‘कृष्ण–लीला’ का पोस्टरमा रोमान्टिक देखिए पुष्प र श्रद्धा

45

काठमाडौं । कृष्णजन्माष्टमीको अवसर पारेर यही भदौ ३ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘कृष्ण–लीला’ का चार भिन्न पोस्टर सार्वजनिक गरिएका छन् ।

शुक्रवार फिल्म निर्माण यूनिटले सामाजिक सञ्जालमार्फत ती पोस्टरहरु सार्वजनिक गरेका हुन् ।

सार्वजनिक पोस्टरहरुमा फिल्मका मुख्य कलाकारहरु अभिनेता पुष्प खड्का तथा अभिनेत्री श्रद्धा क्षेत्रीलाई प्राथमिकता दिइएको छ । दुई वटा पोस्टमार पुष्प तथा श्रद्धाको रोमान्टिक जोडीलाई चित्रण गरिएको छ भने एउटा पोस्टरमा उनीहरु पानीबाट बच्न छाता ओडिरहेका छन् । चौथो पोस्टरमा भने हास्य कलाकारद्वय बुद्धि तामाङ तथा रबिन्द्र झालाई पनि देख्न सकिन्छ ।

दीपक ओलीद्वारा निर्देशित यो फिल्म रोहित कट्टेलको प्रस्तुतिमा निर्माण भएको हो ।

फिल्ममा पुष्प, श्रद्धा, बुद्धि तथा रबिन्द्रबाहेक नविन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईँ, आयुषा क्षेत्री, पिताम्बर आचार्य आदि कलाकारको पनि अभिनय छ ।

आरआर फिल्म प्रोडक्डसनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ अनि सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

आरआर फिल्म प्रोडक्सनले वितरण गर्ने फिल्म शिव ढकाल र बाबु श्रेष्ठ (एक गीत) ले खिचेका हुन् ।