कविता : दुलही ,दाइजो र तिम्रो साम्राज्य ….

17


– विजु पछाई खाती

ए प्रिय ….!
आऊ न मलाई भेट्न
म त अस्पतालको बेडमा
मुढोजस्तै फालिएकी छु !
तिमीले कोरेको सिन्दुरको इन्द्रेणी
हेर्ने मन छ भने चुपचाप छिर न ढोका खोलेर
कुरिरहेकी छु जसरी बिहेको रात घुम्टोमा लुकेर कुरिरहेकी थिए !

संझ त प्रिय त्यो रात
त्यो बात ….
अनि बिहानै
तिमीले दिएको त्यो आघात ?
हेर त
तिम्रो हातका बज्रले
मेरा कलिला गाला घाइते भए !
हेर त
तिम्रा लातका कोर्राले मेरा कम्मरका पूर्जा
कामै नलाग्ने गरी खलबल भए !
अब त प्राण
तिम्रो सासको प्रहारले मेरा ओठ काम्दैनन् !
तिम्रो रिसको अगुल्टोले जलेर निलाम्य भइसक्यो !
न म चल्न सक्छु …………….
न म बोल्न सक्छु ……………
मात्र संझिन सक्छु चिरिएको मुटुले
मेरो बिगत , मेरो बर्तमान ……….
अनि हिजो रातितिम्रो छातीमा टाँसिएर
…. मेरो छातीमा सजाएको स्वणिर्म सपना !
८८८८८८८८८८८८८८८८८८८८८८८८८८
नडराऊ प्राण…….!
म तिमीलाई गिरफ्तार गराउन बोलाएकी होइन
म त तिमीसँग मात्र एकपटक सोध्न चाहन्छु
तिम्रो आँखामा हेरेर
तिम्रो र मेरो सपनाको महलमा सजाउने जूनतारा
मेरै हातले सजाउँछु भन्दाभन्दै
किन भाचिदियौ मेरा हात
कल्पवृक्ष भएन ….भनी भनी ?
तिम्रो जीवन चलाउने उर्जा
मैले नै बर्साउँछु भन्दा भन्दै
किन जलाइदियौ मेरो शरीर
पारसमणि भएन भनी भनी ?
बरु ज्यानै माग हात फैलाएर ज्यानै दिन्छु
प्राणै माग झोली फैलाएर मरिदिन्छु
तर …तर प्राण
मेरा बाबाले चढाएको प्रसाद ओठमा लिएर
मेरा पुर्खालाई सराप नदेऊ !
मेरी आमाले चढाएको फूलमाला भिरेर
उनैकी धड्कनलाई गाली नदेऊ !
बरु मागेको भए
मेरो बस्ती भरिको बैभब चढाउँथे
तिम्रो रित्तो छातीमा !
मागेको भए
मेरो माटो भित्रको सम्पूर्ण खजाना सुम्पिन्थेँ
तिम्रो भोको ढुकुटीमा !
तर हान्यौ झुक्याएर कुटीलताको बाण
मेरो रसिलो छातीमा
त्यसैले त जलिरहेकी छु !
लुकाएर रोप्यौ महिषासुरको भाला
त्यसैले त गलिरहेकी छु !

आऊ राजा एकपटक फेरि र
शासन गर पुनः ममाथि !
मेरो लाचारीपन माथि !
अनि मेरो नारित्वमाथि !
ढिलायौ भने यति बुझिराख …..
मेरो मुटुले उजुरी दिनेछ तिम्रो नाउँमा !
मेरो छाती साक्षी बस्नेछ तिम्रो अत्याचारको बिरूद्धमा !
मैले नचाहँदा नचाहँदै पनि
मेरो धड्कनले गवाइ दिनेछ
तिम्रो कालो करतुत र बर्बरताको बिरुद्धमा !
बस्नुपर्ला फेरि कालकोठरीमा
तिमीले नचाहँदा नचाहँदै पनि !
त्यसैले ,
सुनसान कोठा
चिरिएको मुटु
भाँचिएका हातगोडा
निलिएको ओठ
भुत्लिएको कपाल
रक्ताम्य पहिरन
थिलोथिलो परेको शरीर …..
म केही गर्दिन ……
मात्र एकपटक तिमीलाई
मेरो मानेर आँखा भरी हेर्न देऊ !
अर्को जन्ममा म तिमी भएर जन्मिन चाहान्छु
बाँकी तिमी आफै बुझ !
किनकि ,
दुलही र दाइजोको पाठ पाठ्यक्रम सहित पढाइन्छ
तिम्रो घर ….तिम्रो बस्ती …….अनि तिम्रो साम्राज्यमा
र परीक्षा लिइन्छ मजस्ता निर्दोष अनि लाचारसँग !
…….पास भए पत्नी फेल भए दासी !
…..पास भए जीवन फेल भए फाँसी
…………………………………..!
ए प्राण….!
आऊ न मलाई भेट्न
म त अस्पताल को बेडमा मुढोझैँ फालिएकी छु !
“८८८८८८८८८८८८८८८८८८८८८८८८८८८“

म कुर्न सकिनँ प्राण
मेरो प्राण त तिमी नै रहेछौ
मेरो जीवन त तिमी नै रहेछौ
धड्कनको तार अन्तै जोडेको रात
अस्पतालको शवगृहबाट बाहिरिदै छु
प्रिय थाहा छैन मेरो यात्राको गन्तव्य
तर
घाटमा खरानीको थुप्रो देखेर
खिल्ली नउडाउनु है……..
म आउनेछु विहानी बनेर
तिमी घाम बनेको दिन !!!
धन्यवाद🌹