसैले भावना ती पात्रहरुको प्ररणाको स्रोत बन्न चाहन्छिन् जसले आफ्नो लक्ष्य पुरा गर्न आधाबाटो हिडेर हरेस खाएका हुन्छन् ।