स्वरोजगार स्वाबलम्ब बनाउन सक्ने क्षमता बनाउनुपर्छ

17


धेरैको सपना हुन्छ आफैँमा केही गर्ने, समाज परिवर्तको लागि अगाडी बढ्ने, काठमाडौंको नयाँ बानेश्वरमा जन्मिएर हुर्किएकी जानकी प्रधानको पनि यस्तै सपना थियो जुन अहिले साकार भएको छ ।
जानकी प्रधानको जन्म बुबा श्री हरि गोविन्द प्रधान र आमा पद्मा प्रधानको कोखबाट कान्छी छोरी अर्थात चौथो सन्तानको रुपमा भएको हो । जानकी सानैदेखि निकै तेजिलो, उत्कृष्ट र क्रियाशिल थिइन् । उनलाई सानैदेखि आफैँले कमाएर खर्च गर्न मनपर्दथ्यो ।

आठ कक्षा पढ्दै गर्दा उनको बुबाको निधन भएपछि एकैपटक १० कक्षामा फड्को मारी पढ्दै गर्दा उनी अझैँ जिमेवारी हुँदै गइन् । त्यसैले १४ वर्षकै उमेरमा २०४७ सालमा एसएलसी परिक्षा दिए लगत्तै शिक्षण पेशामा आवद्ध भइन् । २०४८ सालमा उत्कृष्ट प्रथम श्रेणीमा एस एल सी उतिर्ण भएपछि साइन्स पढ्ने योजना बनाइन ।

उनी कसरी हुन्छ महिला आर्थिक रुपमा आफैँमा बलियो बनुन् ताकि अरुको अगाडी सानो कामको लागि हात फैलाउन न परोस् भनेर सोचथिइन् । आफ्नो सानो सानो खर्चको लागि आमासङ्ग पैसा माग्नु भन्दा आफै सक्षम किन नहुने भन्ने प्रश्नले उनको मनमा ठूलो प्रभाव पार्यो । उनलाई लाग्थ्यो बुबाले झैँ आमाले पनि केही पैसा कमाउन सक्ने भएको भए हरेक कुरामा आमालाई पनि धेरै सहज हुन्थ्यो भन्ने प्रश्न उनको मनमा झस्किरहन्थ्यो । सवभन्दा परिवारकी कान्छी भएकी हुँदा उनलाइ पढाई देखि अन्य विभिन्न क्रियाकलापहरुमा यथेष्ट पारिवारिक सहयोग तथा प्रोत्साहन रहिरह्यो ।

उनको परिवारको सपना त डाक्टर बनाउने थियो । उनले साइन्स पनि पढेकी थिइन् तर पढ्दा पढ्दै १७ वर्ष टेक्दै गर्दाको उमेरमा फरक परिवेशमा तराईका त्रिदीप कुमार श्रेष्ठसँग विवाह गरिन् । जतिबेला त्रिदीप नेपाल खानेपानी संस्थामा जागिरे थिए । तर उनी आफैमा स्वावलम्ब भएकाले उनलाई गर्व लाग्छ । विवाहपछिको वर्षमा सन्तान भयो । त्यस पछि कल्कलाउँदो युवावस्थामा नै निकै संघर्ष पार गर्दै अघि बढ्दै गईन कहिले हरेस खाइनन् । उनले शिक्षण पेशालाई भने निरन्तरता दिइरहेकी थिइन् । तीन सन्तान हुर्काउदै, जागिर पनि खाँदै उनले बि ए सम्म पढिन । तर केही वर्ष शिक्षण अनि जागिर पश्चात् उनलाई आफु मात्र हैन अरु महिलाहरु पनि सक्षम हुनुपर्छ भन्ने लाग्थ्यो । त्यही अनुरुप उनले २०५१ सालमा नारी विकास संघ र युएनबाट आएको सिल्कको धागो बनाउने तालिम लिएकी थिइन । सानैदेखि उनलाई शिल्कको कपडा धेरै मन पर्दथ्यो अनि आमाको सिल्क सारीमा आफै लुगा डिजाइन गरि लगाउथिन । तालिम पनि त्यही विषयमा पाएपछि उनी निकै खुसी थिइन् ।

तालिम लिएपछि विस्तारै नेपालमा सिल्कको उत्पादन हुने भएपछि किन अन्त रोज्ने भनेर आफैँबाट अनुसन्धान सुरु गरिन् । उनी आफूँ जस्तै धेरैलाई उद्यमी महिला बनाउन चाहन्थिइन् । उनले ५ सय भत्ता तथा खाजा दिएर ४० भन्दा धेरै महिलालाई सिल्कको डिजाइन र कपडाको धागो बनाउने तालिम दिइन् । सुरुमा उनले आफ्नै लागतमा आफन्तको जग्गामा टहरा राखेर २५ जनाबाट सिल्कको धागो उत्पादन सुरु गरेकी थिइन् । उनले सिल्क सम्बन्धी विभिन्न संस्थाबाट तालिम लिएकी थिइन् । उनले २०५९ मा महिला समुहको रुपमा स्थापना भएर रेशमको धागो तथा कपडा उत्पादन गर्ने व्यवसायी सुरु गरिन् । सुरुमा उनले स्काफ, कोट, विभिन्न पहिरनका लागि कपडा, म्याट, आदि कपडा बनाउने काम गरेकी थिइन् । उनको यो व्यवसाय मन पराएर देश विदेशबाट विभिन्न डिमान्ड आउँथे ।

विजनेशलाई आवश्यक पर्ने कच्चा पदार्थ विस्तारै पाउन छाडे । तर उनको डिमाण्ड भने बढ्दै गयो । २०६४ सालमा नेपालमै उनले पहिलो रेश्मको सारी बनाएको थिइन् । जुन २०० ग्रामको थियो । उनले पढ्न लेख्न सिकाएर महिलाहरुले काम मात्र है बोल्न पनि सिक्नुपर्छ भनेरे तालिम सँगै आत्मनिर्भर हुन पनि सिकाएकी थिइन् । तर विभिन्न कारणले उनको फ्याक्ट्री बन्द भयो ।

आफ्नो फ्याक्ट्रि बन्द भए पनि विभिन्न जिल्लाहरुमा पुगेर महिलाहरुलाई आत्मानिर्भर बनाउनको लागि तालिम दिइन् । उनले आफैँले पनि देश बिदेशका ५०,६० भन्दा धेरै तालिम लिएकी र दिएकी पनि छिन् । उनले विभिन्न जिल्लाहरूमा पुगेर हाल सम्ममा हजारौं महिलाहरु तथा केही पुरुषहरुलाई पनि विभिन्न आयमुलक सीप तथा क्षामता बिकास तालीमहरु प्रदान गरि उद्धमी बनाउन समेत प्रोत्साहित गरिन् । महिलाहरुको आय आर्जनको बाटो मात्र नभई व्यवसायिक र बित्तीय साक्षरतामा अनि उनिहरुलाई सहुलियतपूर्ण कर्जा दिलाउन पनि उत्तिकै भुमिका उनको रहेको छ । उनको सिकाईबाट लाभान्वित भई धेरै उद्धमीहरु सफल पनि भएका छन ।

उनले तालिम मात्र दिने भन्दा पनि बजार कसरी लिने, फालिएको बस्तु प्रयोग गरेर विभिन्न हस्तकला बनाएर कसरी लाभ लिने भनेर सिकाइन् । एक समय उनी महिलाहरुलाई सिपमुलक तालिम दिनको लागि केही समय जेलमा पनि गइन् । त्यतिबेला धेरै मानिसहरुले उनको कोही आफन्त जेलमा रहेछन् अनि भेट्न गएको भनेर नराम्रो पनि सोचे । उनले जेलमा रहेको महिलालाई विभिन्न तालिम मात्र दिइनन् उनीहरुले उत्पादन गरेको समान बजारसम्म पुर्याएर सहयोग पनि गरिन् ।

बाहिरको समान किन्ने भन्दा भएको पुराना समानलाई र स्थानीय कच्चापदार्थ प्रयोग गर्ने महिलाहरुको आत्मानिर्भरता बढाउने उनको मूख्य उदेश्य हो । उनी नेपाल घरेलु तथा सानो उद्योग महासघंको केन्द्रिय सदस्य, नेपाल च्याम्बर अफ कर्मस महिला च्याम्बरको सदस्य समेत रहिसकेकी छन् । महिलाहरुको आर्थिक सामाजिक सशक्तीकरण, चौतर्फी बिकासका लागि स्थापना भएको सामाजिक संस्था लिडिङ वुमन एसोसिएसन कि अध्यक्ष पनि छिन ऊनी । उनको अरु विभिन्न संघ संस्था हरुमा पनि आवद्धता रहेको छ । सामाजिक कार्यहरूमा पनि उनको उतिकै चासो र योगदान रहेको छ । महिला सशक्तीकरणमा धेरै योगदान पुर्याए बापत उनी लायन्स क्लब दिल्ली भेज बाट वुमन प्रेस्टिज अवार्ड २०२१ बाट सम्मानित भईन ।उनलाई सीप सिकाउन र समाज सेवा गर्न २०७२ सालको भुइचालो र हालैको कोभिड महामारीले पनि छेक्न सकेन, झन कृयाशील भइन ।