सहयात्रा : कक्षामा आफ्नो लागि रुने साथी नै बनिन् जीवन साथी

418

 


विवाह सृष्टि चलाउने एउटा नियम हो । जीवनभर साथ दिने साथीलाई आफ्नो बनाउने एउटा माध्यम हो । जन्मदेखि मृत्युसम्म जीवन भोगाईका क्रममा धेरै साथीहरु आउँछन् जान्छन् तर एक मात्र साथी जसले मृत्युसम्म साथ दिन्छ त्यो नै जीवन साथी हो । जीवनमा एक यस्तो साथी बन्छ जसले हाम्रो सुखमा ताली बजाउने मात्र हैन दुखका आँसुलाई पुछ्ने काम गर्छ ।

विवाह समाज चलाउने एउटा लय हो । जीवनले पाएको एउटा पूर्णता पनि विवाह हो । विवाहले त्यस्तो व्यक्तिसँग जोडिदिन्छ जसले जीवनमा आई परेका हरेक संघर्षका पाईला–पाईलामा साथ दिन्छ त्यसैले त विवाहलाई स्वार्थ विनाको पवित्र नाताको रुपमा हेर्ने गरिन्छ ।

यही नातामा करिब ४ दशकदेखि एक अर्कामा रमाइ रहेका जोडी हुन् । विशाल पहारी र सन्धया पहारी । कक्षा आठमा पहिलो पाईला टेक्दा विशालको पहिलो नजर सन्ध्यामा परेको थियो । जुन नजर एक साथी, प्रेमिका हुँदै अन्तमा जीवन साथीमा परिणत भयो ।

विशाल पहारीको जन्म काठमडौंको डिल्ली बजार घट्टे कुलोमा भएको हो । उनी सानैदेखि निडर स्वभावका थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका विशालको बुबा राम बहादुर पहारी सरकारी जागिर थिए भने आमा बिनु पहारी गृहणी थिइन् । विशालको बाल्यकाल सामान्य रुपमा नै बित्यो । बुबाको जागिर सरुवा भए अनुसार नै विशालले धेरै स्कूल पनि परिवर्तन गरे । अन्तमा काठमाडौंको टंगाल माध्यामिक विद्यालयमा कक्षा आठमा भर्ना भए । जुन दिन सन्ध्यालाई विशालले पहिलो पटक देखेका थिए ।

सन्ध्याको जन्म पनि काठमाडौकों चण्डोलमा भएको हो । उनले बाल्यकाल भने बालुवाटारमा बिताएकी हुन् । सामान्य परिवारमा जन्मिएकी सन्ध्या सानैदेखि गम्भीर स्वभावकी थिइन् । उनलाई सानैदेखि साहित्यमा झुकाव थियो । सन्ध्याको बुबा श्रीधर सापकोटा सरकारी जागिरे थिए । आमा शान्तीनानी सापकोटा घरको सामान्य काम गर्थिन । सन्ध्या पढाईमा मात्र हैन अतिरिक्त क्रियाकलापमा पनि धेरै सहभागी हुन्थिन् । रेडियो नेपालमा कविता भन्थिइन् । बालकार्यक्रम, नाटकमा सहभागी हुन्थिइन् ।

विशाल र सन्ध्याको प्रेम कहानी त्यो दिनबाट सुरु भयो । जति बेला साथीहरुसँग मिलेर खेल्ने क्रममा गल्ती गरेको भन्दै स्कूलबाट १५ दिनको रेष्टिगेट भनेर विशालको नाममा पत्र आएको थियो । विशालकै लागि त्यो दिन सन्ध्या कक्षामा नै रोएकी थिइन् । कक्षामा सबैले मन पराउने विशाल खेलकुदमा धेरै रुची राख्थे ।

साथीबाट सुरु भएको नाता विस्तारै प्रेममा परिणत भयो । जब सन्ध्या र विशाल नाम गरेकै गीति कथा स्वर्गीय विनोद ढकालले रेडियो नेपालबाट उनीहरुको जीवन नाटकमा वाचन गरे । त्यो समय त्यो गीती नाटक भाइरल नै भएको थियो । विहानको स्कूल घर आउने जाने बाटो एउटै साथी भाईले जिसकाउने गर्दा गदै विशाल र सन्ध्याको प्रेमको पालुवा बढ्दै गईरहेको थियो ।

एक दिन विशाल विरामी परे । सन्ध्यालाई उनकै आफ्नै फुपु अनि मिल्ने साथी विमला सापकोटाले भेट्न जान आग्रह गरिन् र विशालले धेरै माया गर्ने बताइन् । विशाल र सन्ध्यालाई एक बनाउन विमलाले विशेष भूमिका निभाईन् । सन्ध्या केही साथीहरुसँग विशाललाई भेट्न पहिलो पल्ट विशालको घरमा पुगेकी थिइन् । मनमा केही डर थियो तर साथीहरुसँगै हुँदा त्यो डर बाहिर देखिएन । त्यसपछि विस्तारै विशालको घर आउने जानेक्रम सन्ध्याको बाक्लो हुँदै गयो ।

विशालको आमालाई पनि सन्ध्या मन पर्न थालिन् । अनि विशाललको लागि माग्न जाने निर्णय गरिन् । जतिबेला विशाल र सन्ध्याले भर्खर एसएलसी पास गरेका थिए । सन्ध्या बाहुन परिवारको अनि विशाल क्षेत्री परिवारको विवाह सोचे अनुसार सहज तरिकाले हुने सम्भावना निकै कम थियो ।

तर सन्ध्याले विशालसँग नै विवाह गर्ने अठोट गरेर परिवारलाई भनेकी थिइन्,‘म विशालसँग नै विवाह गर्छु र हजुरहरुले गरिदिनु पनि पर्छ ।’ सन्ध्याको यो घमण्ड अगाडी परिवारको सबै सदस्य राजी भए । तर सन्ध्याको बुबाले मान्नु भएन । सन्ध्याको इन्गिेजमेन्ट दाईहरु र आमाले बुबाको अनुपस्थितिमा नै गराए ।

सन्ध्याको परिवारमा छोरीहरुलाई लक्ष्मी भगवानको रुपमा लिने गरिन्थ्यो । त्यही भएर इन्गेजमेन्टमा उपस्थित न भएका सन्ध्याको बुबाले बाहुनको विवाहमा पहिलो पटक तीन ओटो खसी काटेर जन्तीहरुलाई खुवाए । सामाजिक रीतिरिवाज अनुसार २०४३ साल फागुन २१ गते धुमधामले विवाह गरिदिए ।

विशालको परिवार शिक्षित थियो । विवाहपछि सन्ध्या र विशाललाई आफ्नो परिवारको जिमेवारी पुरा गर्नु थियो । आर्थिक रुपमा केही संकट न भए पनि सन्ध्या र विशाल पढेर आफैँमा केही गर्न चाहन्थे । त्यसैले घर परिवारलाई सम्हालेर आफ्नो पढाईमा अगाडी बढे । सन्ध्यालाई विवाहपछि अगाडी बढ्न ससुरा राम बहादुर पहारीले सहयोग गरे उनको ससुराले बुहारीले पढ्नु पर्छ जागिर खानुपर्छ आफ्नो सपना पुरा गर्नुपर्छ भनेर सन्ध्यालाई हौसलाा दिई रहन्थे ।

यसरी दिनहरु बित्दै गयो । २०४५ सालमा असोज २१ गते छोरी बृष्टि पहारीको जन्म भयो । जो अहिले डाक्टर छिन् । उनको रोशन गिरीसँग विवाह भएको छ । जति बेला विशाल सबै भन्दा धेरै खुसी भएका थिए । टिचिङ अस्पतालमा सबैले भाउजु, दिदी, आन्टी को छन् भनेर सोध्थे तर विशाल आफ्नो श्रीमाति र सन्तानको प्रतिक्षामा थिए । छोरी जन्मिएपछि उनले अस्पतालमा आफ्नो वार्ड वरपर रहेका सबैलाई मिठाई बाढेका थिए ।

दिन बित्दै गयो । छोरीको हेरचाह गर्दा गर्दै सन्ध्याले व्याचलरको परिक्षा फारम भर्ना बिर्सेकी रहेछिन् । परिक्षा आउन एक हप्ता मात्र बाँकी थियो । त्यो समय विशालले परिक्षा केन्द्रको मूख्य मान्छेलाई भेटेर आफ्नो वेदना सुनाएर त्यहीबाट प्रवेश पत्र बनाएर रजिस्टर समेत गराउन सफल भएका थिए । उनी सन्ध्याले पढेको हेर्न चाहन्थे ।

त्यसैगरी २०४६ साल मंसिर २८ गते छोरा बृहत पहारीको जन्म भयो । जो अहिले इन्जिनियर छन् । उनको विवाह एन्जिला घिमिरे सँग भएको छ । सन्तान बढ्दै गए । आफ्नो जिमेवारी पुरा गर्दै पढाईलाई अगाडी बढाउँदै गए । त्यसैले आज
सन्ध्या नेपाल प्रज्ञाप्रतिष्ठानको अभिलेख संग्राहलय महाशाखा प्रमुख,अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्यापटरको अध्यक्ष,महिला साहित्यकारहरुको संस्था गुञ्जन सचिव, नेपाली लेखकसंघको उपाध्यक्ष, नारी साहित्य प्रतिष्ठानको उपाध्यक्ष, लगायत विभिन्न संघ संस्थामा आवद्ध छिन् । साहित्यमा कविता विद्यामा कमल चलाउछिन् । मृगातृणा र अन्य कविता, घामका अक्षयरहरु प्रकाशित भइसेको छ ।

विशाल विशुद्ध कलाकार हुन् । कोरोनापछि रिलिज भएको चप्पली हाइट ३, म यस्तो गीत गाउँछु, लप्पनछप्पन लगायत सय भन्दा धेरै फिल्ममा विशालले आफ्नो अभिनय देखाइ सकेका छन् । त्योसँगै पछिल्लो समय उनी विज्ञापनमा पनि बाक्लो रुपमा देखिन थालेका छन् ।

विवाह गरेको दिनदेखि आजसम्म विशाल र सन्ध्याको प्र्रेम उही आठ कक्षाबाट सुरु भएको यात्रा जस्तै छ । एक अर्कालाई खुलेर शब्दमा प्रेम व्यक्त नगरे पनि मनबाट एक अर्कालाई अथाह प्रेम गर्छन । विवाह गरेको पहिलो वर्ष फागु पूर्णीमा चैतको ८ गते परेको थियो जतिबेला विशालको जन्म महिना र गते अनि सन्ध्याको तिथि एकै थियो । त्यो दिनबाट आजसम्म विशालले सन्ध्याको जन्मदिन विशेष रुपमा नै मनाउँदै आएका छन् । कहिले काँही सन्ध्याले विशालको विशेष दिन बिर्से पनि विशालले भने सरप्राइज दिन निकै माहिर छन् ।

विशाललाई सन्ध्याले ठूलो स्वरले बोलेको मन पर्दैन । उनलाई नारीहरुले विस्तारै बोल्दा सुन्दर देखिन्छ भन्ने लाग्छ । सन्ध्यालाई विशालको थोरै लापरबाही गर्ने बानी मन पर्दैन । तर एक अर्कालाई बुझ्दै र बुझाउदै अगाडी बढेका छन् । विशाल र सन्ध्याको जोडीमा सबै भन्दा ठूलो कुरा विश्वास छ अथाह माया छ र त त्यसैले आजसम्मको सहयात्रा निरनतर अगाडी बढिरहेको छ ।

सम्बनधमा सधैँ मिठास मात्र हैन कहिले काँही मनमुटा र झगडा पनि आवश्यक पर्छ । भनिन्छ नि, चिनी धेरै खायो भने तितो हुन्छ । त्यसैले वैवाहिक जीवनलाई उत्कृष्ठ बनाउन कहिले काँही रिसाउनुपर्छ । तर त्यो रिसले सम्बन्धलाई अझ राम्रो बाटोमा हिड्न प्रेरणा दिने हुनुपर्छ । विशाल र सन्ध्याको सम्बन्धमा कहिले काँही झगडा हुन्छ । मनमा धेरै भडास हुन्छ तर त्यसलाई व्यक्त गरेर आक्रोस पोख्ने भन्दा केही समय बाहिरी वातावरण मा गएर भुल्ने बानी विशालको छ ।

रगतको नाता न भए पनि सधैँ आवश्यक पर्ने सम्बन्ध विवाह हो । हर कोहीसँग सानो मनमुटाबले रिसाएर सम्बन्ध टुटाउन सकन्छि तर एक पटक जोडिएको बैवाहिक सम्बन्ध टुट्न कुनै ठूलो घटनानै हुनुपर्छ । मागि विवाह होस् या प्रेम विवाह जति विवाह अगाडी भोगिएको जीवन हुन्छ । विवाहपछि ती कुरा हुँदैन । तर यसो भन्दैमा एक अर्काप्रति पहिले जस्तो माया र विश्वास नभएको भने पक्कै हैन । एक अर्काको कमि कमजोरीलाई स्वीकार गर्नुपर्छ । बैवाहिक सम्बन्धलाई सुमधुर बनाउनु कमि कमजोरी खोताल्ने भन्दा पनि आगामी दिनमा राम्रो कसरी बन्ने भनेर सोचिएको सम्बन्धले दीर्घकालसम्म साथ दिन्छ ।

विशाल र सन्ध्याको जीवनमा धेरै संघर्षका पलहरु आए । जसलाई दुबैले हातेमालो गरेर अगाडी बढे । आजका दिनसम्म आई पुग्दा धेरै तिता अनि मिठा घटनाहरुलाई भोगे तर ती सबैको अगाडी माया र विश्वास को जित भयो । त्यही जितले हो विशाल र सन्ध्याको सम्बन्ध बुढौलीसँगै बलियो बन्दै गएको छ । उनीहरुलाई थाहा छ, पैसाको माया केही समयको हो, यहाँ सम्बन्ध बलियो बनाउन पैसा भए पनि र पैसा न भए पनि खुसी हुन सक्नु पर्छ अनि मात्र सहयात्रा सफल हुन्छ ।

प्रस्तुती : आयुस्मा बस्नेत