ब्युटिसियनमा ग्राहकलाई बुझाउने खुबी हुनुपर्छ

22

नेपालगञ्जको चिसापानीमा जन्मनु भएको पद्मा शाही ब्युटिसियन क्षेत्रमा संघर्षरत एक महिला हुनुहुन्छ । बुबा काली बहादुर शाही र आमा सिता शाहीको कोखबाट तेस्रो सन्तानको रुपमा २०४७ सालमा उहाँको जन्म भएको हो । बुबा आर्मी हुनुहुन्थ्यो भने आमा सामान्य गृहिणी हुनुहुन्थ्यो ।

बाल्यकालमा उहाँ निकै शान्त र निडर स्वभावको हुनुहुन्थ्यो । परिवारमा आमा बुबाले भनेको सबै कुरालाई मान्ने इमान्दार स्वभावको हुनुहुन्थ्यो । उहाँको बाल्यकाल बुबाको जागिरले गर्दा आर्मी क्याम्पमा नै बित्यो ।
उहाँ पढाईमा पनि राम्रो हुनुहुन्थ्यो । २०६३ सालमा सुर्योदय मा.वि बाट उहाँले एसएलसी पास गर्नु भएको हो । त्यस लगतै उहाँको विवाह भयो । प्रशान्त थापासँग विवाह गरेपछि उहाँको बसाई बाँकेको खजुरामा भयो ।
अहिले ललितपुरको झम्सिखेलमा उहाँले बेलिस्मा ब्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्दै आउनु भएको छ । उहाँ यो क्षेत्रमा कसरी लाग्नु भयो परिवारको साथ सहयोगक कस्तो थियो ? के –कस्ता चुनौतीहरू भोग्नु भयो बन्ने विषयमा हामीले कुराकानी गरेका छौँ ?

ब्युटिसियन बन्ने सोच कसरी आयो ?
विवाहपछि श्रीमानको विजनेश दिल्लीमा भएकोले म त्यहाँ गएको थिए । त्यहाँ हुँदा यतिकै बस्नु भन्दा केही सिप सिकौँ कि जस्तो लाग्यो अनि मैले छोटो समय पार्लर सिके । छोरा पेटमा आएपछि म नेपाल फर्किए । २०६४ सालमा छोराको जन्म भयो । मैले लामो समय छोराको हेरचाहामा नै बिताए । करिब छोरा १० वर्ष हुँदासम्म मैले सबै समय परिवारमा दिए । छोरा हुर्केपछि नै मैले एसएलसी पछिको पढाइ सुरु गरेको थिए । कलेज र घर मात्र गरेर म मानसिक रुपमा निकै विछिप्त भएको थिए । करिब दुई वर्ष मैले टाउकोको नासाको औषधी पनि खाए । श्रीमानलाई खासै बाहिरको काम गरेको मन पर्दैन थियो । त्यसैले पनि होला कलेज र घर मात्र मेरो संसार बन्यो । जब डाक्टरले मलाई कम सोच्न आग्रह गरे त्यसपछि मैले केही गर्नुपर्छ अब बाहिरी संसार बुझ्र्नुपर्छ भन्ने सोच राखेर काठमाडौं आए अनि कारा ब्युटिपार्लरबाट मैले ब्युटिसियन कोर्ष सुरु गरे ।

काठमाडौं आउँदा परिवारको साथ सहयोग के थियो ?
परिवारको साथ र सहयोग केही पनि थिएन । मलाई परिवारसँगै बसेर केही गर त भन्नु भएको थियो तर केही गर्ने वातावरण थिएन । मलाई चिन्तामुक्त हुनको लागि घरबाट बाहिर निस्कनु थियो । त्यसैले बाँकेबाट काठमाडौं आउन मैले एकल निर्णय गरेको थिए । काठमाडौं आएपछि मलाई हामी छौँ भनेर मेरो सानो बुबा र सानीआमाले धेरै साथ सहयोग गर्नुभएको थियो र अहिलेगरिरहनु भएको छ ।

ब्युटियिन पेशालाई कसरी लिनु हुन्छ
अहिलेको समयमा ब्युटिसियन क्षेत्र एउटा नाम र दाम भएको राम्रो पेशा हो । केही गर्ने सोच बनाएका महिलाहरूको लागि ब्युटिसियन क्षेत्र राम्रो अवसर भएको ठाउँ हो । यसमा भविष्य पनि राम्रो छ तर केही महिना सिकेकै भरमा पार्लर खोलेर नाम कमाउछु भन्नु चाहीँ भ्रम मात्र हो । यो पेशामा लाग्नु अगाडि सिप सिकेर भन्दा पनि अनुभव बटुलेर, मार्केटको अवस्था र सबै काम र प्रोडक्टको विषयमा ज्ञान लिएर लाग्यो भने ब्युटिसियन क्षेत्र भविष्य भएको पेशा हो ।
यो क्षेत्रमा लाग्दा कस्तो चुनौतीहरू भोगिरहनु भएको छ ?
पछिल्लो समय प्रतिस्पर्धा निकै बढेको छ । कुनै पनि काममा राम्रो अनुभव नभएसम्म काम गर्न सक्ने अवस्था छैन । ग्राहकहरू हामी भन्दा धेरै बुझ्ने हुनुभएको छ । अहिले पनि कोही पुरुष महिलाको पार्लरमा छिर्ने वित्तिकै तिमी पुरुषको काम पनि गछौँ भनेर सोच्ने गर्छन् । त्यसैले चुनौती यो क्षेत्रमा धेरै छ । आफूले देखे र सोचे जसरी काम गरेर खान निकै कठिन छ ।

अबको योजना के छ ?
मलाई अब यही पार्लरलाई युनिसेक्स अनुसार खोल्न मन छ । म आफूलाई जहिले पनि सिक्ने विद्यार्थीको रुपमा हेर्छु मैले अझैँ धेरै सिक्न बाँकी छ आफुलाई समय अनुसार अपडेट गराउन बाँकी छ । त्यसैले अब म स्किनमा भन्दा पनि हेयर र कर्लरको काम धेरै गर्ने योजनामा छु ।

अन्त्यमा
ब्युटिसियन क्षेत्रमा भविष्य धेरै राम्रो छ । हामीमा काम गर्ने रुची पनि हुनुपर्छ । अरुले भनेको र कमाउने माध्यम भन्दा पनि मेहेनत गरेर लाग्नुपर्छ । हामीले सिप सिकेर मात्र हैन लामो समय अनुभव बटुलेर यो क्षेत्रमा लाग्यो भने अवश्य सफल हुन्छौँ । तर हामीलाई काम गर्न कसै न सकैको साथ र सहयोग भने चाहिन्छ नै । पछिल्लो समय प्रतिस्पर्धासँगै चुनौती धेरै थपिएको छ त्यसैले आफुलाई समय अनुसार अपडेट गराएर लाग्यौ भने भविष्य राम्रो बन्छ । सबै भन्दा ठूलो कुरा काममा प्यासन हुनुपर्छ ।