
प्रतिमा गुरुङ, गीतकार तथा समाजसेवी
बास्तवमा भन्ने हो भने साउन महिना बार्नु संस्कार हो,पौराणिक शास्त्रिय कथन अनुसार साउन महिनाले आफ्नो छुट्टै महत्व बोकेको छ, धार्मिक ग्रन्थ अनुसार साउन महिना भगवान महादेवको महिना मानिन्छ, भक्तको छिट्टै मनोकामना पूर्ण गर्ने भगवान महादेवको महिना, साउन महिना यो महिना भरि नारिहरू ब्रत बस्ने, भगवानको पुजाआजा गर्ने भक्तीभावमा रमाउने, शुद्ध भोजन गर्ने गरेर साउन बारेमा नारिको मनोकामना पूर्ण हुने धार्मिक कथन छ । नारीहरूले यसरि साउन महिना बार्नु पर्ने हो, तर अहिले साउन बार्नु पनि फेशन जस्तै भएको छ । अहिले धेरै जसो मानिसहरू आफ्नो संस्कार संस्कृति बिर्सेर मात्र फेशनमा लुब्ध भैसकेका छन् । नेपाल देश त्यसैपनि संस्कार र संस्कृति, हिन्दुत्वको प्रभुत्व भएको देश नेपाल, त्यसै देशमा बस्ने नागरिक हामि, तर पनि हामि हाम्रो संस्कृति र संस्कार बिर्सेर धार्मिक बिशेषता बोकेको पर्वलाई पनि हामि पछिल्लो समय पश्चिमा संस्कृतिलाई पछ्याऊँदै फेशनको रुपमा मनाई रहेका छौ । वास्तवमा साउन बार्ने जो कोहिले पनि साउन महिनाको बारेमा पहिला बुझौं, साउन महिनाको पौराणिक र धार्मिक कथन के छ ? किन साउन बारिन्छ? त्यसको बारेमा बुझौं अनि साउन महिनालाई संस्कारको रुपमा बारौँ ।
मिरा मानन्धर, व्यवसायी
साउन महिना बार्नु अथवा व्रत बस्नु भनेको संस्कार हो फेशन हैन । यो महिना अधिंकाश महिला भगवान शिवको व्रत बस्ने गर्छन । विशेष व्रत बस्ने महिलाहरूले महिनाभरी नै शाहाकारी खाना खाने गर्छन् जुन कुरा आफ्नो स्वास्थ्यसँग जोडिएको छ । व्रत बसेर भगवान शिवलाई खुसी बनायो भने आफूले मागेका सबै कुराहरू प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । साउन महिना भगवान शिवको महिना हो । साउन महिनालाई बार्नु धर्मका विशेष महत्व रहेको छ ।
अन्जु श्रेष्ठ, गायिका तथा मोडल
साउन महिना बार्नु संस्कार हो । खासमा हिन्दु धर्मावलम्बीको लागि साउन महिनाको महत्व धेरै छ । प्रकृतिको दृष्टिकोणबाट हेर्दा पनि हरियाली र उर्वरको प्रतिक हो । असारमा रोपेको खेत साउनमा हरियो देखिन्छ । वर्षातको मौसमले किसानको जीवनको प्रतिनिधित्व गर्छ । त्यसैले साउनमा हरियो रंगलाई महत्व दिएर हरियो चुरा, मेहेन्दी सारी लगाउने चलन सुरु भएको हो जस्तो मलाई लाग्छ । साउन महिनाबाट नै नेपाली चाडपर्वहरू सुरु हुने गर्छ । त्यसैले साउन बार्नु राम्रो पक्ष हो र साउन ब्रर्त बस्नु संस्कार पनि हो ।
राधिका कंडेल, होस्ट/कमेडियन
म चाहि संस्कारको रुपमा लिन्छु । संस्कारको रुपमा बार्नेहरूको देखेर यत्तिकै त्यसले गर्यो म पनि गर्छु वा बार्छु भनेर फेशनकै रुपमा बार्नेहरू पनि छन् । तर यी दुवै कुरालाई पर राखेर हेर्दा साउन बार्नु राम्रो कुरा हो । साउन बार्ने बाहानामै भएपनि हामी स्वस्थ खानामा फोकस हुन्छौँ । चोखो खाने भनेर साकाहारी खानामा ध्यान दिन्छौँ । अनि अर्को कुरा साउन भनेको महादेव अर्थात शिवको महिना पनि हो । हाम्रो लागि भगवान शिव विशेष हुनुहुन्छ । भगवान खुशी पारेर हामी खुशी हुने दौडमा अरुले गरेको देखेरै भएपनि पुजा गर्ने गर्छौ त्यो पनि राम्रै पक्ष हो ।
अनिता खड्का, ब्युटिसियन
साउन महिना एक पवित्र महिना हो । यो महिना भगवान महादेवको प्रिय महिना हो । वर्षा ऋृतु भगवान शिवलाई खुसी पार्ने महिना हो । यो महिना माता पार्वतीसँग पुर्न मिलन भएको महिना हो । यो महिना भगवान शिवजी सुत्नुहुन्छ र हाम्रो रक्षाको लागि पृथ्वीमा आउने भएको कारणले यो चार महिना (चतुर्रमास) भरी सोमबार भगवान शिवजीको व्रत बस्ने गर्दछन् । जसमा कुनै पनि दुख कष्ट बाधा अट्चन नआवस् र पृथ्वीमा रहेका मानव जातिको उद्दार होस् भनेर रक्षाको लागि शिव भगवान आउँछन् । शिव भगवान पृथ्वीमा हुँदा हामीले शाहाकारी खाना मात्र खाने गर्दछौँ । त्यसै कारण हामीले साउन महिना बार्नु व्रत बस्नु संस्कार हो । तर केही मानिसहरूले साउन महिनाको अर्थ बुझेका हुँदैनन र त्यसलाई फेशनको रुपमा लिने गर्दछन् ।
राजेन्द्र केसी, समाजसेवी तथा चलचित्रकर्मी
साउन बार्ने ब्रत बस्ने भन्ने कुरा न संस्कृति हो न त फेशन नै हो । यो एक परम्परा हो । यो परम्पराको सुरुवात हुँदा सासु र बुहारीको बीचमा जुन किसिमको द्धन्द हुन्थ्यो जुन किसिमको दुख हुन्थ्यो त्यो अवस्थामा मानिसहरूले सफा कपडा लगाएर आफैँमा चिटिक्क भएर बस्ने अवस्था थिएन । अहिले यसलाई नै फेशन भन्ने गरेका छन् । तर त्यो फेशन न भएर वास्तवमा एक परम्परा हो । धार्मिक रुपमा हिन्दुधर्मालम्बीको लागि संस्कार पनि होला तर यसलाई संस्कृतिको रुपमा लिनु भन्दा परम्पराको रुपमा अतिउत्तम हुन्छ । चोखो खाएर व्रत बस्नु स्वास्थ्यको लागि निकै राम्रो कुरा हो । त्यसैले संस्कार भन्दा पनि साउन बार्नुलाई परम्पराको रुपमा लिनुपर्छ । मैले पनि साउन महिनामा माछा मासु न खाइ बसेको छु । मानिसहरूले जसरी साउन बार्ने भनेर विभिन्न ढाँचा पार्ने गरेका छन् त्यो फेशन हो । जसले मनैबाट बार्छन् त्यो परम्परा हो ।
