सुख–दुःखको सहयात्री सरला नै मेरो सफलताको श्रेय

41

विवाह संसार चलाउने एक रित हो । जहाँ दुई व्यक्तिहरूको आत्मिय मिलन हुन्छ । दुईबाट तीन हुँदै परिवार र एउटा सभ्य समाज निर्माण हुन्छ । वास्तवमा विवाह एक दैवीक बन्धन हो । जुन बन्धनले हामीलाई बाँधेर राखेको हुन्छ । साथै दुई अपरिचत व्यक्तिहरूलाई आफ्नो भन्ने अधिकार दिन्छ ।

विवाह सफल बनाउन तथा सहयात्रालाई मजबुद बनाउनको लागि श्रीमान श्रीमती दुबैले महत्वपूर्ण भूमिका निभाउनुपर्छ । एक अर्काबीचको प्रेम,आपसी सम्झ्दारी, दुख, सुख, हाँसो आँसु, सफलता असफलता लगायत जीवनमा आई पर्ने अनेक बाधा अवरोधलाई एक साथ निभाउन सक्नुपर्छ । अनि मात्र एक वैवाहिक जीवनको सहयात्रा सफलताको साथ अगाडि बढ्छ । १२ वर्षकी सरला घिमिरे र १५ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका डा.भोला रिजालको वैवाहिक यात्राले यसै वर्ष ६० औँ बसन्त सफलतापूर्वक पार गरकोे छ ।

विवाहको ६ दशकमा भोला र सरलाले जीवनलाई धेरै नजिकबाट नियाल्नु भएको छ । आजको पुस्ताका लागि यी जोडीको प्रेमिल सहयात्रा प्रेरणाको स्रोत पनि बनेको छ । चैत २८ गते २००६ सालमा सरलाको जन्म अग्निधर घिमिरे र नैना कुमारी घिमिरेको कोखबाट कान्छी छोरीको रुपमा धरानको नयाँ बजारमा भएको हो । नौ जना दाजुभाई र सात जना दिदी बहिनीको सरला सबैको प्यारो हुनुहुन्थ्यो । उज्यालो मुहारकी सरललाई बुबा घिमिरले ‘चन्द्रमा’ भनेर बोलाउने गर्नु हुन्थ्यो । बाल्यकाल खेल्ने, खाने, पढ्ने गर्दै बितिरहेकोथियो । घर नजिकै रिजालको घर थियो । सरला ६ कक्षा पुरा गरेर ७ मा मात्र लाग्नु भएको थियो । विवाहको कुरा आयो । सरला निडर स्वभावको हुनुहुन्थ्यो तर बुबा आमाको कुरालाई नकार्ने सरलाको
उमेर थिएन ।

१४ कात्तिक २००४ मा धरानको पुरानो बजारमा बुबा जननीप्रसाद रिजाल र आमा पूर्णमाया रिजालको तेस्रो सन्तानका रूपमा रिजालको जन्म भएको हो । हुनेखाने परिवारमा जन्मिएकाले उहाँको बाल्यकाल सुखद नै थियो । उहाँ सामाजिक र खेलकुद गतिविधिमा विशेष रुचि राख्नु हुन्थ्यो । बुबा जननीप्रसाद गीत, कविता लेख्नुहुन्थयो, छोरालाई पनि यसमा प्रोत्साहन गर्नुहुन्थ्यो । हजुरबुबा ध्रुवलाल रिजाल त्यो जमानाका साच्चै नै भगवानको अवतार हुनुहुन्थ्यो । भोला रिजालको परिवार उहाँकै आर्शिवाद हो । रिजालको बाल्यकाल उर्वर परिवेशले भरिपूर्ण थियो, त्यसमाथि जिज्ञासु र सक्रिय उहाँको स्वभावले हुने विरुवाको चिल्लो पात भने झैँ उहाँलाई जीवनमा कहीँ न कहीँ त पु¥याउने पक्का थियो ।

१५ वर्षका रिजाल एसएलसीको तयारी गर्दै हुनुहुन्थ्यो । घरमा सरलासँग विवाहको कुरा पक्का भईसकेको थियो । जिजुबाजेको इच्छाको अगाडि रिजालले विवाह गर्दिन भन्ने अवस्था थिएन । विवाहको सबै कुरा छिनेर मात्र रिजालले आफ्नो विवाह हुँदैछ भन्ने कुरा थाहा पाउँदा रमाइलो गर्दै ‘केटी मन परेन भने भागिदिन्छु’ भन्नु भएको थियो ।

परिवारको चाहाना अनुसार नै २०१९ साल असार ४ गते सरला र भोलाको भव्य रुपमा विवाह भयो । रिजालको घर घिमिरेको भन्दा कडा थियो । घुम्टोमा बस्नु पर्ने परिवारमा सरलाले विवाहपछि आफ् नो पढाई पुरा गर्ने अवसर पाउनु भएन । सरलाको लागि विवाह पछिको घर एक विद्यालय जस्तै थियो । जहाँ जे सिकाइन्छ त्यही नै सिक्नु पर्ने । समाजले विवाह गरेपछि जस्तो सुकै परिस्थितिमा पनि छोरीले घर गरेर खानुपर्छ भनेर सिकाईएको थियो । त्यही सिकाईलाई आत्मासाथ गर्दै सरलाले विवाह पछिको आफ्नो यात्रालाई आरम्भ गर्नुभयो । उहाँको मनमा पनि विवाह गरेर गएको घर मन्दिर र श्रीमान भगवान हुन् मैले मान्नुपर्छ भन्ने भावना त्यो बालापनको उमेरमा नै आएको थियो । त्यसैले जीवनमा आई परेका हरेक पीडालाई मनमा नै दबाए एक सहनशिल बुहारी मात्र हैन श्रीमती र आमाको भूमिका पनि निभाउनु भयो । एसएलसीको तयारी गरिरहेका रिजाल र सरलाको बीचमा करिब एक वर्ष त राम्रोसँग बोलचाल पनि भएन । रिजाल एसएलसीपछि आइएसी पढ्नको लागि बनारस जानुभयो । बंगलबादेश जानु भयो ।
१७, १८ वर्षको उमेरदेखि पढ्नको लागि विभिन्न देशमा पुगिरहँदा गलत बाटो नै रोज्ने भए रिजालको एक उमेर थियो । तर रिजाललाई कहिले पनि त्यो बुद्धि आएन । आफु उमेर र साथी भाईको कुरामा बहकिन हुँदैन म एक विवाहित पुरुष, म प्रति परिवारको धेरै जिमेवारी छ भन्ने कुराको महसुस उहाँलाई हुन्थ्यो । सरलाले पनि पढाई गर्न गएको श्रीमानलाई पर्खिनु भयो । सुख दुख जीवनमा आइ परेका हरेक पीडालाई आफैँसँग सम्झौता गरेर बसिरहनु भयो ।

यसरी २०२३ सालमा जेठो छोरा डा.कपिल रिजाल (बुहारी रजनी रिजाल) ,माइलो छोरा २०२६ सालमा मनिस रिजाल इन्जिनियर (बुहारी रजनी रिजाल ) कान्छो छोरा २०३५ सालमा डा. प्रलय रिजाल (फातिमा रिजाल) को जन्मपछि परिवार एक परिवार पूर्ण भयो । १२ वर्षको उमेरदेखि ३ सन्तानको आमा हुँदा सम्म सरलाले दिएको साथकै कारण आज विश्वको अगाडी डा.भोला रिजालको नामले परिचित हुनु भएको छ । रिजाल आफूले गरेको संघर्ष र सफलताको श्रेय सरलालाई मान्नु हुन्छ । गौरबका साथ सरलाकै कारण म डाक्टर भएको हुँ भन्नु हुन्छ । सरलाले बाल्यकालमा विवाह गरे पनि भावनात्मक अनि आत्मिय रुपमा सम्बन्धलाई बलियो बनाउन सहनशिलता प्रस्तुत नगर्नु भएको भए आज यो सफलता न मिल्ने रिजालको भनाई छ । सहनशिलता वैवाहिक जीवन टिक्ने पहिलो आधार हो । आमा बुबा हुँदा हुँदै छोरा छोरीलाई टुहुराबाट हुन जोगाउने पहिलो आधार नै शहनहिलता हो । केही कुरा सम्झौता हो । सरलालाई थाहा छ पुरुषको तुलनामा महिलाले नै धेरै कुरामा सम्झौता गर्नुपर्छ । त्यसैले त बुबाले विवाह गरेर दिएको घरलाई माया, प्रेम, सम्मान र सदभावले सजाउन सरलाले हरपल प्रयत्न गर्नुभयो । त्यही प्रत्यत्न सफल हुँदा सहयात्रा सहज बन्यो । एक घरलाई मन्दिर बनाउनको लागि सबै भन्दा ठूलो भूमिका एक महिलाको हुन्छ । सरलाले रिजालको घरलाई मन्दिर बनाउन मात्र हैन रिजालले चालेको हरेक कदममा हातमा हात मिलाएर साथ दिनु भएको छ । वास्तवमा रिजालको पर्दा पछाडिको हिरो हुन् सरला । जसले ६० वर्षको सहयात्रामा रिजालको जीवनको मिसाइल बनेर उभिनु भएको छ । सुविधा सम्पन्न राजधानीका अस्पताल मात्र नभएर देशका कुना काप्चा अनकन्तार ठाउँ जहाँ
डा. रिजाल निशुल्क स्वास्थ शिविर सञ्चालन गर्न महिनौँ हप्तौँ जाँदा पनि सरला एक सहयोगीको रुपमा न पुगेको ठाउँ छैन । मुगुको गल्फामा भएको सात दिने शिविर सबैको लागि उपमा बनेको छ । लण्डनबाट डा. कपिल लगायत स्वर्गीय डा. धुव्र मुडभरी, डा. सुनिल शर्मा ढकाल, डा. प्रकाश पौडेल, डा. राजेश किश्वर डा. रिता सिंह, डा. प्रमिला प्रधान, डा. कपिल रिजा, डा. हरिकिशोर, डा. रुपेश जोशी लगायत २८ जनाको टिम स्थानीय समाज सेवी राजनीतिज्ञ खड्गबहादुर शाहीको तथा पत्रकार प्रकाश गिरीको भौतिक उपस्थितिमा डा. रिजालको नेतृत्वमा भएको क्याम्प मानसपलटमा अझैँ ताजै छ । त्यसै मातातिर्थ, छालिब, धनकुटा मुक्तिनाथ, कागबेनी टुकुचे सबै शिविरमा रिजालको साथमा सरला पुगेकी छिन् । स्वामी कमल नयन आचार्यज्यूको श्रीबनको पञ्च महालक्ष्मी, त्रिवेणीको गजेन्द्रमोक्ष दिब्यधाम,मुक्तिनाथको दश वर्षे महोत्सव,बाग्लुब, जलेश्वर,पोखरामा श्रीमती गीता वाग्लेसहित पुगेर कार्यक्रम सफल बनाउन रिजाललाई सरलाले पूर्ण सहयोग गर्नु भएको छ । जन्मिएर देशका त्यस्ता अन्कन्तार ठाउँ जहाँ भोला रिजाल स्वास्थ शिविर सञ्चालन गर्न सरला र रिजालको सहयात्रा सुखमय हुनुको एक मात्र कारण हो एक अर्काप्रतिको सम्मान । घर परिवारलाई सम्हालरे सरलाले रिजाललाई विश्वास गर्नु हुँदैन थियो भने सायद रिजालले आज समाजमा पाएको यो सम्मान र नामलाई स्थापित गन निकै कठिन हुन्थ्यो । सरला र रिजालले जीवनलाई निकै नजिकबाट बुझेका छन् । देश तथा विदेशको यात्रा गर्दा सँगसँगै पाईला अगाडि बढाउनु भएको छ । यसो भन्दैमा ६० वर्षको यात्रामा कतै पनि मनमुटाब न भएको भने हैन । केही कुरामा एक अर्कालाई चित्त बुझ्दैन थियो तर रिस र आबेग भन्दा पनि सम्झदारीको बाटो अपनाउनु हुन्थ्यो । विहान ६ बजे निस्केका रिजाल राति ९ बजे घरमा आउँदा पनि सरलाले कुनै दिन शंकाको आवास समेत गर्नु भएन । रिजाललाई जनताको सेवा गर्न पे्ररित गर्दै हरेक आवश्यक
कपडा देखिका हरेक समान आफैँले किनदिनु भयो । सानो –सानो विषयमा खुसीलाई महसुस गर्ने सरला र रिजालले जन्मदिन र एनिर्भसरीलाई उत्साहको साथ मनाउने गर्नु भएको छ । खासै उपहार आदान प्रसाद गर्ने चलन छैन तर रिजालले बैंकक जाँदा सरलाको लागि ल्याइदिनु भएको उपहार ‘हिराको
टप’ अझैँ विशेष छ ।

२०७२ सालमा सरलालाई क्यान्सर भयो । क्यान्सरको उपचारको क्रममा जेठो छोरा डा.कपिल र बुहारी रजानी लण्डनमा भएकोले सबै छोराहरूको सल्लाहमा रिजाल र सरला लण्डन जानुभयो । त्यही सरलाको क्यान्सरको उपचार भयो । उपचारको
क्रममा ६ महिनासम्म उहाँहरू लण्डनमा बस्नू भयो । उपचार सफल भएको कारण सरला अहिले स्वस्थ हुनुहुन्छ । अहिले दुबै जनालाई सोध्ने उपहार भनेको ‘स्वास्थ ठिक छ’ भनेर हो ।

सरला उमेरसँगै आध्यात्मिक हुनु भएको छ । भगवानप्रति अत्याधिक आस्था र विश्वास गर्ने सरलाको दैनिकी पूजा कोठामा ३,४ घण्टा बितेको पनि थाहा हुँदैन । रिजालको दैनिकी पेशाले डाक्टर भएसँगै विरामी सेवा र जनताको सेवामा नै बितिरहेको हुन्छ । स्वामी कमल नैन आचार्यलाई गुरु मान्ने सरला र रिजालले उहाँको ज्ञान र गुणलाई अबलम्बन गर्ने गर्नु भएको छ । अब त समयसँगै उमेर पनि ढल्किएको छ । कपालहरू फुलेर सेता भएका छन् । देश समाज परिवार सन्तान भनेर जवानीमा जति नै खटिए पनि अहिले आराम गर्ने समय आएको छ । सन्तान कर्मको बाध्यताले परदेश लागे अनि अन्तमा साथ छ त एक अर्काको । त्यसैले बैवाहिक यात्रा श्रीमान–श्रीमतीको सम्बन्ध मात्र हो जोडिएपछि सास रहेसम्म साथ रहने । रिजाल नेपालकै पहिलो पुरुष गाइनोकोल ोजिस्ट हुन्, जसले नेपालमा टेस्टट्युब (कृत्रिम गर्भाधान, इन ब्रिटो फर्टिलाइजेसन, महिलाहरूमा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एउटा प्रविधि)बाट बच्चा जन्माउने प्रविधि भित्राए । ओममणि तामाब नेपालको पहिलो व्यक्ति हुन्, जो टेस्टट्युब प्रविधिमार्फत् जन्मिएका हुन् । त्यसका साथै गीत लेख्ने, गाउने र सङ्गीत भर्ने मात्र होइन,रिजालले ८ वटा चलचित्र पनि निर्माण
गरेका छन् । ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली– ओराली’ र ‘गौँथली’ उनले बनाएका चलचित्र हुन् ।

यीमध्ये ‘गौँथली’ चलचित्रमाथि विद्यार्थीले थेसिस गरी डिग्रीको उपाधि नै हाँसिल गरिसकेका छन् । समाजसेवामा पनि सक्रिय रिजालले अहिलेसम्म गोरखा दक्षिण बाहु, कलिउड सिनेमा पुरस्कार, म्युजिक नेपाल पुरस्कार, छिन्नलता गीत पुरस्कारलगायतका दर्जनौँ पुरस्कार हात पारेका छन् । चिकित्सा पेशामा उनको नाम जति ओजपूर्ण छ, त्यस्तै गहन पहिचान साङ्गीतिक क्षेत्रमा पनि छ । शरीरमा रगत तातो रहेसम्म जनताको सेवा गर्ने रिजालको सपना छ । त्यसैले त भन्नु हुन्छ–‘ मैले देशको लागि धेरै गर्न बाँकी छ ।’