
जीवन एक यात्रा हो । यही यात्रालाई सहज बनाउन हामीलाई एउटा साथीको आवश्यकता पर्छ । त्यो साथी हाम्रो जीवनमा जीवनसाथीको रूपमा आउँछ र जीवन जिउन सिकाउँछ । त्यसैले त जीवनसाथीलाई अर्को नाममा सहयात्री भनिन्छ ।
जिन्दगी जिउने क्रममा हामीले दुःखसुखका पलहरूलाई अनुभवमात्रै गरेका हुँदैनौँ, त्यसलाई भोगेका पनि हुन्छौँ । अपरिचितबाट परिचित भएको यही सम्बन्ध÷सहयात्राले नै हामीलाई दु: खहरूसँग लड्ने साहस दिइरहेको हुन्छ । सहयात्रा दुई व्यक्तिको वैवाहिक यात्रा हो । यो यात्रालाई कति सुन्दर र सुमधुर बनाउने भन्ने कुरा दुई व्यक्तिको भावना र आत्मीय मिलनमा भर पर्छ । कुनै पनि सम्बन्ध दीर्घकालसम्म मजबुद हुनका लागि प्रेमको साथमा एकअर्कामा सम्मान पनि आवश्यक हुन्छ ।
यस्तै करिब ३४ वर्षदेखि बैवाहिक यात्रामा रमाइरहनु भएको एक जोडी हुनुहुन्छ साहित्यकार डा.नवराज लम्साल र सङ्गीता लम्साल । यो वर्ष लम्साल जोडीका लागि सार्वाधिक उपलब्धीको वर्ष रह्यो । यसै वर्ष डा.नवराजद्वारा लिखित ‘अग्नि’ महाकाव्यले मदनपुस्कार जितेको छ । २०४१ सालमा अरुणोदय पत्रिकामा पहिलोपटक ‘बन्दना’ शीर्षकको कविता प्रकाशित गरेदेखि हालसम्म नवराजका ‘कर्ण’, ‘धरा’ र ‘अग्नि’ ३ महाकाव्य, ‘पाइलैपिच्छे सगरमाथा’, ‘आगो छोपेर कतिन्जेल’, र ‘क्रमशः एक्लै एक्लै’ ३ कवितासङ्ग्रह र ‘धुनभित्र धुनबाहिर’ र ‘उडूँ उडूँ लाग्छ’ दुई गीतसङ्ग्रहसहित ८ पुस्तक प्रकाशित छन्, त्यसमध्ये अग्निले २०७८ सालको ‘मदन पुरस्कार’ जित्यो भने सुदूरपश्चिम साहित्य समाज, कैलाली, जनपुस्तकालय धनगढी, चितवन साहित्य परिषद्, चितवन तथा लालबन्दी नगर वाङ्मय परिषद्, सर्लाहीले २०७८को उत्कृष्ट पुस्तकका रूपमा ‘अग्नि’लाई पुरस्कृत गरे । एकै किताबले यसरी राष्ट्रियस्तरका ५ पुरस्कार पाएपछि नवराज जति खुसी छन् त्योभन्दा बढी खुसी सङ्गीताको आँखामा देखिन्छ । यो खुसीमा श्रीमतीको मूल्याङ्कन गर्दै डा.लम्साल भन्नुहुन्छ – ‘उनी नभएको भए यो सब सम्भव थिएन ।’ लम्साल जोडी यही फागुन २९ गते ३४ औँ विवाहोत्सव मनाउँदै हुनुहुन्छ ।
डा.नवराज लम्सालको जन्म २०२६ साल साउन ८ गते धादिङको ज्यामरुङमा भएको हो । बुबा टङ्कप्रसाद लम्साल र आमा हेमकुमारी लम्सालको उहाँ पहिलो सन्तान हुनुहुन्छ । नवराजलाई बाल्यकालदेखि नै पढाइमा निकै रुचि थियो । कविताहरू लेख्नुहुन्थ्यो । अभिभावक दिवसमा स्कुलमा भाषण गर्नुहुन्थ्यो । शान्त र मिलनसार स्वभावको उहाँ परिवार तथा छरछिमेकको आँखामा इमान्दार छोराको रुपमा पर्नुहुन्थ्यो । त्यतिबेला गाउँमा कक्षा सातभन्दा माथि पढाइ हुने स्कुल थिएन । उहाँले कि त पढाइ छोड्नुपर्दथ्यो कि त पढ्नको लागि गाउँ छोड्नुपर्दथ्यो । उहाँ पढ्नका लागि २०४० सालमा काठमाडौँ आउनु भयो ।बीचमा बुबाले विवाहको लागि कतै कुरा चलाइसक्नुएको रहेछ ।
उहाँलाई बिहे गर्ने मन त थिएन तर बुबाको बोलीलाई नकार्न र नाइँ भन्न सक्नुभएनछ।पहिल्यै तयारी थियो कि संयोग हो, उहाँ घर पुगेकै भोलिपल्ट सङ्गीता लम्सालको बुबा रामचन्द्र रिजाल नवराजको ठूलो बुबाको घरमा आउनुभएछ । नवराजलाई देखाउँदै ठूलो बुबाले भन्नुभयो – ‘केटा यही हो हजुरलाई कस्तो लाग्छ ?’ सङ्गीताको बुबाले हँसिलो अनुहारमा भन्नुभएछ–‘ ठूलो निधार भएको हँसिलो स्वभावको हुनुहुँदोरहेछ । यस्तो
मान्छे निकै लच्छिनका हुन्छन् । उहाँलाई मञ्जुर भए मैले छोरी दिने भएँ ।
मलाई घर सम्पति केही हेर्नुपर्दैन’ । सङ्गीता लम्सालको जन्म २०३१ साल चैतमा बुबा रामचन्द्र रिजाल र आमा सीता रिजालका कोखबाट धादिङको खनियाबासमा भएको हो । उहाँ परिवारकी कान्छी छोरी, निकै हक्की स्वभावकी । उमेरले सानै भए पनि उहाँको व्यवहार र बोली भने निकै जिम्मेवारीपूर्ण हुन्थे । बिहे गर्दिनँ भन्दाभन्दै पनि ९०÷९० वर्षका
हजुरबा हजुरआमाको आग्रहले उहाँले आठ कक्षा पढ्दै विवाह गर्न राजी हुनुप¥यो ।
टीकोटालोका लागि नवराज सङ्गीताको घर पुग्दा घरभरी मल बोक्ने खेताला थिए । उहाँ रूखको घाँस काट्न निस्कनुभएको थियो । घाँस काटेर आउँदा त घरमा नयाँनयाँ मान्छे आएका रहेछन् । उहाँले कुरा बुझिहाल्नुभयो, यिनीहरू बिहेकै लागि आएका हुन् । घाँसको भारी फुत्त आँगनीमा फालेर कतै नहेरी नजिकै रहेको काकाको घर छिर्नुभयो । उता, नवराजको भने आफ्नो हुनेवाला दुलही कस्ती होलिन् हेर्नपाए पनि हुने भन्ने उत्सुकताले शरीर त्यहाँ भए पनि आँखा र मन भने काकाको घरतिर नै गइरहेको थियो । त्यो दिन नवराज सङ्गीताको घरमा नै बस्नुभयो । सङ्गीता भने काकाको घरमै । भोलिपल्टसङ्गीता र नवराजलाई छुट्टाछुट्टै राखेर सङ्गीताको हजुरबुबा खिलनाथ रिजालले रातो टीका लगाइदिनुभयो ।
केही दिनपछि आफन्त साथीभाइको साथमा नवराज बेहुलो बनेर सङ्गीताको घरमा पुग्नु भयो । टीका लगाउन गएको दिन त उहाँहरूले एकअर्कालाई देख्न पाउनुभएको थिएन तर बिहेको दिन भने सङ्गीता र नवराज विवाहमण्डपमै मिल्ने साथीजस्तै हुनुभएछ । विवाहमण्डपमा हुने विभिन्न विधिहरूमा धेरै रमाइलो गर्दै मण्डपमा नै जिस्कने बोल्ने गर्नुभएछ । यसरी २०४५ साल फागुन २९ गते उहाँहरु वैवाहिक जीवनमा बाँधिनुभयो ।
हामीसँग कुराकानी चल्दै गर्दा पुरानो दिन सम्झेर सङ्गीताले भन्नुभयो – ‘बिहे मण्डपमै के के भनेर उहाँले मलाई जिस्क्याइरहनुभएको थियो ।’ गाउँठाउँमा नातागोता आफन्तले दुलहीको लुगा, गहना, कपडा हेरेर यस्तोउस्तो भन्ने चलन थियो । धेरै तिर जन्ती जाँदा कपडा, गहना यस्तोउस्तो भनेर गुनासो गरेको नवराजले सुन्नु भएको थियो । तर अचम्म सङ्गीता निकै फरक देखिनुभयो । त्यहाँ आउने र कपडा हेर्न खोज्नेलाई उहाँले भन्नुभएछ – ‘आज लगाएको कपडाले जिन्दगीभरलाई पुग्ने हैन । त्यसैले जे जस्तो छ, म त्यसैमा खुसी छु । कसैले मेरो गहना कपडा हेर्नु पनि पर्दैन, बोल्नु पनि पर्दैन । जाओ ।’सङ्गीताको यो बोलीले नवराजको मन जित्यो । सङ्गीताप्रति झन् धेरै माया पलायो, विश्वासको गहिरो माया । बिहेपछि नवराज काठमाडौँ आउनुभयो । सङ्गीता भने घर र माइतीको बीचमा पर्ने अचने मा.वि. खहरेमा पढ्न थाल्नुभयो । २०४८ साल माघमा एस.एल.सी. दिएर त्यही वर्ष चैतमा छोरी आरती लम्सालको आमा बन्नुभयो । पढाउनका लागि नवराजले छोरीलाई काठमाडौँ ल्याउनुभयो । आमालाई गाउँमै छोडेर छोरीलाई काठमाडौँ ल्याउनु नवराजको लागि निकै चुनौती थियो । रेडियो नेपालको जागिर, रातीको ड्युटी, एघार बजे ड्युटी सकेर घर पुग्दा छोरी एक्लै निदाइरहेकी हुन्थिन् । खाना बनायो, छोरीलाई उठायो, एक गाँस आफू खाँदै अर्को गाँस छोरीलाई खुवाउँदै, बाउछोरीले सँगै खायो, सुत्यो । बिहान उठेर छोरीलाई सरसफाइ खानपिन गराएर स्कूल पु¥याउनुहुन्थ्यो । हरदिन छोरीलाई कोठामा राखेर आची,सु आए यता गर, होमवर्क गर, भोक लाग्यो भने यो खाऊ भनेर बाहिरबाट ताल्चा मारेर हिँड्नुहुन्थ्यो । छोरी पनि आज्ञाकारी र ज्ञानी, भने अनुसार गर्ने । यसरी नवराजले समयसँगै जिन्दगीलाई अगाडि बढाइरहनु भयो ।
२०५२ सालमा छोरा आयुष लम्सालको जन्म भयो । छोरालाई पढाउने समय भएपछि बल्ल सङ्गीता पनि काठमाडौँ आउनुभयो । छोराछोरीलाई नै टेकुमा रहेको लक्ष्मी शिक्षासदन स्कूलमा भर्ना गर्नुभएको थियो । सङ्गीताले पनि करिब १० वर्ष त्यही स्कूलमा पढाउनुभयो । त्यसको बीचमा ढाड दुख्ने समस्याले गर्दा सङ्गीता लामो समय विरामी पर्नुभयो । नेपालमा भएजति अधिकांश अस्पताल र डाक्टर धाउँदा पनि निको भएन । अब निको हुँदैन कि भन्ने सोचमा पुग्नेअवस्था पनि आयो तर भगवानको कृपा निकै कष्टकर जीवन भोगेपछि सङ्गीता निको हुनुभयो । अहिले सङ्गीता घरमै बस्नुहुन्छ । नवराजको रेडियोयात्रा र साहित्ययात्रा चलिरहेकै छ । छोराछोरी पनि हुर्केर आफ्नो खुट्टामा उभिनुभएको छ । उहाँहरूको साथमा ७ वर्षकी नातिनी आयरा हुनुहुन्छ । नातिनीसँग रमाउँदैरमाउँदै उहाँहरुको जीवन बितिरहेको छ । विवाह गरेको ३४ वर्ष भइसकेको छ तर पनि एकअर्कामा माया अनि विश्वास अटूट छ । नवराजको साहित्यमा जति सरलता भेटिन्छ् सङ्गीता र नवराजको जीवन पनि उत्तिकै सरल छ । जीवनमा विभिन्न उतारचडाब न आएको हैन । मानिसहरूले एकअर्कालाई नचाहिने कुरा लगाएर छुटाउन मरिहत्ते गरेर नलागेका पनि हैनन् तर पनि सङ्गीताले कहिले पनि आफ्नो कानले सुनेको र आफ्नै आँखाले देखेको बाहेक केही कुरामा विश्वास गर्नुभएन ।
सङ्गीता भन्नुहुन्छ– ‘एक नारीले आफ्नो जन्मदिने आमा बुबालाई छोडेर एक पुरुषलाई विश्वास गरेर आएकी हुन्छे, त्यही पुरुषमा विश्वास भएन भने सम्बन्ध कसरी बलियो हुन्छ ? त्यसैले म आफैँले न देखे र नसुनेसम्म उहाँको बारेमा म मेरै छोराछोरीको कुरालाई पनि विश्वास गर्दिनँ ।’श्रीमान् श्रीमतीभन्दा पनि मिल्ने साथीको जस्तै छ सङ्गीता र नवराजको सम्बन्ध । नवराज सङ्गीतासँग हरेक कुरा बताउनुहुन्छ । दिनभरी कामले थाकेर आए पनि साँझ भान्सामा बसेर नवराजले सङ्गीतालाई दिनभरिका रमाइला घटना सुनाउनुहुन्छ । त्यसैले नवराज भन्नु हुन्छ– ‘जीवन असलत्यतिबेला हुन्छ, जतिबेला एक अर्कामा खुलस्त हुन्छौं ।’ सङ्गीताले भन्नु भयो – ‘मलाई मेरो श्रीमान्ले न खाने कुरामा, न लाउने कुरामा, न कुनै सामाजिक गतिविधिमा त न मेरा कुनै निर्णयमा, केहीमा पनि अवरोध गर्नुभएको छैन । कसैले केही नराम्रो कुरा सुनायो भने तिम्रो बारेमा फलानोले यसो भन्दै थियो, होशियार हुनु भन्नुहुन्छ । उहाँ आफ्नो कमाइ, आयआम्दानी दुःखसुख सबै कुरा खुलस्त भन्नुहुन्छ । नजानेरै पनि मैले कुनै गल्ती गरेँ भने लाटी यस्तो पनि गर्दछन् त ? भनेर सम्झाउनुहुन्छ तर कहिल्यै रिसाउनुहुन्न । कुनै कारण उहाँ रिसाउनुभयो भने म चूप बस्छु, एकछिनमा बूढी भन्दै आउनुहुन्छ ।’बढ्दो उमेरसँगै माया र विश्वास अझै प्रगाढ बनिरहेको छ । यसको एक मात्र कारण हो आपसी प्रेम र सम्मान । जुन सम्बन्धमाविश्वास र सम्मान हुन्न त्यो सम्बन्धमा खुसी पनि हुँदैन भन्ने नवराजको भनाइ छ । त्यसैले नवराज भन्नु हुन्छ– ‘घरमा आउँदा श्रीमतीको उज्यालो अनुहार देख्न पाइएन भने संसारैजिते पनि के अर्थ ?’सादा जीवन उच्च विचार भएका नवराज र सङ्गीताको वैवाहिक जीवन आज पनि नवजोडीकै जस्तो छ । गीत र कवितामा रमाउने एउटा भावुक कविको जिन्दगी, जति बेला मुड चल्छ, घुम्न निस्कनु हुन्छ । कहिले घरमा थालभरि खाजा राखेर फिल्म हेुर्नुहुन्छ त कहिले झोलाभरि खानेकुरा लिएर टाढा कतै जङ्गलको छेउतिर पुग्नुहुन्छ, दिन यसरी नै बिताउनुहुन्छ । काठमाडौँभित्र र बाहिरका कतिपय राम्रा साहित्यिक कार्यक्रमहरूमा यो जोडी सँगै गएको देखिन्छ । एउटा श्रीमान्ले श्रीमतीलाई गर्ने सार्वजनिक इज्जत हो यो । घरपरिवारमा कहिलेकाहीँ समान्य झगडा त हुन्छ तर त्यसले गम्भीर रूप कहिल्यै लिँदैन ।
आपसी माया, विश्वास र सम्मानले गर्दा झगडाले ठूलो रूप लिनु अगाडि नै सामान्य हुन्छ तर सङ्गीताको एउटा गुनासो रहेछ – ‘खाना बनाउन अल्छी । मसँगै भए सँगै पकाउने, पाक्दापाक्दै खाने, यसोउसो गर्ने गर्नुहुन्छ तर म कतै गएँ भने पकाएर नखाने । एकरात बस्ने गरी माइती जाँदा पनि यो मान्छे भोकै छ कि भन्ने पीर लाग्छ ।’ नवराज र सङ्गीतामा ठूलो महत्वाकाङ्क्षा छैन, जे छ त्यसैमा रमाउने उहाँहरुको बानी छ । सबैभन्दा ठूलो कुरा आपसमा विश्वास, माया, सम्मान र सन्तुष्टि छ, जसले वैवाहिक जीवनलाई सुमधुर बनाएको छ । त्यही मधुरताले सिर्जना दिएको छ, सिर्जनाले महाकाव्य र महाकाव्यले मदन पुरस्कार । कुराकानी सकेर छुट्ने बेला सोध्यौँ – मदन पुरस्कारको ४ लाख के गर्नुभयो ? नवराज लम्सालले भन्नुभयो – ‘बूढी, यो सबै उपलब्धी तिम्रै साथ र सहयोगले हो । मैले पूरा गर्न नसकेका तिम्रा कति रहरहरू होलान् । यो ४ लाख आफूखुसी मन लागेको ठाउँमा
खर्च गर भनेर जस्ताको तस्तै बूढीलाई दिएँ ।’
प्रस्तुती : विष्णु माया बास्कोटा
