जीवन भोगाई : मन न परेको पेशाले बनाएको निनाको पहिचान

45

जीवन एक भोगाइ हो । अनवरत रुपमा चलरहेको एक यात्रा हो जीवन । जन्मदेखि मृत्युसम्म भोगिने सुख, दुख, आँसु, हाँसोको संगम हो जीवन । यही जीवनलाई सुन्दर बनाउने सन्दर्भमा मानिसहरुले हरेक समय संघर्ष गरिरहेको हुन्छन् ।
जीवज जिउँने क्रममा कहिले काँही खुसीमा रमाइने गरिन्छ त कहिले पीडामा दुखी भइन्छ । तर पनि हरेक पललाई रमाइलो बनाउने क्रममा संघर्ष गर्दा गर्दै जीवन चलिरहेको हुन्छ । त्यसैले त जीवनलाई सुख र दुखको चक्र पनि भन्ने गरिन्छ ।

यसरी नै आफ्नो जीवनमा दुख र सुखका पलहरुले अरु कसैको जीवनलाई अगाडी बढ्न सहयोग मिलोस् भनेर समाजमा एक प्रेरणाको स्रोत बनेकी प्राध्यापक हुन् नीना मल्ल ख्वाउजु । ३६ वर्ष शिक्षण पेशामा आफ्नो जीवन सर्मप्रित गरेकी नीनाले विद्यार्थीलाई किताबी ज्ञान मात्र हैन सबै भन्दा ठूलो व्यवहारिक ज्ञान सिकाएकी छिन् । यस क्रममा उनको जीवनले धेरै तीता मिठा अनुभवहरु बटुलेका छन् । नीनाको जीवन संघर्ष र भोगाइका कथा उनकै शब्दमा ….
म नीना मल्ल ख्वाउजुु । मेरो जन्म २०११ साल मंङसिरमा काठमाडौंको पाको न्युरोडमा भएको हो । बुबा विजय बहादुर मल्ल र आमा श्यामा मल्लको म साइँली छोरी हुँ । मेरो बुबा साहित्यकार हुन् । हामी घरमा ८ जना दिदी बहिनीमा म सबैको प्यारो थिए । मेरो बाल्यकाल सामान्य रुपमा नै बित्यो । काठमाडौं अनि एक शिक्षित परिवारमा मेरो जन्म भएकोले होला मैले अन्य नेपाली दिदी बहिनीले जस्तो दुख र पीडामा बाल्यकाल बिताउन परेन ।

म सानैदेखि गम्भीर स्वभावको थिए । म सानोमा निकै कम बोल्थे । खाने कुरामा पनि निकै चुजी थिए । बुबा आमाले त्यो समयम फेसन र समय अनुसार हामीलाई अगाडी बढ्न कहिले रोक्नु भएन । संयुक्त, परिवार भएर पनि होला खेल्ने साथीहरु पनि आफ्नै घर भित्रको हुन्थे । हजुरबुबा हजुरआमा दिदी बहिनी सबैको साथमा रमाउँदा रमाउँदै समय बितेको थाहा नै हुँदैन थियो ।

यसरी मेरो जीवन अगाडी बढिरहयो । मैले २०२६ सालमा कन्या मन्दिर हाइस्कुलबाट एसएलसी दिएकी हुँ । साहित्यकार अनि शिक्षित परिवार भएर होला हामीलाई पढ्नको लागि घरमा पनि ट्युसन पढाउने शिक्षक आउनु हुन्थ्यो । त्यो समयमा धेरै महिलाहरु पढाइबाट बञ्चित भएका थिए तर हाम्रो परिवारले भने छोरीले नि पढ्नुपर्छ भनेर सिकाउनु हुन्थ्योे । यसरी मैले अमृत साइन्स कलेजबाट आइएसी गरे । २०३३ सालमा त्रिचन्द्र कलेजबाट विएसी गरे । त्रिभुवन विश्व विद्यालयबाट मास्टर सके ।

यसरी पढाईको क्रममा म विदेश जाने तयारीमा थिए । घरमा बुबाले विदेश भन्दा नेपालमा नै बसेर केही गर्नुपर्छ भन्नु हुन्थ्यो । विदेश जानको लागि सबै कुराको तयारी भइसकेको थियो । तर घरमा विदेश भन्दा विवाह गरेर पढाइदिने निर्णय गर्नु भयो । संयुक्त परिवार घरका अन्य सदस्हरुको पनि विवाहको लागि समय भएको थियो । त्यसैले पनि मैले विवाह गर्दिन पढ्छु भन्न सकिन् ।

यसरी २०३३ सालमा श्रीमान देबेन्द्र बहादुर ख्वाउजुसँग मेरो मागि विवाह भयो । परम्परागत रुपमा बाजा गाजासहित मेरो विवाह भएको थियो । श्रीमान पेशाले इन्जिनियर हुनुहुन्यो । श्रीमान विवाहपछि काठमाडौंबाट बाहिर सरुवा हुनुभयो । श्रीमानको परिवार पनि संयुक्त नै हुनुहुन्थ्यो । माइती घरमा जस्तो श्रीमानको घरमा हरेक छोरीलाई सहज त कहाँ हुन्छ र । तर पनि मेरो श्रीमान र सासु आमाले भने मेरो पढ्ने इच्छामा सधैँ नै साथ दिनु भयो । विवाहपछि पनि मैले पढाईलाई साथमा नै लगे ।

विवाह कामको शिलशिलामा धेरै समय बाहिर नै बस्नु हुन्थ्यो । मलाई घर परिवार सम्हालेर आफ्नो पढाइ पनि पुरा गर्नु थियो । त्यही क्रममा म गर्भवती भए । तर पनि मैले आफ्नो पढाई कहिले छोडिन । ठूलो पेट बोकेर कलेज जाँदा गाडी चढेको ती दिनह अझैँ पनि मेरो आँखामा आइरहन्छ । जतिबेला त्यस्तो अवस्थामा पनि मानिसहरुले मानवता भन्ने कुरा नै देखाएका थिएनन । एक दिन त म अक्सिजन न पुगेर बेहोस् नै हुने अवस्थामा पुगेको थिए । एक जना व्यक्तिले मेरो अवस्थामा दया देखाएर आफ्नो ठाउँ छोडिदिए ।

घरको काम सकेर त्यो ठूलो पेटमा भए पनि मैले आफ्नो पढाईलाई निरन्तरता दिइरहे । २०३५ सालमा छोरी प्रिती ख्वाउजु ‘मुननकर्मी’ को जन्म भयो । अर्को वर्ष २०३६ सालमा छोरा प्रनव ख्वाउजुको जन्म भयो तर पनि मैले आफ्नो पढाईलाई असर पर्न कहिले दिइन् । काठमाडौं बसेर मैले छोरा छोरीलाई हुर्काए ।

छोरा २ वर्ष पुगेपछि मैले पदमकन्या क्याम्पसरमा शिक्षिकाको रुपमा काम सुरु गरेको थिए । मैले बनस्पती शास्त्र पढाउँथे । बिहान उठेर घरको काम सकेर छोरालाई माइतमा छोडेर छोरीलाई साथमा लिएर म पढाउन जान्थे । यस क्रममा मैले धेरै दुखहरु भोगे । घर परिवार सन्तानको हेरचाह आफ्नो पढाइ र सपना पुरा गर्ने क्रममा सन्तानलाई काखमा राखेर पढ्दा पढ्दै कतिबेला निदाउँथे थाहा नै पाउँदैन थिए ।

शरीर हो, थकाइ त लाग्थ्यो तर पनि सानै देखि आफैँ नै केही गर्नुपर्छ भनेर होला मलाई पढ्न पर्छ भन्ने मात्र लागिरहन्थ्यो । यसरी सन्तान हुर्कदै गए । पदमकन्यामा अस्थायी रुपमा काम सुरु गरेको एक वर्षमा नै थायी भए । मलाई सासु आमाको त्यो बोली अझैँ याद छ जब मैले परीक्षामा पास भएर भनेर सुनाउँदा उहाँले भन्नु भएको थियो–‘हामीले पढाएको थियौँ र आज तिमी सफल भयौँ ।’

हो, मेरो सासुआमा सासु हैन आमा नै हुनुहुन्थ्यो उहाँले मलाई सासुको जस्तो व्यवहार कहिले देखाउनु भएन । श्रीमान र सासुले सधैँ पढ्नको लागि हौसला नै दिइरहनु भयो । यसरी मैले ३६ वर्ष आफ्नो जीवनका अमूल्य समय शिक्षण पेसामा खर्चिए ।

वास्तवमा मलाई त्यो पढाउने पेशा नै मन पर्दैन थियो । मलाइ व्यापार विजनेस गर्न मन थियो । सधैँ एउटै कुरा पढाउँदा पढाउँदा म दिक्क भइसेको थिए । तर पनि आज र भोलि भन्दा भन्दै मैले ३६ वर्ष बिताए । आज ती बिगतका दिनहरु सम्झदा कथा जस्तै लाग्छ । तर यही पेसाले नै मेरो पहिचान बनायो यसैमा सुखी पनि छु ।

शैक्षिक ज्ञानसँगै मैले धेरै विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाए । आज उनीहरुले गरेको प्रगति देखेर खुसी लाग्छ । मैले अन्य महिलाहरुले जस्तो पीडादाई दिनहरु त बिताउन परेन । तर पढाई पुरा गर्नको लागि काखे बच्चा च्यापेर मैले धेरै दुख गररेकी छु । छोरीहरुले पढ्न नै नपाउने समयमा मैले बुहारी बनेपछि पनि आफ्नो पढाई पुरा गरे र त्यो परिवारको साथले मात्र भएको हैन । सबै भन्दा ठूलो कुरा मेरो इच्छा थियो ।

त्यसैले आज पनि म धेरै महिलाहरुलाई भन्ने गर्छु । आफ्नो आत्माबल बढाउन भए पनि काम गर्नुस् । आफ्नो सानो सानो आवश्यकता पुरा गर्न कसैको अगाडी हात फैलाउनु भन्दा काम गर्नुस् मेहेनत गर्नुस् । अनि आफू लिने हैन दिन सक्ने बन्नुस् । त्यसको लागि कुनै पनि काम सानो ठूलो हुँदैन भनेर मन लगाएर गर्नुस् ।

हुन त, आजको विज्ञान प्रविधिको युग हो । कहिले काँही त म आफूलाई किन चाँडो जन्मिए जस्तो लाग्छ । आजको सुख र सुविधाको समय जन्मिएको भए हामीले अझ धेरै प्रगति गर्दथ्यौँ होला र तर पनि मलाई खुसी लाग्छ जति बेला समाजमा छोरीले घरको दैलो नाघेर बाहिर निस्कन मिल्दैन भनिन्थ्यो त्यतिबेला हामीलाई परिवारले राम्रो शिक्षा दियो । आजसम्म पनि परिवारमा हामीले छोराको कमि छ भन्ने कुराको महसुस गराएका छैनौँ ।

त्यसैले म भन्छु छोरा न छोरी सबै आफ्नो सन्तान हुन् समान हक र अधिकार दिनुपर्छ । विवाहपछि पनि आफ्नो इच्छा भयो भने धर परिवार सम्हालेर पनि आफ्नो सपना पढाई पुरा गर्न सकिन्छ । जीवन नै सुख र दुखको संगम हो । त्यसैले हरेक दुखमा खुसी खोज्ने क्षमता हामीमा हुनुपर्छ । प्रस्तुति : आयुष्मा बस्नेत