क्रियटिभ डिजाइन गर्न मनपर्छ

96

आजभोलि हामी घरमा हुने सानो पूजादेखि घुम्न जाँदा समेत डिजाइनर कपडाहरु लगाउँछौँ । आफ्नो चाहाना
अनुसार डिजाइनर ड्रेसहरु बन्ने भएपछि बुटिक अहिले सबैको रोजाई बनेको छ । करिब एक दशकदेखि पार्वती लामा पनि यही डिजाइनर क्षेत्रमा नै आवद्ध हुनुहुन्छ । उहाँले ६ वर्ष अगाडिदेखि ‘प्रशियन ब्लु फेसन स्टुडियो’ सञ्चालन गर्दै आउनु भएको छ । निजगड बारा जिल्लामा जन्मनु भएको उहाँ बाल्यकालदेखि नै क्रियटिभ स्वभावको हुनुहुन्थ्यो । उहाँले एसएलसीसम्मको पढाई निजगडमा नै पुरा गरेर काठमाडौं आउनु भएको थियो । २०७१ सालमा काठमाडौं निवासी हेमन्त पण्डितसँग उहाँको विवाह भयो । विवाहपछि उहाँ युरोप बेलजियम जानुभयो । तीन वर्षको विदेश बसाईपछि उहाँ नेपाल फर्कनुभयो ।

नेपाल फर्केपछि उहाँ इन्टिरियर डिजाइनर कित फेसन डिजाइनर गर्छु भनेर सोच बनाउनु भएको थियो । उहाँले नेपाल आएपछि नमुना कलेजमा भर्ना हुनुभयो । त्यहाँबाट नै उहाँले डिजाइनमा डिप्लोमा गर्नुभयो । परीक्षा हुनु अगाडि नै उहाँले कारखानाबाट डिजाइनिङ यात्रा सुरु गरिसक्नुभएको थियो । उहाँले पहिलो पटक अमेरिका बस्ने क्लाइन्टको लेहंगा र कुर्ताबाट आफ्नो करीयरको यात्रा भएको थियो ।

उक्त क्लाइन्टको मुहारमा देखिएको खुसीले उहाँलाई काम गर्न हौसला मिल्यो । त्यसपछि उहाँले आफ्नै ‘प्रशायन ब्लु फेसन स्टुडियो’ खोल्नुभयो । सुरुमा उहाँलाई आफ्नो विजनेश अगाडि बढाउन निकै कठिन भएको थियो । तर हिम्मत, धर्यता हौसलाले उहाँलाई सधैँ अगाडि बढ्न प्रेरित गरिरह्यो । सामान्य रुपमा बुटिकका ड्रेसहरु महंगो हुन्छ भनिन्छ
तर पार्वती भन्नुहुन्छ–‘ मानिसहरुको बुझाईमा मात्र बुटिकको ड्रेस महंगो लागेको हो । हाम्रोमा कम मूल्यमा गुणस्तरीय ड्रेसहरु बनाइन्छ । तर क्लाइन्टहरुको चाहाना अनुसार कपडाहरुको प्रयोग गर्ने हुँदा केही डिजाइनर ड्रेसहरु महंगो हुन्छ । त्यसमा ह्याण्ड वर्क, फेबरिकको प्रयोग हुन्छ र हाम्रो धेरै मेहेनत पनि हुन्छ ।’

पार्वतीको बुटिकमा एक पटक ड्रेस बनाउन आएका क्लाइन्टहरु फेरी पनि दोहोरिने गरेका छन् । किन भने उहाँले डिजाइन गरेको क्रियटिक ड्रेसलाई क्लाइन्टहरुले धेरै मन पराउने गरेका छन् । त्यसैले पार्वती भन्नु हुन्छ–‘क्लाइन्टको चाहाना र हाम्रो सोच मिल्यो भने मात्र क्रियटिभ डिजाइन बन्छ । मलाई हरेक ड्रेसमा केही नयाँ गर्न मन लाग्छ जसलाई क्लाईन्टहरुले धेरै मन पराउनु हुन्छ । पार्वतीको बुटिकमा अहिले १० जना काम गर्ने व्यक्तिहरु हुनुहुन्छ । अब उहाँ यस संख्यालाई बढाएर आफ्नो बुटिक विस्तार गर्ने उहाँको योजना रहेको छ । कुनै पनि क्षेत्रमा महिलाहरुले काम गर्दा कडा मेहेनत, धर्यता र लगनशील भएर लागे सफल हुने उहाँको विश्वास गरेको छ ।

उहाँ लाइन्स क्लबसँग सँगै सामाजिक कार्यक्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँले बनाएको ड्रेसले स्मार्ट फेस अफ लिटिल किड्स कार्यक्रममा ‘बेस्ट ड्रेस अफ २०२२’ अवार्ड जितेको थियो ।