नयाँ जनप्रतिनिधिले जनमतको कदर गर्लान् त ?

21

सन्जीब कुमार तिमिल्सिना, व्यवसायी
अहिलेको चुनावमा विभिन्न्न ठाउँबाट युवाहरूले जितेको देख्दा केहि आस पलाएको छ । नयाँ सांसदले केहि राम्रो काम पक्कै गर्छन् जस्तो लाग्छ । हाल जनतामा एक प्रकारको निराशा छाएको अवस्थामा यसरी युवाहरू आउनु भनेको खुशीको कुरा हो । स्थानीय तहकै कुरा गर्दा स्वतन्त्र उम्मेदवार हर्क सामपाङ र बालेन्द्र शाहलाई लिदा हुन्छ । त्यसैगरी भरखरै मात्रै उदाएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूपनि निकै आशालाग्दा हुनुहुन्छ भने ठुला पार्टीका पनि धेरै युवाहरू सांसदमा निर्वाचित भएको देख्दा अब यिनीहरूले नयाँनयाँ तरिकाले काम गर्नेछन् भन्ने मैले विश्वास लिएको छु । उहाँहरूले विशेषगरी विदेशिएका युवाहरूलाई स्वदेश फर्काएर राम्रो सीप सिकेकालाई यतै रोजगार दिने र सीप नसिकेकालाई सीप सिकाएर स्वदेशमै केहि गर्ने वातावरण सिर्जना गर्ने, नयाँ ऐन,कानुन अथवा भएकै कानुनलाई पालना गराउने र गर्ने छन् भन्ने लागेको छ । अब उनीहरूले कस्तो काम गर्छन् आगामी ५ वर्षको उनीहरूको कामले देखाउला ।

सोफिया थापा, गायिका तथा अध्यापिका
संघीय तथा प्रदेशको संसदीय निर्वाचनबाट यस पटक धेरै नयाँ अनुहार निर्वाचित भएका छन् भने समानुपातिक तर्फबाट समेत धेरै नयाँ व्यक्ति सांसद बनेका छन् । नयाँ सांसदले ठ्याक्कै येहि गर्लान् भनेर भन्न सक्ने अवस्था छैन किनकि हामीले आशा गरेको धेरै नेता भ्रस्ट भएको देखेको छौं र सत्ता समिकरणमा पुगे पछि के हुन्छन् भन्न सकिन्न ।
बिगतमा आशा गरेका जनप्रतिनिधिले अपेक्षित काम गर्न नसकेको तथा आफ्नो अधिकार क्षेत्रमा नपरेको योजना बाड्दै हिँडेको कारण नयाँ जनप्रतिनिधि पनि कतै कुरा राजनितिमा फस्लान् कि भन्ने डर छ जनतामा । राजनीति सम्भावनाको क्षेत्र हो देशको रुपान्तरणका लागि गर्न चाहानेले धेरै गर्न सक्छन् र अहिले जनताहरू धेरै सचेत तथा शिक्षित छन्, उनीहरूले विभिन्न मिडिया तथा सामाजिक संजालबाट खवरदारी गर्न सक्ने भएका काराण कतै फस्ने वा लाचारिपन नदेखाउलान् कि भन्ने आशा भने गर्न सकिन्छ ।

देवी पराजुली, गीतकार
जनतासंग प्रत्यक्ष वा परोक्ष जोडिएका कामहरुको आँफूमा निहित अधिकारको प्रयोग गर्दै पारदर्शी तुवरबाट सम्पादन गर्ने अपेक्षा जनताले गरेका छन् । प्रतिष्पर्धामा चुनिएर आएका जनप्रतिनिधिहरु जुनसुकै दलबाट विजयी भई आएपनि निर्वाचित भईसकेपछि उनीहरुको काममा कुनै दलीय प्रभाव नहुने आशाामा जनताले बिश्वास गरेका छन् । जनताका प्रत्यक्ष सरोकारका सेवा प्रवाह, विकास निर्माण, सुशासन, व्यवस्थापन लगायत दैनिक जनजीवनका काम कारवाहीमा आफ्ना जनप्रतिनिधिबाट उच्च नैतिक एवं आदर्शको व्यवहार प्रदर्शन हुने आशा गरेका छन् ।
सर्वसाधरण जनतालाई छिटो छरितो सेवा प्रवाह र सुशासनको अनुभुति दिनेगरी कार्य सम्पादन होस् भन्ने जनचाहाना रहेको छ । सडक, खानेपानी, शिक्षा स्वास्थ्य तथा बिउबिजन एवं मलखादको उचित व्यवस्थापन निःस्वार्थभावले गरिदिउन् भन्ने जनभावना रहेको छ । राष्ट्रिय मुद्धा तथा नीति निर्माणमा जनभावनालाई दृष्टिगत गरी दृढ भएर काम गरुन्, राष्ट्रहित र सार्वभौमसत्ताको मुद्धामा उच्च भाव देखाउन् भन्ने जनचाहानालाई जनप्रतिनिधिले हृदयंगम गरी काम गरे अवश्य पनि जनमतको कदर गर्न सक्ने आशा एवं बिश्वास गर्न सकिन्छ ।

रामशरण चिमौरिया, कानून व्यवसायी
हालसालैको संघीय र प्रदेश निर्वाचन मार्फत केही पुराना तथा अधिकांश नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएका छन् । अघिल्ला निर्वाचनको तुलनामा यस पटक मतदाताले हाम्रालाई भन्दा राम्रालाई भोट दिएर जिताएका छन् । पुराना नेताले हिजो केही नीतिगत परिवर्तन गरेपनि जनतालाई प्रत्यक्ष लाभ हुने किसिमका परिवर्तन गर्न चुकेको परिपेक्ष्यमा नयाँ जनप्रतिनिधिबाट जनताले प्रत्यक्ष परिवर्तन र उत्थानको आशा गरेका छन् जुन भनेको समाबेशी विकास नै हो ।
अब हिजो जस्तो अरुलाई गाली गरेर खिसिटिउरी गरेर नेता हुने परिपाटीको अन्त्य हुनै पर्छ र जनताको शिक्षा र चेतनाको स्तरमा समेत बिस्तारै अभिवृद्धि हुँदै गएकाले अब कुनैपनि बाहानामा जनप्रतिनिधिलाई देश बिकासका कार्यमा आनाकानी गर्न र समग्र बिकासका लागि आवश्यक पर्ने नीति निर्माण नगरि अन्य राजनीतिक खिचातानीमा मात्र लागि रहन छुट छैन । यदि अझैपनि पुरानै तरिकाले राजनीति गर्ने हो भने आगामी निर्वाचनमा यी पुराना नेता तथा पार्टीको अस्तित्व संकटमा पर्छ र नयाँ अनुहार जनप्रतिनिधिको रुपमा देखा पर्नेछन् ।