तिहार विशेष : भाइटीकामा काहाँ कुन रङ्ग कसरी लगाउने ?

53


काठमाडौं । तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट शुरु भइ कार्त्तितक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी उनका घरमा पाँच दिन सम्म बसेका हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ। तिहार भनेको प्रकृतिपूजक पर्व पनि हो । वर्षभरि काममा लगाइने जीवजन्तु ः सन्देशबाहक पन्छी काग, घरको रक्षक कुकुर, गाई, गोरु र गोवर्धन पर्वतको पुजा गर्ने गरिन्छ । साथै वर्षौं देखि छुटेर आआफ्ना घर गरी बसेका चेली माइती बीचमा एक सुमधुर निरन्तर सम्बन्ध निर्वाहका निमित्त प्रकृति स्वरुपा दिदीले पुरुष स्वरूप भाइको पूजा गरी आयु आरोग्यदीर्घायूको कामना गरी, टीका माला लगाई, मीठा खानाका परिकार तथा उपहार साटासाट गरी, मानव सभ्यतामै प्रेम, सद्भाव र मैत्रीको प्रतीकको रूपमा उभ्याइएको छ तिहार पर्व ।

तिहार रंग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्वमा हो जसमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई भब्य रुपमा हर्षोउल्लासका साथ रमाइलो गरि मनाइने हुँदा तिहारलाई पर्व एक तर महत्व अनेक तथा खुसिनै खुसिको चाड मानिन्छ ।

 

भाइ पूजा गर्ने विधि
सबैभन्दा पहिले दियो बालेर कलश तथा गणेशको पूजा गरिन्छ । त्यसपछि दाजु–भाइको हातबाट ओखर र सिलाको पुजा गर्न लगाएर हत्त पत्त फेरि देख्न नपाउँदै ढोकामा लागेर त्यस ओखरलाई सत्रु नास भएको कामना गर्दै त्यसै सिलाले फुटाएर दाजुभाइले नदेख्ने ठाउँमा बाहिर फ्यालि कालको बाटो छेकेको मानिन्छ। यसपछि यमराज तथा यमुनाको प्रार्थना गरी पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई मात्र राखी छेक्नु पर्छ। यदी भाउजु वा भदा छन् भने उनीहरुलाई छुट्टा छुट्टै छेक्नु पर्छ। दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । कैयोले कपाल कोरिदिनु पर्छ र फूल, अक्षता, चन्दनले दुवै घुँडा, कम्मर, कुम र शिरमा पूजा गरी कहिल्यै नओइलाउँने मखमली माला , स्थिरताको प्रतीक सयपत्री जसको रङ्ग कहिल्यै उडेर जाँदैन अथवा दूबो सधै हरियै रहन्छ यी मध्ये कुनै एकको माला लगाई दिनु पर्छ।
त्यसपछि शरीरमा भएका सात चक्रलाई जागृत गर्ने र भाईलाई ज्योती स्वरूपमा माथि उठाउने हिसाबले निधारमा सप्तरंगी प्रकृतिको प्रतीक इन्द्रेणीको कलरमा टीका लगाई दिनु पर्छ।

टीकामा काहाँ कुन रङ्ग लगाउने

पहिला निधारमा सेतो पिठोको लामो ठाडो धर्सो बनाउने
त्यसका माथि क्रमस आज्ञा चक्रबाट सुरु गरी
बैजनी
निलो
हरियो
पहिलो
सुन्तला
रातो
रङ्गलाई तल माथि नबनाई भाईको शिरमा देब्रे हात राखी दाहिने हातले तालबाट क्रमश माथि तिर टीका लगाई दिनु पर्छ र सगुनको रुपमा दही खान दिएर अन्त्यमा आफूले ल्याएका संपूर्ण खानाका परिकार तथा उपहार दिएर दीर्घजीवनको कामना गर्नु पर्छ।
दाजू भाईले पनि दिदी बहिनीको पूजा गरी टीका लगाइदिने र सुख सम्पन्नता तथा आयु आरोग्यताको काना गरी ढोगेर दक्षिणा तथा वस्त्र उपहार गरी संगै बसेर मिष्ठान्न सेलरोटी खाई तिहार पर्वलाई बिदा गर्ने चलन छ।