
घटस्थापना सुरु भएसँगै दशैंको माहोल भव्यरुपमा सुरु हुन्छ । दशैं सुरु भएसँगै काठमाडौं उपत्यका सुनसान हुन्छ । लाखौं उपत्यकाबासी दशैं मनाउन आफ्नो गाउँघर फर्कन्छन् । पछिल्लो समय नेपालीहरू दशैं, तिहार र छठ पर्वलगायतको लामो बिदामा परिवार एवं साथीसंगीसँग घुम्न जाने गरेका छन् । कामको व्यस्तताले गर्दा लामो समय कतै पनि धुम्न नगएका व्यक्तिहरूले दशैंमा घुम्नको लागि विशेष योजना बनाउने गर्छन् । परिवारको साथमा होस् या साथी भाई तथा आफन्तको साथमा दशैंमा घुम्ने योजना धेरै मानिसहरूले बनाएका हुन्छन् । काठमाडौंमा रहेका व्यक्तिहरूले वरपर रहेका रमणीय ठाउँ घुम्न जाने योजना बनाएका हुन्छन् भने दशैं मनाउन गाउँ गएका मानिसहरूले पनि घुम्नको लागि योजना बनाएका हुन्छन् । दशैं मात्र एक यस्तो पर्व हो जतिबेला परिवार आफन्त अधिक मात्रामा भेट हुने गर्छ । तर काठमाडौंबाट केही नजिक ठाउँहरू घुम्नको लागि निकै रमणीय छन् । जहाँ पनि पुगे पनि भरपुर रुपमा रमाईलो गरेर फर्केका छौँ ।
१. चन्द्रागिरि समुद्र सतहबाट दुई हजार ५ सय मिटरमा रहेको चन्द्रागिरि डाँडा भौतिक सुविधासम्पन्न पर्यटकीय गन्तव्यका रूपमा अहिले विकास भइसकेको छ । चन्द्रागिरि जानको लागि काठमाडौंको थानकोटदेखि केबुलकारको सुविधा उपलब्ध छ । यतिमात्र होइन, थानकोटबाट पदयात्रा गरेर पनि चन्द्रागिरिसम्म पुग्न सकिन्छ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यका नियालेको इतिहास छ । उपत्यकाको दृश्यावलोकनका लागि चन्द्रागिरि राम्रो गन्तव्य हो, जहाँ सुविधा सम्पन्न होटलसमेत रहेको छ । त्यहाँ पारिवारिक माहोलसहितका पूर्वाधारसमेत विकास गरिएको छ, जहाँ बच्चादेखि वृद्धवृद्धासम्म रमाउन सक्छन् ।
२. नगरको काठमाडौंबाट करिव ३५ किमीको दूरीमा रहेको नगरकोट काठमाडौं उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थल हो । नगरकोट प्राकृतिक रुपले समेत सुन्दर छ । त्यसैले पनि धेरैको रोजाइमा पर्ने गरेको छ । समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोटमा गर्मी मौसममा पनि चिसो वातावरण हुने गर्छ । राजधानीको भीडलाई छलेर मानिसहरू नगरकोट पुग्छन् । नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य पनि हेर्न सकिन्छ ।
३. फुलचोकी समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको फुलचोकी काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो । फुलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो ठाउँ काठमाडौंदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ । फूलचोकीबाट प्राकृतिक दृश्यावलोकन साथै तराईका समथर फाँटदेखि उत्तरका गगनचुम्बी हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँको अर्को आकर्षण वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् । फूलचोकीमा हिउँदको समय हिउँ खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू जाने गरेका छन् । त्यहाँ फूलचोकी माईको मन्दिर पनि छ ।
४. शिवपुरी समुद्री सतहबाट २ हजार ५ सय ६३ मिटर उचाइमा अवस्थित शिवपुरी डाँडा काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुचुरो हो । काठमाडौंको उत्तरमा पर्ने शिवपुरी–नागाअर्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा अहिले धेरैको गन्तव्य स्थान बनेको छ । बूढानीलकण्ठ पानीका ेमुहानबाट निकुञ्ज प्रवेश गर्दै शिवपुरी डाँडा जान सकिन्छ । घना वनमा उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि हिमशृङ्खलाको सुन्दर दृश्य साथै काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ पारिवारिक सुविधासम्पन्न होटेल, रिसोर्ट तथा होमस्टेको सुविधा रहेको छ ।
५. सुन्दरीजल काठमाडौंभित्र पर्ने अर्को घुम्न लायक गन्तव्य हो सुन्दरीजल । नाम जस्तै सुन्दर छ यो ठाउँ । काठमाडौंभन्दा अलिक माथि पर्ने यस ठाउँको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ । प्रकृतिको रमणीय काखमा रहेको यस ठाउँलाई धेरैले आफ्नो घुम्ने गन्तव्य बनाएका छन् । सुन्दरीजल पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ । यो ठाउँ निकै ब्यस्त हुने गर्छ । राजधानीबाट करिब १५ किलोमिटर दूरीमा रहेको यो ठाउँमा जानेहरूका लागि खान, बस्न र दिन बिताउनका लागि उचित सुविधायुक्त होटल, रिसोर्ट तथा होमस्टेहरू उपलब्ध छन् ।
६. लाँकुरी भञ्ज्याब ललितपुरमा रहेको लाँकुरी भञ्ज्याब उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमश्रृङ्खला, गणेश हिमाललगायत हिमालहरू अवलोकनका लागि परिचित छ । साथै लाँकुरी भञ्ज्याबबाट उपत्यकाका तीनवटै शहरको विहंगम दृश्य देख्न सकिन्छ । चक्रपथबाट १३ किलोमिटर दूरीमा रहेको लाँकुरी भन्ज्याब उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै गएको छ । सल्ला, कटुस र लालीगुराँसको वन हुदै लाँकुरी भन्ज्याब पुगिन्छ । प्याराग्लाइडि गर्न र सूर्योदय हेर्न पनि लाँकुरी भञ्ज्याब उपयुक्त छ । यहाँ होटल, रिसोर्ट तथा होमस्टेहरू पनि प्रसस्तै छन् ।
७. ककनी नुवाकोट जिल्लामा पर्ने ककनी काठमाडौं नजिकैको पर्यटकीय स्थल हो । काठमाडौंबाट ३२ किलोमिटर उत्तरतर्फ पर्ने ककनी ट्राउट माछाको स्वाद लिन चाहनेका लागि उत्तम हुन सक्छ । ककनी स्ट्रबेरीका लागि पनि प्रख्यात मानिन्छ ।
