कोभिड संक्रमण बढेसँगै लमजुङका विद्यालय बन्द

14


काठमाडौं । कोरोना संक्रमण जोखिम बढेसँगै लमजुङ सदरमुकाम बेसीसहरका विद्यालय बन्द हुन थालेका छन् । जिल्लाका विभिन्न सामुदायिक तथा निजी विद्यालयमा अध्यनरत विद्यार्थीमा रुघाखोकी तथा ज्वरोको संक्रमण देखिएपछि विद्यालयहरू बन्द हुन थालेका हुन् ।

लमजुङमा पछिल्लो समय कोरोना संक्रमण बढ्दो रहेको र संक्रमितमध्ये अधिकाँश बालबालिका रहेको अस्पतालले जनाएको छ । अधिकांश विद्यार्थीमा रुघाखोकी र ज्वरोका लक्षण देखिएपछि सदरमुकाम बेसीसहरमा रहेका जनविकास मावि, युनिभर्सल एकेडेमी, ल्याण्डस्टार माविलगायतका विद्यालय बन्द भएका हुन् ।

जिल्लाका केही विद्यालय बन्द भइसकेको र अन्य विद्यालय पनि जोखिम आंकलन गरी बन्द गर्ने तयारीमा रहेका छन् । कोरोना संक्रमण फैलन नदिन विशेष सर्तकता अपनाउन आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

लमजुङमा हाल एक सय बढी सक्रिय संक्रमित रहेका छन् । जिल्ला अस्पताल लमजुङमा पनि पछिल्लो साता कोरोनासँग मिल्दो लक्षणका बिरामीको अधिक चाप रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार हालसम्म १ सय ९८ जनामा कोरोना संक्रमण भइसकेको र हाल जिल्लामा १ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।