बाल साहित्यकार गीत पछाईको दोस्रो कृति ‘पोर्टल’ सार्वजनिक

30

काठमाडौं । बाल साहित्यकार गीत पछाईको दोस्रो कृति ‘पोर्टल’ सार्वजनिक भएको छ । ८ वर्षको उमेरमा द ट्रेजर हन्ट अङ्ग्रेजी कथा सङ्ग्रह निकालेर नेपालको सबैभन्दा कान्छो लेखकको रूपमा आफूलाई चिनाउन सफल उनले अहिले दोस्रो कृतिको रूपमा उपन्यास निकालेकी छन् । उनको पहिलो अङ्ग्रेजी कथा सङ्ग्रह अस्ट्रेलियाको विभिन्न स्कुलको लाइवेरीमा पढ्न पाइन्छ । १२ वर्षकी गीतले यो उपन्यास आफू ९ वर्षको हुँदा लेखेको र अहिले यसलाई फर्केर हेर्दा अझै राम्रो गर्न सक्थे भन्ने लागेको बताइन् साथै पाठकबाट आएको सुझावलाई समेत ख्याल गर्दै अर्को कृति लिएर आउने बताइन ।

विमोचन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की , सहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्व अर्थ मन्त्री तथा वरिष्ठ साहित्यकार शङ्कर प्रसाद कोइराला, वरिष्ठ साहित्यकार प्राज्ञ माया ठकुरीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए । कार्यक्रममा मन्त्री चौधरीले यति सानो उमेरमा दोस्रो किताब प्रकाशन गर्नु ठूलो कुरा भएको र अन्य बालबालिकाको लागि उनी प्रेरणा हुने र बालबालिकालाई यस्ता कार्यमा प्रोत्साहन दिनुपर्ने बताए ।

साहित्यकार कोइरालाले नेपालीले अङ्ग्रेजी साहित्यमा कलम चलाउन गाह्रो हुने, त्यसमा पनि साइन्समा अझै गाह्रो हुने तर गीतले सानो उमेरमा नै यो विषयलाई निकै राम्रोसँग प्रस्तुत गरेकी छिन् उनको कल्पनाशील र यो अदभूत क्षमतालाई सबैले साथ सहयोग गरेर अगाडि बढाउन हौसला प्रदान गर्नुपर्ने बताए ।