हरेक काम बुबालाई सम्झेर गर्छु

26

 

शिक्षण पेशा एक असल व्यक्ति उत्पादन गर्ने माध्यम हो । एक व्यक्तिको लागि गाँस, बास, र कपासको जति आवश्यक पर्छ त्यति नै शिक्षाको पनि आवश्यक पर्छ । पछिल्लो समय नेपालको शिक्षण प्रणालीमा केही परिवर्तन आएको छ । पहिले किताबी ज्ञानलाई प्राथमिकता दिइन्थ्यो भने अहिले व्यावहारिक र प्रयोगात्मक ज्ञानलाई प्राथमिकता दिन थालिएको छ ।
बालबालिकाको उज्वल भविष्य बनाउनको लागि आजको दिनमा मन्टेश्वरी शिक्षा अति आवश्यक छ । यही मन्टेश्वरी शिक्षालाई व्यवहारमा लागु गरेर सयौँ बालबालिकाको भविष्य कोर्न अगाडि बढिरहनु भएको एक शिक्षकविद् हुनुहुन्छ, रानु खाँड ।

कपिलवस्तुको तौलिहवामा जन्मुभएको रानु, स्वर्गीय बुबा पोषेन्द्र ध्वज खाँड र आमा कोमल खाँडको चौथो सन्तान हुनुहुन्छ । ठकुरी परिवारमा जन्मुभएको रानुको बुबा नेपाल प्रहरीको अधिकृत हुनुहुथ्यो । रानु सानैदेखि मिजासिलो अनि हसिलो स्वभावको हुनुहुथ्यो ।

बुबाको जागिरले गर्दा उहाँ विभिन्न ठाउँमा पुग्नुभयो । उहाँले त्यहाँको संस्कार र भाषालाई अवलम्बन गर्दै जानु भयो । उहाँ सानैदेखि बालबालिकाहरूसँग धेरै घुलमिल हुनुहुन्थ्यो । आफन्तका बालबालिका पनि उहाँसँग धेरै झुम्मिनु हुन्थ्यो ।
उहाँलाई खासमा प्रहरी बन्ने मन थियो । तर द्वन्दकालमा प्रहरीले पाएको पीडा आफ्नो सन्तानले भोग्न नपरोस् भन्ने उहाँको आमाको चाहाना थियो । उहाँ जे काम गर्नु हुन्थ्यो उहाँको बुबाले धेरै हौसला दिनुहुन्थ्यो । बुबा खुसी भएको देख्दा उहाँलाई थप काम गर्ने उर्जा मिल्थ्यो । त्यसैले उहाँ भन्नु हुन्छ, ‘बुबाले मलाई धेरै माया गर्नुहुन्थ्यो । जे काम गर्छु भन्दा पनि हौसला बढाउनु हुथ्यो । म सबै काम बुबालाई खुसी पार्न गर्थे । आज पनि सबै काम गर्नु अगाडि बुबालाई सम्झन्छु ।’
२०५५ सालमा बुद्ध पद्य माध्यामिक विद्यालयबाट उहाँले एसएलसी पास गर्नुभयो । त्यसपछि उहाँ पढाईको लागि काठमाडौं आउनु भयो । काठमाडौं आएपछि उहाँले बाग्मती मोर्डन कलेजबाट आफ्नो पढाई यात्रा सुरु गर्नु भयो । कक्षा १२ को परीक्षा दिएपछिको खाली समयमा मन्टेश्वरीको तालिम लिनु भयो ।

उहाँले आफ्नो शिक्षण पेशाको यात्रा शिक्षान्तर स्कूलबाट सुरु गर्नु भयो । त्यस स्कूलमा उहाँ शिक्षिकाको रुपमा जानु भएको थियो तर उहाँले त्यस स्कूलमा कोअर्डिनेटरको जागिर पाउनु भयो । उहाँ त्यतिबेला आफ्नो परिवारबाट जागिर खान घरबाट बाहिर निस्कने पहिलो महिला हुनुहुथ्यो ।

उहाँको परिवारमा अनुशासन र आदार सम्मानको कुरा धेरै हुथ्यो ।उहाँले करिब ३ ओटा स्कूलमा सेयरहोल्डर रुपमा काम गर्नु भयो । विभिन्न स्कूलमा प्रि–स्कूल कोर्डिनेटरको रुपमा काम गर्नुभयो । त्यसपछि संयुक्त लगानीमा करिब १२ वर्ष अगाडि स्थापना गरेको केटाकेटी पाठशाला नामक स्कूलमा प्रिन्सिपलको रुपमा काम गर्नु भयो । यसरी काम गर्दा उहाँले धेरै अनुभवहरू बटुल्नु भयो । बालबालिकाको प्रिय शिक्षिका बन्नुभयो । बालबालिकाको अभिभावकको अथाह माया पाउनु भयो ।
२०६८ सालमा उहाँको शशी अधिकारीसँग प्रेम विवाह भयो । विवाहपछि पनि उहाँले स्कूल र परिवारको जिम्मेवारीलाई सँगसँगै अगाडि बढाउनु भयो । दुई सन्तानको आमा उहाँले अहिले सोह्रखुट्टेमा आफ्नै मन्टेश्वरी खोल्नु भएको छ । उहाँ अहिले ‘ह्याप्पी होम मन्टेश्वरी एण्ड डे केयर’ को संस्थापक अध्यक्ष तथा प्रिन्सिपल हुनुहन्छ । शान्त अनि प्रकृतिमय वातावरणमा रमाउँदै त्यस मन्टेश्वरीबाट अहिलेसम्म धेरै विद्याथी अगाडि बढिसकेका छन् । उहाँ भन्नु हुन्छ, ‘नाम जस्तै हरेक बालबालिकाको मुहारमा ह्यापी होमले खुसीयाली बाढ्ने काम गर्दै आइरहेको छ । मलाई यो पेशाबाट थप उर्जा र आत्मसन्तुष्टि मिलेको छ । ’

उहाँ मन्टेश्वरीसँगै लायन्स क्लबको जोन चियर पर्सन हुनुहन्थ्यो । त्यसका साथै अहिले बनस्थली १६ मा रहेको चेतनशिल महिला समुहको अध्यक्ष हुनुहुन्छ । उहाँ क्रियटिभ पाठशाला अन्तर्गत आबद्ध सजिलो शिक्षा युट्युब च्यानलमा प्रस्तोता (शिक्षिकाको भूमिका) को रुपमा सक्रिय हुनुहुन्छ ।