अपेनको सम्मान कार्यक्रममा १८ जना उत्कृष्ट प्रिन्सिपलले हात पारे अवार्ड

114

काठमाडौँ । मन्टेश्वरि तथा प्रि स्कुलहरूको छाता सङ्गठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) ले आफ्ना सदस्यहरूलाई सम्मान गरेको छ । संस्थाले देव सुशील केडिया विश्व भारती स्कुल, जावलाखेल सँगको सहकार्यमा शुक्रवार सम्मान कार्यक्रम आयोजना गरेको हो ।

प्रि–स्कुल क्षेत्रमा विभिन्न माध्यमहरू बाट बालबालिकाको सर्वपक्षीय विकासमा योगदान गरेका अपेन सदस्यहरूलाई सम्मान गरिएको संस्थाले जनाएको छ । अपेनका केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहलको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मा प्रमुख अतिथिका रूपमा रहेका थिए। त्यस्तै कार्यक्रममा डिएभी स्कुलका अध्यक्ष, प्रधानाध्यापक सहित अन्य शिक्षक– शिक्षिका तथा विद्यार्थीहरू तथा अपेनका विभिन्न कमिटीमा रहेका पदाधिकारी, सदस्य तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो । त्यस्तै अपेनले विशेष सम्मान गरेका मन्टेश्वरी प्रि स्कुल क्षेत्रमा अतुलनीय योगदान गरेका विशिष्ट व्यक्तित्वहरू पनि कार्यक्रममा अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रमबारे प्रकाश पार्दै अपेनका केन्द्रीय महासचिव कृष्ण कुमार बोहराले अपेनले मन्टेश्वरी प्रि स्कुलको जग बलियो बनाउने काम गरेको बताए। अग्रजहरूको नाम लिँदै सदा स्मारणिय रहिरहने उल्लेख गरेका उनले आफूहरू अग्रजहरूले बनाएको बाटो फराकिलो पार्ने अभियानमा रहेको उल्लेख गरे। अब मण्टेश्वरी स्कुलहरूले ८ वर्ष सम्मका बालबालिका पढाउन पाउनुपर्ने माग अपेनले गर्दै आएको भन्दै उनले राज्यले आफूहरूको समस्यालाई समेत समेटेर नितिनिर्माण गर्नुपर्ने धारणा राखे। उनले हाल करिब ५०० मात्रै विद्यालय जोड्न सकिएको भए पनि निकट भविष्यमा देशभरका ७००० प्रि स्कुललाई अपेनमा आबद्ध गरिने बताए।

अपेनकी केन्द्रीय सचिव तथा सम्मान कार्यक्रम संयोजक सम्झना बस्नेतले अपेनले हरेक वर्ष गर्ने सम्मान कार्यक्रमको निरन्तरता स्वरूप कार्यक्रम आयोजना गरिएको बताइन् । उनले कार्यक्रम सफल बनाउन दिनरात मेहनत गरेर लागिपर्ने सबैलाई धन्यवाद दिइन् । साथै बस्नेतले सम्मानित सबै व्यक्तित्वको नाम घोषणा गर्दै छोटो परिचय प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा प्रि स्कुल क्षेत्रमा अनुकरणीय योगदान गरे बापत कृष्णकुमारी थापा मगर, कुन्ती राणा, डा. मिनाक्षी दाहाल, सोनु अमात्य, रेखा हमाल, अरुणा शेरचन र रेइनी डि वेटलाई उनीहरूले खेलेको अग्रणी भूमिकाका लागी विशेष सम्मान गरिएको थियो । त्यस्तै अपेनका सदस्य विद्यालयका प्रिन्सिपलहरू शर्मिला केसी, सम्झना ढकाल, सविता मानन्धर, रश्मि श्रेष्ठ जोशी, लक्ष्मी क्षेत्री, वन्दना अधिकारी, निशा प्रधान, रमा भेटवाल, हिरा नानी शाक्य र उर्मिला त्रिपाठीलाई पूर्व प्राथमिक शिक्षाको विकासमा योगदान गरेबापत सम्मान गरिएको थियो ।

कार्यक्रममा अक्स्फोर्ड प्रि स्कुल, नेस्ट मन्टेश्वरी हाउस, किड्जी सानेपा र डिएभी स्कुलका मन्टेश्वरी अध्ययन गर्ने बालबालिकाहरूले सुन्दर नृत्य पनि प्रस्तुत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि शर्माले देशभर मेहनत साथ बालबालिकाको क्षेत्रमा काम गरिरहेकाहरूलाई सम्मान गर्न पाउँदा आफूलाई गौरवको महसुस भएको बताए। साना बालबालिकाको प्रस्तुतिको खुलेर तारिफ गरेका उनले बालबालिकाको भविष्य निर्माणमा केन्द्रित अपेनलाई पनि धन्यवाद दिए।

देशको शैक्षिक क्षेत्रको आधार तयार गर्ने ठाउँ भएकाले पूर्व प्राथमिकलाई नेपाल सरकारले १ वर्ष भए पनि प्राथमिकतामा राखेको भन्दै उनले अब आउने शिक्षा ऐनमा प्रि स्कुलका समस्याहरू अटाउने प्रयास गर्ने प्रतिबद्धता जाहेर गरे । उनले सुन्दर कार्यक्रम आयोजना गरेर आमन्त्रण गरेकोमा अपेनलाई धन्यवाद दिँदै भोलिका दिनमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति बद्री दाहालले बालबालिकाको क्षेत्रमा महत्त्वपूर्ण काम गर्नेलाई सम्मान गर्न पाउँदा गौरवान्वित भएको बताए ।

केही समयमै अपेनले प्रि स्कुलका समस्याहरू सम्बन्धित निकायलाई बुझाउन नीतिगत छलफलको एउटा कार्यक्रम आयोजना गर्न लागिएको उल्लेख गरे । ८ वर्ष सम्मका बालबालिका पढाउन पाउनुपर्छ भन्ने अपनको स्पष्ट धारणा रहेको भन्दै उनले त्यसो गर्न सके मात्र हरेक हिसाबले प्रि स्कुलहरू सक्षम हुनसक्ने बताए । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम अन्त्य गरेका उनले आगामी दिनमा पनि उस्तै सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रमलाई अपेनकी केन्द्रीय सचिव तथा कार्यक्रम सञ्चालिका अनुराधा श्रेष्ठको कुशल र अर्थपूर्ण कार्यक्रम सञ्चालन शैलीले थप विशेष बनाएको थियो।