बल्छिको लभ पहिलो डेटमा नै प्रहरीको फन्दामा

37


प्रेमको सफलता भनेको विवाह नै हो भन्ने सोचाइ छ । प्रेम पछि विवाह भए प्रेम सफल र विवाह हुन नसके प्रेम असफल यहि बिश्वासले अगाडि बढेको छ समाज पनि । प्रेम सँगै विवाह जोडिएर आउँछ । सबैको प्रेम सफल हुन्छ भन्ने पनि छैन । त्यसमाथि पनि अन्तर्जातीय प्रेम । समाज जतिसुकै परिवर्तित छ भने पनि जातीय कुरालाई सहर्ष स्वीकार्न सकेको अवस्था अझै पनि छैन । गोरखामा जन्मिएका मरिचमान श्रेष्ठ अर्थात् बल्छी ध्रुुबे र लमजुङ्मा जन्मिएकी करुणा खड्का अर्थात् कणु को भेट लमजुङमा कार्यक्रममा भएको थियो । भर्खरै एसएलसी दिएर बसेकी करुणा र बल्छीको बीचमा प्रेम बस्ला र सम्बन्ध विवाहसम्म पुग्ला भन्ने करुणाले सोचेकी थिइनन् । सुरुमा दुबैले सामान्यरुपमा फोन नम्बर आदान प्रदान गरेका थिए । सुरुमा भेट हुँदा मरिचमान मरिचमानबाट बल्छी भइसकेका थिए । करुणा भन्छिन्–एउटा कलाकारका रुपमा चिनेको व्यक्तिसँग प्रेम, विवाह जस्तो कुरालाई त सोच्ने कुरा नै भएन ।

३ –४ दिन लगाताररुपमा बल्छीले करुणालाई फोन गरिरहे । बल्छीले प्रेमको बिजारोपणको प्रयास गरे, अन्ततः सफल पनि भए । बल्छीले छरेको प्रेमको वीउलाई करुणाले मल जल गरिन् र विवाह सम्भव भयो । ६ वर्षे अगाडि उम्रेको प्रेमको अंकुर विवाहमा परिवर्तन गरेका बल्छी र करुणा एक अर्कालाई बोलाउँदा प्रफुल्लित हुन्छन् । बल्छीको नाम दर्शकसामु चर्चित छ भने कणु चाहिँ बल्छीले मायाले बोलाउने नाम हो । यो जोडी प्रेममा रहेको धेरै वर्ष भए पनि प्रेमलाई अल्पविराम लगाएर विवाह परिवर्तन गरेको भने भर्खरै हो ।

लामो समय प्रेममा रहेको यो जोडी पहिलो डेट अर्थात् घुम्न जाँदा नै प्रहरीको फन्दामा परेको थियो । कारण थियो, बल्छीले सवारी लाइसेन्स बोक्न बिर्सिएको । विवाहअघि खासै घुम्न ननिस्किएको यो जोडी विवाहपछि भने चाँडै नै हनिमुनका लागि अष्ट्रेलिया जाँदैछ । घुम्न नलगेको तथा आफूलाई समय नदिएको भन्दै करुणाले बल्छीसँग धेरै गुनासो गर्छिन् । यद्यपी करुणा आफैं पनि जागिरे जीवन बिताइरहेकी छिन् । करुणा भन्छिन्–अरु दिन खासै मेरो पनि फुर्सद हँुदैन, उहाँ फुर्सदिलो भएको दिन भने मेरा लागि समय छुट्याए हुन्थ्यो भन्ने लागिरहेको हुन्छ तर उहाँ प्रायः बढी कामलाई प्राथमिकता दिनुहुन्छ, त्यही भएर गुनासो पोख्ने गरेकी छु । मैले गुनासो गरिन भने कसले गर्छ ? गुनासो गर्नुपर्ने त समयको माग हो ।

निकै हासी मजाक गर्ने यो जोडीको झगडा पनि धेरै पर्छ । बल्छी भन्छन्–हाम्रो झगडा धेरै नै पर्छ तर त्यो निकै छोटो समयका लागिमात्र हुने गर्छ । मानौं कि गेटमा झगडा प¥यो भने घरभित्र पुग्दा सकिन्छ । प्रायः झगडा पर्दा भने करुणाले नै फकाउने गरेकी छिन् । प्रेम गर्नुभन्दा विवाह गर्न निकै गाह्रो भएको बल्छी बताउँछन् । उनी भन्छन्–एकातिर म नेवारी समुदायको, उनी क्षेत्री समुदायको । दुवै परिवारलाई एक बनाउनलाई करिब दुइ वर्ष संघर्ष गर्नुप¥यो ।

छोरीले ठूलो गल्ती गरी भन्ने एकातिरको परिवारलाई परेको थियो भने अर्को तिर नेवारी परम्परा गुठी जस्ता कुराको झमेला । बुबा आमालाई मनाउनै अप्ठयारो परेको थियो । विगत सम्झिँदा साह्रै असहज हुन्छ, तर पनि हामीलाई हाम्रो प्रेमले जिताएरै छाड्यौं । रोमान्टिक यो दम्पत्ती थोरै समय बचेमा पनि हँसी मजाकमै बिताउने गर्छन् । विशेष त बल्छीलाई दुःखी भएको मनै पर्दैन । आफूले माया गरेको मान्छेलाई दुःखी बनाउने कुरा त झन उनी कसरी सक्छन् र ? हाँसेकै कारण प्रहरीलाई उजुरी गरिदिन्छु भनेर छिमेकीले गुनासोसमेत गर्ने गरेका छन् ।

बल्छीलाई करुणाले पकाएको सबै कुरा मिठो लाग्छ भने करुणालाई भने बल्छीले पकाएको खसीको मासु मनपर्छ । घुम्न स्वयम्भुबाहेक जहाँ पनि लगे हुन्छ भन्ने करुणालाई लागिरहेको हुन्छ तर बल्छीको अस्तव्यस्त समय र कामका कारण पनि घुमाउन नसकेको बताउँछन् । करुणाको सबै कुरामा केयर गर्ने बानी एकदमै मनपर्छ । बल्छीलाई भने प्लानिङअनुसार कतै केही काम भएन भने रिसाइहाल्ने करुणाको बानी भने मनपर्दैन । त्यस्तै बल्छीको स्पष्ट कुरा गर्ने बानी मनपर्छ भने ह्या भन्ने खालको बानी भने मनपर्दैन । कार्यक्रममा गएको बेलामा बल्छीलाई स्टेजबाट तल बोलाएर केटीहरुको हुल मध्येबाट एकजना केटीले ओठमै किस गरेकी थिइन् । जुन कुरा करुणालाई भन्दा रिसाएकी थिइन् । कार्यक्रमका बेला विभिन्न जिल्ला घुमेका बल्छीलाई त्यस्तो धेरै ठाँउमा परेको थियो तर स्टेजबाट तल बोलाएरै किस गरेको चाहिँ पहिलो थियो । वास्तविक नाम मरिचमान भए पनि करुणालाई दर्शकले बल्छी ध्रुवे भनेकै मनपर्छ । उनी भछिन्–उहाँलाई धेरैले त्यही नामले पनि चिन्छन् । उहाँ कर्मलाई धेरै प्रेम गर्ने मानिस हो । त्यसैले मलाई पनि त्यो नामको मोह छ ।

फाट्ट फुट्टमात्र गिफ्ट आदान प्रदान भए पनि खासै यस्तो कुरामा यो दम्पत्ती चासो राख्दैनन् । माया मनमा र सम्झना पनि मनमै हुने उनीहरुको भनाई छ । केही हदसम्म माया साट्ने एउटा माध्यम गिफ्ट आदान प्रदान भएपनि यो नै सही उपाय भन्ने नभएको बल्छीको भनाइ छ । विवाहअघि र पछिको समयमा केही फरक भएको बल्छीको अनुभव छ । उनी भन्छन्– मलाई त एक दिनमा २४ घण्टाको नभएर ७२ घण्टा नै भइदिए हुन्थ्यो लाग्छ ।

विवाहअघि सामाजिक तथा पारिवारिक केही जिम्मेवारी नहरेको र विवाहपछि जिम्मेवारी थपिदै गएको करुणा बताउँछिन् । लामो समयको प्रेम भए पनि रातभरी फोनमा कुरा गरेर बस्ने भन्ने थिएन । व्यस्त भएपनि किचेनमा सहयोग गर्न अघि सर्छन् बल्छी । तर उनी अल्छी पनि छन् । वास्तविक जीवनमा बल्छी बिहान उठ्ने कुरामा अल्छी छन् । जुन करुणालाई मनपर्दैन र कहिलेकाही झगडासमेत हुने गर्छ ।