राष्ट्रिय तथा सांस्कृतिक पोशाक संरक्षण अभियान –गुन्यु चोली

43

नुवाकोट जिल्लामा जन्मिएकी लक्ष्मी ओझा भद्रा नेपाल संस्कृति संरक्षण समाज अन्तर्गत ‘गुन्यु चोली राष्ट्रिय तथा सांस्कृतिक पोशाक सचेतना अभियान’ की अध्यक्ष हुन् ।

उनी विगत ५ वर्षदेखि आफ्नो मौलिक पहिचान र संस्कृति बचाउने अभियानमा लागेकी छन् । केही महिला साथीहरुको साथमा रमाइलो गफ गर्ने क्रममा उनको मनमा एक अभियानको योजना सृजना भएको थियो । जुन योजनालाई २०७५ बैशाख १ गते गुन्यु चोली तथा सचेतना अभियान नामाकरण गरिएको थियो ।

सरकारी निकाय र विभिन्न संघ संस्थासँग समन्वय गरेर २०७६ साल बैशाख १ गते उक्त अभियानलाई संस्थाको रुपमा स्थापना गरिएको थियो । यो संस्था खोल्नुको मूख्य उदेश्य लोप हुन लागेका पोशााक संरक्षण, आयातित पोशाकहरुको भिडमा नेपाली पोशाकको अस्तित्व संरक्षण गर्नु रहेको अभियानको अध्यक्ष लक्ष्मी ओझा भद्रा बताउछिन् ।

उनी भन्छिन्–‘कोरोना महामारीको कारण हाम्रो संस्था भव्य रुपमा उद्घघाटन गर्न सकिएन तर हामीले सोचेको योजना र अभियानमा भने निरन्र्तर काम भइरहेको छ ।’

चांडपर्व, मेलापात, बिबाह ब्रतवन्ध,सामाजिक कार्यक्रम,राष्ट्रिय पर्व र अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दा राष्ट्रिय तथा सांस्कृतिक पोशाक लगाउनु पर्ने ,जस्ले देशको चिनारी दिन्छ ।

लक्ष्मी भन्छिन्–‘ हामीले हाम्रो पोशाकको संरक्षण गर्न केवल अभियान मात्र काफि हुँदैन, हामी सबैले विदेश जाँदा तथा सरकारी निकायमा काम गर्ने कर्मचारीले आफ्नो पोशाकमा गुन्यु चोली अनिवार्य गरेमा पोशाकको संरक्षण मात्र हुँदैन हाम्रो संस्कृतिलाई नयाँ पुस्ताले ग्रहण गर्ने मौका पाउँछन । ’

यो संस्थामा जोडिने हरेक सदस्यले विभिन्न कार्यक्रममा जाँदा सकेसम्म नेपाली पन झल्कने पोसाक लगाउने गरेका छन् । जसमा उनीहरुको ड्रेस कोड छ । लक्ष्मी भन्छिन् –‘संस्थाको पहिचान दिनको लागि एकै प्रकारको ड्रेसले धेरैलाई उत्सुकता जगाएको छ । नेपालभित्र बनेको डम्मर कुमारी प्रिन्टको पोसाक हामीले प्रयोग गर्ने गरेका छौँ । ’

यही वर्ष बैशाख १ गते यो संस्थाले वार्षिक उत्सव मनाएको थियो । नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल संस्कृति संरक्षण समाजसँग समन्वयन गरेर उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुले उनीहरुको यो अभियानलाई खुलेर प्रसंसा गरेका थिए ।

यस संस्थाको अबको योजना सरकारसँग साझेदारी गर्दै विश्वव्यापी रुपमा अभियानलाई अगाडी बढाउने हो । जसका लागि विभिन्न संघ संस्थासँग साथ र सहयोग लिने अनि आफ्नै सदस्यहरुले पनि व्यक्तिगत रुपमा सहयोग गरेर अभियानलाई तीव्र रुपमा अगाडी बढाउने रहेको छ । त्यसका लागि यस संस्थाले महिनामा एक पटक कार्यक्रम गर्ने नयाँ पुस्तालाई गुन्यु चोलीको सांस्कृतिक महत्व बुझाउने रहेको छ ।