धेरैको मन मुटुमा बस्न सफल गायिका

22

सायद यी गीतका शब्दहरू पढ्ने बितिकै यहाँहरूले शर्मिला गुरुङकोबारेमा धेरै थाहा पाईसक्नु भएको छ । नेपाली सांगीतिक क्षेत्रमा थुप्रै कलाकारहरूको आगमन भएको हामी देख्न सक्छौ तर लामो समय निरन्तर यस क्षेत्रमा लागिरहन सक्दैनन् । नेपालमा धेरै जसो कलाकारहरूको समस्या भनेकै आर्थिक अवस्थातिर आएर जोडिएको देखीन्छ ।

कहिले रहरै रहरले अलि अलि भएको पैसा लगानि गर्दा सकियो तर त्यसबाट आम्दानी शुन्य नै हुन्छ अनि मर्नु न हास्नु हुदैन् त ? तर केहि कलाकारहरूले यस क्षेत्रमा लागेर राम्रो काम, दाम र नाम पनि कमाइरहेका छन् । ति मध्यकी एक हुन गायिका शर्मिला गुरुङ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा उनले धेरै राम्रो काम गरिरहेकी छन् । गाउने मात्र नभएर शर्मिला गुरुङ गीत लेख्ने पनि गर्दछिन । उनले आफैले लेखेका धेरै गीत दर्शक श्रोताले मन पराएको पाइन्छ ।
बिगत दुई दशक भन्दा लामो समयदेखी यस क्षेत्रमा लाग्दै आएकी गायिका गुरुङ अहिले पनि सक्रिय रुपमा सांगीतिक क्षेत्रमा लागि रहेकी छन् ।

पहिलो गीत ‘निलो पछ्यौरी’ गाएकी गायिकाको चर्चित गीत ‘राम्दी पुल’, ‘जाने बेला भइन र’ , ‘बल्लै भो भेट’, ‘रानी घाटैमा’, ‘मिर्मीमुनी काली थुनेको’, ‘मायाले मार्यो’ लगायत तीज गीत ‘हाम फालेर मरौकी त्रिशुलीको पानीमा’ लगायत थुप्रै गीतहरू रहेका छन् ।

तत्कालिन स्याङ्जाको यलादी गाविसको खाल्टे हाल वालिङ नगरपालिका ४ मा २०३५ साल भाद्र ४ गते मध्यम वर्गको परिवारमा जन्मिएकी गायिका गुरुङका एक भाई र एक बहिनी रहेका छन् । गायिका गुरुङ नेपाली सांगितिक क्षेत्रमा चिर परिचित नाम मध्य एक नाम हो ।

बालापन वालिङमै बिताएकी उनले १० कक्षा सम्म धेरै विद्यालयमा पढेकी रहिछन् । उनी सम्झिदै भन्छिन्, ‘खास विद्यालय फेर्नु भनेको कुनैमा केहि नमिल्ने कुनैमा केहि त्यसैले पनि मैले विद्यालय चेन्ज गरेको हो ।’
प्रायः मानिसहरू बच्चामा चकचक गर्ने, आमाबुबाले भनेको नमान्ने जिद्धि स्वभावका हुन्छन् तर शर्मिला भने निकै सोझी बच्चामा गनिन्थिन । अर्को कुरा उनी स्कुल पढने बेला खासै गीत गाउने काम गर्थिनन् तर पछी मात्र उनले गीत गाउन थालेको बताउछिन ।

पछि १५/१६ वर्षको उमेरदेखि उनलाई विशेषगरी नेपाली लोक गीतहरू अति मन पर्न थालेपछी जसका कारण उनमा गीतसंगीत प्रति गहिरो रुची बढ्न थालकोे रहेछ । पहिले पहिले गीत सुन्ने माध्यम भनेकै रेडियो नेपाल थियो । शर्मिलाले पनि रेडियो नेपालबाट बज्ने लोक गीत सम्बन्धी चौतारी कार्यक्रमबाट बज्ने प्राय गीतहरू सुन्ने गर्न थालिन् पछि पुनः वरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोतम न्यौपानेले रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखराबाट लोक गीत कै कार्यक्रम देउराली चलाउन थालेपछि उनीहरूलाई धेरै सहज भयो । शर्मिला गुरुङ घाँस काट्न जाँदा होस या घास काटेर फर्किदा, घाँसको भारीसंगै रेडियो भिरेर लोक गीत सुन्ने गर्थिन् ।

उतिबेला उनले प्रायः नारायण रायमाझी, कृष्ण गुरुङ, बिमा कुमारी दुराका गीत धेरै सुन्ने गर्थिन । पछि सुन्दै जादा उनी अलि अलि गीत गुनगुनाउन थालिन् । उनी भन्छिन् ‘पछि पछि म पनि विस्तारै गाँउघरमा विवाह, ब्रतवन्ध, पुजा लगायत शुभ कार्यमा रातभर बिहान उज्यालो नहुने बेलासम्म गीत गाएर बस्ने गर्थे । यसरी गीत गाएको देखेर मेरो आमाबुबाले अब छोरी बिग्रीन्छे भनेर गीत गाउन रोक लगाउनेसम्म पुग्नु भो तर मलाई आत्मविश्वास थियो की म गीत गाउदँैमा बिग्रिदैन् ।’ पछि अति गीत गाउन मन लागेपछी शर्मिला पोखराको मालेपाटनमा रहेको रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रमा लोक गीतकोे कार्यक्रममा भाग लिन गइन् । उक्त कार्यक्रममा गीत गाइरहँदा दर्शकहरूले प्रशंसा गर्न थालेपछि उनलाई थप गीत गाउने हौसला पनि बढ्दै गयो ।

पछि उनले पोखरामा रहेको सोल्टी दोहोरी साँझमा गीत गाउन थालिन् । केहि वर्ष उक्त दोहोरी साँझमा काम गरेपछी उनी फेरी शर्गम दोहोरी साँझमा गीत गाउन थालिन् । एक दिन गीत गाइरहदा गायक पुरुषोत्तम न्यौपाने दोहोरी साँझमा आएका थिए । पछि गायक न्यौपानेले शर्मिलालाई तपाईको स्वर मिठो लाग्यो म तपाईलाई मेरो एल्वममा गीत गाँउन दिन्छु भनेछन् त्यसपछी उनलाई पुरुषोत्तमले नै शर्मिलालाई गीत रेकर्डिङ गर्ने शिलशिलामा काठमाडौं ल्याए । काठमाडौं आइसकेपछि शर्मिला पहिलो पटक म्यूजिक नेपालमा गइन् जहाँ चर्चित गायिका लक्ष्मी न्यौपाने त्यहि थिइन् । पछि शर्मिलाले लक्ष्मी न्यौपानेसँग मिलेर ‘निलो पछ्यौरी’ बोलकोे लोक गीत गाँउने अवसर पाइन जुन गीतले म्यूजिक नेपालबाट अवार्ड समेत पाउन सफल भएको थियो ।

यो गीत गाइसकेपछी शर्मिला पोखरा फर्किइन् । पछि गीत गाउन पोखराबाट काठमाडौं आइरहन थालिन्, उनका केहि साथीहरूले उनलाई सांगीतिक क्षेत्रमा नै लाग्ने भए पोखरा बसेर हुदैन काठमाडौं बस्नु पर्छ भन्ने सल्लाह दिएपछी उनले पोखरा छोडेर काठमाडौं आइन ।

उनी भन्छिन्, ‘म साथीहरूको सल्लाह बमोजिम काठमाडौं आएर शुरुमा पुकार दोहोरी साँझमा काम गर्न थाले ।’ केहि वर्ष पुकार दोहोरी साँझमा काम गरेपछि शर्मिला फेरी काठमाडौंको दरबारमार्गमा रहेको छहारी दोहोरी साँझमा काम गर्न थालिन् । उक्त दोहोरी साँझमा चर्चित गायक तथा संगीतकार कृष्ण गुरुङसँग भेट भयो जहाँ उनले स्केल सम्बन्धी धेरै कुरा सिक्ने मौका पाइन् र कृष्ण गुरुङसँग थुप्रै गीतमा काम पनि गरिन् । एक पछि अर्को गीतमा सफलता हात परेपछि शर्मिलाले विदेशमा हुने साँगीतिक कार्यक्रममा जान थालिन् । हाल सम्म विदेशका धेरै देशका कार्र्यक्रममा गइसकेकी छिन् र धेरैको मन मुटुमा बस्न पनि सफल गायिकाको रुपमा चिनिन्छिन् ।

मौलिक गीतलाई विशेष प्राथामिकता दिदै आएकी गुरुङले अहिलेसम्म समाजलाई असर गर्ने खालका गीत गाएको पाइएको छैन । उनले लोक तथा दोहोरी गीतसँगै सालैजु, रोइला, कौरा लगायत लगभग नेपालमा गाइने प्रायः लोक गीतमा आवाज दिइसकेकी छन् ।

हालसम्म पनि अविवाहित रहेकी गुरुङ आफुले विवाह नगर्नुको कुरा यसरि भन्छिन् ‘विवाह भन्ने कुरो हरेक मानिसको भाग्यमा लेखेको हुनु पर्ने रहेछ । मेरो व्यक्तिगत कुरा गर्दा मानिस धेरै व्यस्तता भएमा पनि विवाहको कुरामा सोच्न नसक्ने रहेछ । मेरो जीवनमा पनि सायद विवाहको लागि लगन नजुरेर नै होला, अर्को कुरा विवाह गरेपछी हामी महिलाहरूले फ्रि भएर हिड्डुल गर्न पनि सक्दैनौ जस्तो लाग्छ मलाई । म एउटा कलाकारितामा लागेर केहि लक्ष्य बोकेको मान्छे घर परिवार, सासु ससुरा लगायत सबैको चित्त बुझाएर बस्न सक्ने थिइन जस्तो लाग्छ यता विवाह गरिसकेपछी घर परिवार छरछिमेकको चित्त बुझाउन नसक्ने हो भने पनि उल्टै समाजले कुरा काट्न थालि हाल्छन् कि यो कस्तो खालको बुहारी हो भनेर यता आफ्नो मूख्य लक्ष्य कलाकारिता छोडौ भने पनि म यो पेशा छोड्न पनि सक्दैन थिए ।’ उनि फेरी थप्छिन, ‘त्यसैले पनि मलाई हरेक कुरा सोच्दा विवाह गर्ने सोच नपलाएको हो । मलाई अहिले गीतसंगीत नै मेरो लागि सब थोक हो भन्ने लागेर जीवन नै यसैमा सर्मपित गरेको छु । धेरैले मलाई अहिले पनि विवाह गर भनेर भन्नेको संख्या धेरै छ ।’ तर आफुले विवाह नगरेको भनेर अरुले पनि उनले झँै सोचेर विवाह नगर्नु नभन्ने बताउछिन् । विवाह गर्नु पर्छ तर समय परिस्थितिले साथ दिनै पर्ने रहेछ ।

गायिका गुरुङको जीवनमा तेति ठूलो दुख पिडा नभएको उनी बताउछिन् ।
प्रस्तुतीः चक्र प्रसाद पोखरेल