धर्तीमा आफ्नो नाम दर्ता गर्ने विधा साहित्य हो

22

गीता मैनाली एक साहित्यकार
गीता मैनाली पेशाले पत्रकार हुन् । उनले आफ्नो रुचि अनुसार साहित्यकार, समाजसेवी र अध्यात्ममा झुकाव राख्ने व्यक्तिको रुपमा पहिचान बनाईसकेकी छिन् । काभ्रेपलाञ्चोक जिल्लाको ठूलो पर्सेल तिमाल कल्लेरीमा पाँच दशक अघि जन्मिएकी गीता बाल्यकालमा निकै शालिन स्वभावकी थिईन् । बुबा तुड्.गलाल र आमा छललक्ष्मी मैनालीकी कान्छी सन्तान गीताका तीन दाजु र एक दिदी छन् । गाउँमै जन्मे पनि आफ्ना समकालिन साथीहरूको दाँजोमा अभाव झेल्नु परेन । त्यसैको आधारमा उनी आफ्नो बाल्यकाल अत्यन्त सुखी रहेको बताउँछिन् ।

उनले आफ्नो बालापन र अहिलेका बालबालिकाबीचको भिन्नताका आधारमा भनिन्–‘मैले पाँच वर्षसम्म आमाको दुध खाँए, दश वर्षमा क ख पढेँ । ‘ढिला अक्षर चिने पनि कक्षामा म पहिलो वा दास्रो मात्र हुन्थे । स्नातकोत्तर सम्मको अध्ययनमा कही अड्किन परेन । अहिलेका बालबालिकाहरू ढाड नै भाँचिएला झैँ गरी स्कुले ब्याग बोकेर हस्याड्ग फस्याड्ग गर्दै स्कुल पुगेको देख्दा पढाईको नाममा ती भाइबहिनीहरूको बालापन खोसिएको उनी बताउछिन् । हुर्कने क्रममा जीवन सुखमय रुपमा बितिरहेको थियो । गायनमा निकै रुचि भएकी गीतालाई घरमा पाहुना आउँने बित्तिकै बुबाले गीत गाउन लगाउनु हुन्थ्यो । उनी मानिसको अगाडी गीत गाउन लजाउँथिन् । त्यसैले घर पछाडी पेटीमा बसेर ठूलो श्वरले गीत गाउथिन् । सायद उनको बुबामा भएको गायनकला उनमा आएको थियो । यसरी दिन रातसँगै उनको जीवन सुखमय तरिकाले बितिरहेको थियो ।

स्कुलमा प्रत्येक शुक्रवार विज्ञान विषयका शिक्षक नारायण गोपालले गाएको ‘झरेको पातझैँ भयो उदास मेरो जिन्दगी’ गीत गाएपछि मात्र पढाइ शुरु गर्थे । आइ.ए.पढुञ्जेल उनको गायन कला निरन्तर रह्यो र त्यस दौडानमा उनले धेरै सम्मान पत्रहरू पाइन् । बीरगञ्ज ठाकुरराम क्याम्पसमा आइ.ए.सकेर उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ शहर पसेसँगै उनको गायन पनि सुस्तायो । जनसंख्या विषयमा स्नातकोत्तर गरेकी उनी वि.सं.२०५१ सालमा गोरखापत्र सस्थानमा आवद्ध भएर पत्रकार बनिन् । आफ्नै पेशामा इमानदार भएर रमाइरहेकी उनलाई ०६२।६३ को जनआन्दोलनपछि बनेको सरकारले उनको पेशामा प्रहार गर्यो । जसका कारण उनलाइ पेशामा टिकिराख्न गाह्रो पर्यो । उनलाई राजनैतिक पार्टीसँग जोडेर काम गर्न विभिन्न प्रकारका दवाव तथा धम्कीहरू आए । जसले गर्दा उनी मानसिक रुपमा विक्षिप्त हुन पुगिन् । अरुको समाचार लेख्ने उनी आफै समाचारको श्रोत बनिन् । उनका समाचारहरू मिडियामा हेडलाईन बने । तर उनले आफु स्वतन्त्र भएर काम गर्ने आफ्नो अठोटलाई कायम राखिन् । उनले सगरमाथा र मेट््रो एफएममा फोहोर व्यवस्थापन सम्बन्धित कार्यक्रम चलाएकी थिईन् । च्यानल नेपाल टेलिभिजनमा नेपालबाट पहिलो पटक समाचार वाचन गर्ने गीता वि.सं. २०५१ देखि २०६४ सम्म एसियाकै पुरानो पत्रिका गोरखापत्र संस्थानमा काम गरिन् । अहिले उनी स्वतन्त्र पत्रकारको रुपमा काम गरिरहेकी छिन् ।

तत्कालिन समयमा मानसिक रुपमै विक्षिप्त हुन पुगेकी गीताले एउटा धार्मिक अनुष्ठानमा मुर्तिकार ठाकुर प्रसाद मैनालीलाई भेटिन् । मुर्तिकार मैनालीले मनमा उठेका भावनाहरू लेख्न सुझाव दिदैं भने–‘यस धर्तीमा आएका सबैको नाम दर्ता हुँदैन । साहित्य मात्र एउटा यस्तो विद्या हो, जसले यस धर्तीमा नाम दर्ता गराउँछ । ‘त्यसपछि समाचार हेर्दा आफ्नो मनमा उठेका भावनाहरूलाई कवितामा कोर्ने जमर्को गरिन् । उनी हरिझक्त कटुवालको कविताबाट निकै प्रभावित थिईन् ।

सरकार परिवर्तनसंँगै निकै कष्टकर बनेको उनको पेशाका लागी राजनैतिक मोह , प्रलोभनमा नपरी स्वतन्त्र रुपमा काम गर्न चाहन्थिन् । त्यसै समयमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष, प्रा.मोहन सिटौलाले साहित्यमा कलम चलाउन उत्साहित गर्दै कविता छापिदिने बचन दिए । एकसय डलर तिरेर अनेसासको सदस्य बनेपछि कबिता लेख्न जाँगर चलाइन् । समाचार हेरेर कविता लेख्न सुरु गरेको १५ औं दिनमा मिर्मिरेको प्रकाश कविता संग्रह प्रकासित गरिन् । उनको पहिलो कविता ‘डायसपोरा’ शीर्षकमा छ । उनले लेखेका ६४ कविता मध्ये ६ वटा त हरिभक्त कटुवालकै विषयमा लेखिछिन् । उनले जीवनमा हरिभक्त कटुवाललाई भेट्ने अवसर त पाइनन् तर कटुवालको स्वतन्त्र लेखाईबाट निकै प्रभावित थिईन् । उनले आस्थादीप नामक एक सोलो भजन एल्बम पनि निकालेकी छिन् ।

त्यसको दशवर्षपछि २०७४ सालमा ‘भावनाको भेल’ दोस्रो कविता संग्रह निकालिन् । उनले समाजका वास्तविकता चित्रण गर्ने जमर्को गरेकी छिन् । उनले लेखेका चिरकुमारी, बोक्सी, म नछुने भएकी छु, निर्भिक सिन्दुर जस्ता अधिकांश कविताले समाजको वास्तविकता चित्रण गरेको छ । उनी एक अविवाहित महिला हुन् । स्वतन्त्र बस्नुमा नै खुसी मान्ने उनले समसामयिक विषयलाई आफ्नो कविताको मुलधार बनाएकी छिन् । उनि भन्छिन्–‘हरेक मान्छे आफैँमा एक सहित्यकार हो । मनमा खेलिरहेका भावनालाई जसले कापीको पानामा लेख्ने काम गर्यो उ नै साहित्यकार बन्यो । भावना प्रत्येक मान्छेको मनमा हुन्छ । त्यसैले हामी सबैले लेख्ने बानीको विकास गर्नुपर्छ । यस धर्तीमा आएपछि सबैले आफ्नो नाम दर्ता गरेर जानुपर्छ । घाँसीले घाँस काटेरै नाम दर्ता गराए । भानुभक्तले रामायण लेखेर नाम दर्ता गराए । हामी पनि केही नयाँ उदाहरणीय काम गरेर नाम दर्ता गराउँन सक्छौ ।