महिलाहरुलाई सक्षम बनाउने उदेश्यले खोलिएको संस्था आमाज क्रियसन

31

आमाज क्रियसन महिला दिदीबहिनीहरुको लागि सिप तथा सेवामुलक तालिम दिन खोलिएको एउटा संस्था हो । यो संस्था खोल्नुको मूख्य उदेश्य महिलाहरुलाई सक्षम बनाएर समाजमा उदाहरणीय बन्न सिकाउनु हो । आमाज क्रियसनको काम र उदेश्यको बारेमा  फाउन्डर सुरुचि खड्कासँग गरिएको कुराकानी…

आमाज क्रियसनको बारेमा छोटकरीमा बताइदिनुस् न ?
आमाज क्रियसन एक सिपमुलक संस्था हो । महिला दिदीबहिनीहरुलाई आर्थिक रुपमा सबल बनाउने उदेश्यको साथ याे संस्था खोलिएको हो । महिला आफैँमा सक्षम छन् भन्नको लागि गरिएको एक सेवामुलक संस्था हो । हामीले समाजमा रहेका एकल महिलाहरुको लागि विशेष अवसर दिन खोलिएको संस्था हो ।

आमाज क्रियसन खोल्नुको उदेश्य के हो ?
हाम्रो मुख्य प्राथमिकता भनेको महिलाहरुलाई सक्षम बनाउने हो , जति पनि एकल महिला जसको कोहि साहारा हुनुहुन्न उहाँहरुको सुरक्षित मातृत्व, सुत्केरीदेखि बच्चाको जन्मसम्म हामीले उहाँहरुलाई शारीरिक,मानसिक, भावनात्मक जस्ता हरेक कुराबाट सहयोग गरी सुरक्षित मातृत्वसम्म पुर्याइ आत्मनिर्भर बनाउन खोलिएको हो । हाम्रो संस्थाले ती एकल महिलाहरुको आत्मानिर्भर बढाउने कामको साथै आत्मबल बढाउन विशेष जोड दिने गरेको छ ।

आमाज क्रियशन खोल्ने सोच कसरी आयो ?
म दुई महिनाको सुत्केरी हुँदा कोभिड सुरु भयो । आफ्नो छोरो छिटो–छिटो हुर्किरहेको बेला लगाईदिने कपडाहरु पनि छिट्टै सानो हुने र किन्नको लागि पनि त्यति सहज थिएन । मलाई मलमल ढाकाको कपडा पहिला देखि नै मन पर्ने अनि मैले कपडा सम्बन्धि कामहरु धैरे पहिलादेखि माइजुसँग मिलेर गर्दै आएको थिए  ।  मैले घर वरिपरीको सिलाउन जान्ने मान्छेलाई डिजाइन दिँदै कपडा ल्याउदै दिने गर्थे । त्यो समयमा बाबुको मुख हेर्न आउँदा जम्मा भएको दक्षिणा स्वरुपको रकमबाट यसलाई ब्यबसायिक हिसाबले महिलाहरुको उत्थानकालागि आमाज क्रियसन खोल्ने निर्णय गरें ।

महिला अघि बढ्नका लागि के कुराको आवश्यकता पर्छ ?
कुनै पनि महिला अगाडी बढ्नको लागि आफ्नो मर्यादा र कर्तब्यलाई नबिर्सने, आत्मबल र आत्मबिश्वासलाई बलियो बनाउनु पर्ने हुन्छ । सबै भन्दा ठूलो कुरा म आफूँमा कमजाेर छैन भनेर सोच्नुपर्छ ।

आगामी दिनका योजनाहरु के के छन् ?
हामीले अहिले सानो क्षेत्रबाट काम सुरु गरेका छाैँ। हामीले सबै जिल्लामा यसको क्षेत्र विस्तार गर्नुपर्ने छ । महिलाहरुको दक्षयता बढाएर संक्षम बनाउने योजना रहेको छ ।