विभोर परिवर्तन हुनुमा समाको साथ र माया छ

38

विवाह एक प्राकृतिक प्रक्रिया हो । सृष्टि चलाउनको लागि दिइएको एक नाम हो । फरक सोच, फरक पृष्ठभूमि भएका व्यक्तिहरुको आत्मिय मिलन नै विवाह हो । विवाहपछिको खुसी सुखी दाम्पत्य जीवनको लागि एक अर्कामा सम्मान,आपसी सम्झदारी सरसल्लाह, विश्वास र मायाको आवश्यक पर्छ । दाम्पत्य जीवनलाई कसरी खुसी बनाउने भन्ने कुराको निर्धारण एक अर्कामा गरिने विश्वासले गर्छ ।

त्यसैले त भन्ने गरिन्छ सम्बन्ध सुमधुर बनाउन सबै भन्दा ठूलो भूमिका विश्वासको हुन्छ । त्यो विश्वासमा माया र सम्मान मिसियो भने दाम्पत्य जीवन अझ मजबुत र रोमान्टिक बन्छ । यसरी नै करिब ३५ वर्षदेखि आफ्नो सहयात्रालाई रमाइलो तरिकाले बिताई रहेका एक उदाहरणीय जोडी हुन् विभोर लाल श्रेष्ठ र समा श्रेष्ठ ।

विभोर लाल श्रेष्ठको जन्म काठमाडौं महानगरपालिका हाल वडा न २४ मखनटोल तलेजुको घरमै भएको हो । २०१९ साल माघमा बुबा राम शंकर लाल श्रेष्ठ, आमा तीर्थदेवि श्रेष्ठको कोखबाट उनको जन्म भएको हो । ५ जना दिदी बहिनीमा उनी एक्लो छोरा हुन् । परिवारमा एक्लो छोरा भएर होला उनी सबैको मायामा पुलपुलिएर नै हुर्किए । सानैदेखि उनी निडर अनि रिसालु स्वभावका थिए । साथीभाईसँग रमाइलो गर्दै उनको बाल्यकाल सुखमय रुपमा बित्यो । उनले २०३८ सालमा नेपाल आदर्श स्कूलबाट एसएलसी पास गरे । स्थानीय नेवार परिवारमा हुर्किएर होला उनले अन्य सहपाठीहरुले जस्तो बाल्यकालमा अभाव र पीडाको दिनहरु भोग्नु परेन तर उनी परिश्रम गर्न रुचाउँथे ।

समा श्रेष्ठको जन्म पनि काठमाडौं महानगरपालीका वडा न २३ झोछेंमा भएको हो । २०२१ साल बैशाखमा उनको बुबा मुक्तिनारायण श्रेष्ठ र आमा बालकुमारी श्रेष्ठको कोखबाट कान्छी छोरीको रुपमा भएको हो । मध्यम वर्गीय परिवारमा जन्मिएकी उनी कम बोल्ने तथा शान्त स्वभावकी थिइन् । उनको बाल्यकाल सामान्य रुपमा नै बित्यो । पढाईमा पनि उनी राम्रै थिइन् । साथीभाईसँग रमाइलो दिदी बहिनीसँग हाँसो मजा गर्दा गर्दै बाल्यकाल बिताइन् । उनले २०३७ सालमा एसएलसी दिएकी हुन् ।

एसएलसी दिएर खाली बसेको समयमा समाले विभोरलाई पहिलो पटक भेटेकी थिइन् । जतिबेला विभोर नेपालभाषा बोल्नु पर्छ आफ्नो भाषा संस्कृति जान्नुपर्छ भनेर प्रचलित नेपाल लिपि सिकाउने शिक्षक थिए । उनको नजिकका साथी विकास मान श्रेष्ठ (पछी स्वामी डा.विकासानन्द ) थिए समाको घरमा नै उनीहरुको कार्यालय थियो ।

नेवारी भाषा मात्र बोल्ने समालाई प्रचलित नेपाल लिपि रंजना लिपि सिक्न एकदम रहर लाग्यो । उनी लिपि सिक्न थालिन त्यही क्रममा विभोर र समा प्रेममा परे । समाले प्रचलित नेपाल लिपि पनि सिकिन् । उनी त्यसमा प्रथम पनि भइन् । यसरी उनीहरु नजिक हुँदै गए ।

कलेज पनि सुरु भयो । समा पदम कन्या क्याम्पसमा आई.ए पढ्न थालिन् र वि .ए त्रीचन्द्र मा गरिन् । विभोर समालाई भेट्नै भए पनि त्यो बाटो धेरै हिड्ने गर्थे । विभोर पनि सानैदेखि सामाजिक कार्यहरुमा लागिरहेका थिए । उनीमा सानैदेखि आफैँमा केही गर्नु पर्छ भन्ने भावना थियो । मानिस भएर जन्मिसकेपछि समाजमा केहि अशिम छाप छोड्नुपर्छ भन्ने मान्यतामा दृढ संकल्पित उनी विभिन्न सामाजिक संघ संस्था , लायन्स क्लबमा, ओसिड नेपाल आवद्ध भैइ असहाय बालबालिका उत्थान कार्यमा पनि सरिक भै अनुकरणीय कार्य निरन्तर रुपमा लागि नै रहेका छन् ।

उनले नेपाली ह्यान्डीक्राफ्ट व्यवसाय पनि सुरु गरेका थिए । बिल्कुलै नयाँ पनका साथ हरेक बर्ष पर्यटन धरोहर कार्यक्रम गर्थे । पर्यटन क्षेत्रमा ५० बर्ष भन्दा बढी लागि परेकाहरु मध्ये हरेक बर्ष सम्मान गर्थे । पर्यटन धरोहर घोषणा गरेर धेरै बर्ष यो कार्यक्रम चलाए ।

समालाई पनि परिवारको आडमा भन्दा आफैँले केही काम गरेर बसेको केटा मन पर्दथ्यो । एउटै जात परम्परा अनि संस्कार भएकोले होला परिवार पनि उनीहरुको प्रेमको साथमा थिए । खुलेर घुम्न रमाइलो गर्न पाउँथे । उनीहरु प्रेममा परेको केही समयमा विवाह गर्न चाहन्थे । तर समाको परिवारले पढाई पुरा गरेपछि मात्र विवाह गर्न आग्रह गरेपछि विभोर ७ वर्ष समालाई पर्खेर बसे । यसरी २०४४ सालमा विभोर र समाले आफ्नो ७ वर्ष लामो प्रेम समबन्धलाई विवाहमा परिणत गरे । उनीहरुबीच प्रेम नै भए पनि चलन चल्ती अनुसार समाको हात माग्न गएर पूर्ण रितिरिवाज र बाजा गाजाकासाथ विभोरले समालाई आफ्नो घरमा भित्राए ।

व्यापारी परिवारका विभोर अनि बौद्धिक तथा कर्मचारी परिवारको समाबीच मिठो तालमेल थियो एक अर्कामा विश्वास थियो माया थियो । त्यसैले त लामो पखाईपछि पनि प्रेम सफल भयो । विवाहपछि समालाई घर परिवारलाई बुझ्न खासै कठिन भएन किन भने समाले पहिले नै विभोरको परिवारलाई बुझिसकेकी थिइन् ।

विवाहपछि समालाई पढ्ने ठूलो रहर थियो । उनले केही समय परिवारलाई सम्हारलेर पनि आफ्नो पढाईलाई निरन्तरर्ता दिने प्रयास न गरेको त हैन तर आमा बन्दै गरेको खुसी अनि पारिवारिक व्यवहारको कारण उनले आफ्नो पढाई बीचम नै छोड्न पर्यो ।

२०४५ साल मंसिर १५ मा जेठो छोरा विवेक लाल श्रेष्ठ र २०५९ साल माघ १३ गते कान्छो छोरा शैयुज लाल श्रेष्ठको जन्म भयो । समाको त्यसपछिको धेरै समय परिवारको हेरचहमा नै बित्यो । उत्ता विभोर पनि आफ्नो कामको शिलशिलामा देश विदेशको यात्रा गरिरहन्थे । समालाई आफूँ बाहिरको काममा निस्कन नपाए पनि श्रीमानले आफूलाई मन परेको काम गरिदियो भन्ने ठूलो इच्छा थियो । त्यसैले उनले रोटरी लाइन्स लगायतका विभिन्न क्लबमा आवद्ध भएर काम गर्न हौसला बढाई रहिन् । समाले पनि लाइन्स क्लबमा एक वर्ष कार्यभार सम्हालिन् ।

समा र विभोरको बीचमा अटुट माया र विश्वास थियो । त्यही कारण समा आफू परिवार सम्हालेर विभोरलाई अगाडी बढेको हेर्न चाहिन्थइन् । जसको लागि उनले पाइला पाइलामा साथ दिइन् । विभोर सानैदेखि घमण्डी स्वभावका थिए । तर समाको आगमनसँगै विभोरको जीवनमा पनि धेरै परिवर्तन आयो ।

उनी विस्तारै शान्त स्वभावका हुँदै गए । आजकाल त झन विभोर एकदमै कम रिसाउने भएका छन् । कुनै समय थियो । समाको झट्ट जवाफ दिने बानी र विभोरको छिटो रिसाउने बानी एक अर्कालाई मन पर्दैन थियो । तर अहिले विभोरको रिस पनि कम भयो अनि समा पनि बुझ्की हुँदै गइन् ।

समा र विभोरको जीवन सहयात्रालाई अगाडी बढाउने क्रममा जीवनमा धेरै उताबचढाब नआएको हैन । धेरै आए तर पनि एक अर्कालाई सम्झाउदै बुझाउँदै अगाडी बढिरहे । एक घटनाको याद गर्दै समा भन्छिन–‘उहाँ कामले धेरै देश विदेशको यात्रामा गइरहने, घरमा छोराहरु र म लामो समय बुबालाई घरमा नदेखेर होला कान्छो छोराले मलाई ममी हामी अर्को बुबाकोमा जाउँ न भन्थ्यो । त्यो बालापन स्कूलमा घरमा सबैको बुबासँगै हुँदा आफ्नो नहुँदा उसलाई धेरै असर परेको रहेछ , मैले उसलाई धेरै सम्झाए । जब उसको बुबालाई यी कुरा भने त्यसपछि उहाँले परिवारलाई धेरै समय दिन थाल्नु भयो । ’ सन्तानको एक बोलीले विभोर परिवर्तन भएका थिए । उनले त्यसपछि आजसम्म धेरै समय परिवारलाई नै देखिने गरेका छन् ।

एक समय समाले बुबा अनि आमा दुबैको माया दिएर सन्तानलाई अगाडी बाटो देखाइन त्यसैले त आज ती छोराहरु आफैँमा अब्बल भएका छन् ।
समा र विभोरको बीचमा गहिरो प्रेम छ । विभोरलाई मिठो खान मनपर्छ अनि समालाई मिठो मिठो पकाएर खुवाउन मनपर्छ । त्यसैले आजसम्म उनीहरुको प्रेममा तालमेल मिलेको छ । विभोरलाई अब थाहा भइसक्यो धेरै रिसले आफैँलाई क्षति गर्छ । त्यसैले सम्बन्धमा रिसाउनु भन्दा शान्त भएर यात्रा गर्नु उत्तम ठान्छन् ।

त्यसैले त ३५ वर्षको सहयात्रमा आज पनि समा र विभोरको प्रेम कलिलो नै छ । जीवन हो, कहिले सुख अनि कहिले सुखको बोटोहरु हिड्नुपर्छ तर यसो भन्दैमा एक अर्काको साथलाई लत्याउन पनि त हुँदैन । त्यही कारण विभोर र समा बस्तुमा किनिने प्रेम हैन मनबाट आउने प्रेममा रमाइ रहेका छन् ।

अहिले उनीहरुको ओसिड नेपाल भन्ने एक सामाजिक संस्था छ । जसको मूख्य सञ्चालनक विभोर छन् । यो एक सामाजिक सेवा गर्ने उदेश्यले खोलिएको संस्था हो । जसमा कयौँ अनाथ बालबालिकाले परिवार मात्र पाएका छैनन शिक्षा र संस्कार पनि पाएका छन् ।