भोगाईलाई कर्तव्यको रुपमा लिनुपर्छ

17

जीवन एक यात्रा हो । वास्तवमा विभिन्न आरोह अबरोहबीचको मिलन नै जीवन हो । झुसिल्किराले आफू प्युपाबाट पुतली बन्ने प्रक्रियामा सोंच्छ मेरो जीवन सकिन लाग्यो यत्ति नै हो तर त्यो अन्तिममा एउटा सुन्दर पुतली बनेर निस्कन्छ, त्यही हो जीवन, जसको परिभाषा भोगाईमा हुन्छ । आकांक्षाको सीमारेखा नभएको एक चेतनशील र गतिशिल नदि जस्तै हो जीवन । नेपालीमा एउटा उखान छ, मुलाको डोब मुलाले नै खन्छ, जीवन त्यही बीचको हाँसो, रोदनको संयोग हो । मौसम जस्तै कहिले सुख त कहिले दुःख । जीवन यही हो भनेर परिभाषित गर्न पक्कै पनि मुस्किल छ । हरेक व्यक्तिको आ–आफ्नै कथा हुन्छ विशेषता हुन्छ । जीवन काँडै काँडाबीचको एक गुलाब जस्तो हो, जो काँडाबीच पनि मुस्कुराउने चेष्टा गर्छ ।

जीवन जिउने क्रममा भोगेका दुःख, सुख, हाँसो, आँसु, मिलन र विछोडको संगमको बीचमा प्रत्येक व्यक्तिलाई बाँच्न सिकाइरहेको हुन्छ । मानिसहरुको जीवन भोगाई, विचार र सोचमा भर पर्छ । मानिसहरुले आफ्नो जीवन कसरी जिउने भन्ने कुराको निर्णय उनीहरुको सोच, आचरण र संस्कारमा भर पर्छ । त्यसैले हामीले हाम्रो जीवनलाई सकारात्मक र सफल बनाउनका लागि हरेक मोडहरुमा हिम्मतको साथ अगाडि बढ्नुपर्छ ।

नेपाली राजनीतिक आन्दोलन र विद्यार्थी आन्दोलनमा अग्र पङ्तिमा बसेर समाज र देशको विकास र सकारात्मक परिवर्तनको लागि हरेक पल प्रयासरत एक महिला हुन् सुजिता शाक्य । २०२२ सालमा उहाँको जन्म धरान, चतरालाईनमा भए पनि शंखुवासभाको चैनपुर बुद्धचोकमा हुर्की, बढेको हो । बुबा ज्योतिमान शाक्य र आमा कृष्णमाया शाक्यको पाँच छोरी र दुई छोरामा सुजिता कान्छी सन्तान हुनुहुन्छ । दुर्गम बस्ती विकट परिवेशमा सुजितालाई आमाले ४५ वर्षको उमेरमा जन्माउनु भएको हो । त्यो समयको स्मरण गर्दै सुजिता भन्नु हुन्छ –‘सामान्यता एक महिलाको महिनावारी रोकिने समयमा मेरी आमाले मलाई जन्म दिनु भएको हो । त्यो बेलामा आमाले भन्नु हुन्थ्यो रे ‘यो छोरीले हिंडेको
पनि देख्न पाउँछु कि पाउँदिन होला ।’

सुजिता बाल्यकालमा निकै शान्त र लजालु स्वभावको हुनुहुन्थ्यो । उहाँलाई सानैदेखि पढाईमा पनि धेरै रुची थियो । आमासँग खेत बारीमा अरु खेतालाहरु संगसंगै कहिले घाँस काट्ने कहिले मकै छर्ने, गोड्ने, कोदोको बिउ गोड्ने र रोप्ने लगायत गाउँघर, मन्दिर, बौद्ध विहार, बन जंगल जान रमाउँथे । उहाँको परिवार बौद्ध धर्म र संस्कारमा धेरै आस्था राख्ने हुनाले आमा कसैको दुःख देख्न नसक्ने सकेसम्म र भएसम्म समस्या परेकालाई सहयोग गर्ने, गरिव, दुःखी र असहायहरुलाई माया गर्नुहुन्थ्यो । त्यतिबेलाको समाजमा व्याप्त जातिय छुवाछुतका सम्बन्धमा समेत अरुको तुलनामा धेरै लचिलो हुनुहुन्थ्यो । आमा कृष्णमाया अत्यन्तै परिश्रमी हुनुहुन्थ्यो । काम गर्न थालेपछि थकाई भन्ने कहिल्यै थाहा पाउनुहुन्नथ्यो । चाडबाडमा साथै अष्टमी, पूर्णिमा र औंसीमा बुद्धचोकमा बजारभरीका छिमेकी दाजुभाई दिदीबैनीहरु सबैलाई सहभागी हुन निम्ता दिनुहुन्थ्यो । बुद्ध पुजा पञ्चशिलसहित धर्मदेशना हुन्थ्यो । त्यस्तै बुबा निडर स्वभावको, अन्यायमा परेका व्यक्तिहरुको पक्षमा बोल्ने, छलकपट नगर्ने र अन्धविश्वास नमान्ने, कुनै पनि काम स्वच्छ ढंगले गर्नुपर्छ भन्ने गर्नुहुन्थ्यो । सुजिताको बुबाआमाले उहाँलाई सधैँ सत्यको बाटोमा हिड्न प्रेरणा दिनुहुन्थ्यो ।

परिवारले दिएको संस्कार अनुसार नै उहाँको जीवन अगाडी बढ्यो । समाजप्रतिको आफ्नो दायित्वलाई सानैदेखि बोध गर्नुहुन्थ्यो । आमासंगै विहारमा जाने क्रममा जीवनमा शान्तिप्रतिको महत्व, विभिन्न बौद्धकालिन कथाहरु सुनेर दुःख सुखको बारेमा पनि धेरै कुराहरु शान्त भएर सुन्ने र मनन् गर्दै समाजमा शान्तिको लागि केही गर्नुपर्छ भन्ने भावना मनमा जागृत भैरहेको थियो । त्यसै समयमा २०३६ सालको विद्यार्थी आन्दोलनसंगै साईँली दिदी मिना शाक्य काठमाण्डौबाट चैनपुर आउँदा बौद्ध मासिक पत्रिका आनान्दभूमी, धर्मकिर्तिको संगसंगै त्यतिबेला प्रकाशित प्रगतिशिल पुस्तकहरु संकल्प, झिसमिसे, बेदना, रसियन पुस्तकहरु लिएर जानुहुन्थ्यो । ती सबै पुस्तकहरुका साथै अन्य विविधि खाले पुस्तिकाहरु पढ्न जिज्ञासु स्वभावको हुनुहुन्थ्यो । त्यसले गर्दा उहाँमा समाजमा असमानता र विभेद रहेछ शान्तिले मात्र हुँदैन रहेछ समाजलाई परिवर्तन गर्न क्रान्ति गर्नुपर्छ भन्ने चेतनाको विकास भएको थियो । धेरै नबोले पनि धेरै सुन्ने, बुझ्ने र आत्मसात गर्ने स्वभावको कारणले उहाँमा सानैदेखि समाजसेवी बन्ने ईच्छा जागृत भएको थियो ।

सुजिता पढाईमा पनि राम्रो हुनुहुन्थ्यो । कक्षामा उहाँ शिक्षक शिक्षिकाको प्रिय विद्यार्थी हुनुहुन्थ्यो । उहाँको नाम जेहेन्दार र अनुसाशित विद्यार्थीको सूचीमा आउँथ्यो । उहाँले चैनपुर कै सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी उर्तिण गर्नुभयो । त्यसपछि उहाँ पढाईको लागि २०३९ सालमा काठमाडौं आउनुभयो । त्यतिबेलाको विभिन्न राजीतिक आन्दोलनको कारण समयमै पढाई सुरु भएन । बि.सं. २०४० सालमा मात्र पढाई सुरु भयो । उहाँले काठमाडौंको अमृतसाइन्स कलेजबाट अध्ययन सुरु गर्नुभयो । चैनपुरबाट काठमाडौंमा आएर त्यहाँको वातावरणमा भिज्न उहाँलाई केही समय त लाग्यो नै तर साईली र काँईली दिदी साथै कान्छो दाई पनि काठमाडौंमा नै हुनुभएकोले पढाईकै लागि त्यति धेरै संघर्ष भने गर्नुपरेन । उहाँ अमृत साइन्स कलेजमा पढ्ने क्रममा नै अनेरास्ववियु प्रारम्भिक कमिटीको सदस्यबाट राजनीतिक आन्दोलनमा जोडिनु भएको हो । उहाँले विद्यार्थी जीवन सुरु गर्दा देशमा राजनीतिक आन्दोलनहरु चर्किरहेको थियो । उहाँले आफ्नो जीवनको भोगाईका धेरै समय विद्यार्थी आन्दोलन, केही समय मजदुर आन्दोलन, लामो समय महिला आन्दोलन र राजनीतिक आन्दोलनमा नै व्यतित गर्नुभयो । पञ्चायत कालमा २०३९ सालमा काठमाडौ ं आउनेवित्तिकै प्रगतिशिल सांस्कृतिक कार्यक्रममा भाग लिने क्रममा सांस्कृतिक र सांगीतिक फाँटहरुबाट पनि उहाँले जीवन र समाजलाई बुझ्ने वा विभिध कलाहरु सिक्ने अवसर पनि पाउनुभयो ।

उहाँले साइन्ससँगै नर्सिङ कलेज महाराजगञ्जबाट नर्सिङ पनि गर्नुभयो । महाबौद्धबाट महाराजगञ्जमा नयाँ कलेज बनेपछिको दोश्रो व्याजमा अध्ययन गर्ने सुजिताको पुस्ता दोस्रो थियो । त्यहाँ पढ्ने क्रममा अनुशाशित कुशल नेतृत्व अनेरास्ववियूको अगुवा नेताको कारणले गर्दा पहिलोपटक क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको कोषाध्यक्षमा र दोश्रो पटक २०४३ सालमा स्ववियू सभापतिको रुपमा निर्वाचित भएर धेरै रचनात्मक कार्यक्रमहरु गर्नुको साथै नर्सिङ कलेजमा विद्यार्थीहरुको हक हितमा आवाज उठाउनुको साथै सद्भावपूर्ण वातावरण
सृजना गर्ने काम सुजिताले गर्नृभएको थियो । अनेरास्ववियूको राष्ट्रिय परिषद सदस्यमा रहेर २०४६ सालको राजनीतिक आन्दोलनमा अन्य धेरै विद्यार्थी नेताहरुसंगै सुजिता अग्रपङ्तिमा हुनुहुन्थ्यो । त्यसपछि २०४७ सालमा अखिल नेपाल महिला संघको सम्मेलनबाट सचिवमा निर्वाचित भएर काम गर्न थाल्नुभयो र त्यसै क्रममा तत्कालिन नेकपा(माले) र नेकपा(माक्र्सवादी)को एकताबाट बनेको नेकपा(एमाले) को जिल्ला कमिटीमा सदस्य हुनुभयो । ४० वर्षको राजनीतिक यात्रामा विद्यार्थी, मजदुर साथै प्रवासी नेपालीलाई संगठित गर्ने कामसंगै महिला
हक अधिकार प्राप्तीको आन्दोलनमा नै सबैभन्दा लामो समय काम गर्नुभयो । तत्कालिन समयमा महिला हितको लागि हरेक ठाउँमा पुगेर आवाज उठाएर विद्यार्थी र राजनीतिक जीवनमा अगाडि बढ्न त्यति सहज थिएन । आन्दोलनको अग्रपङ्तिमा बसेर काम गर्दा कुनै पनि बेला ज्यानको जोखिमसँगै पक्राउ पर्ने सम्भावना रहन्थ्यो तर पनि उहाँले कहिल्यै
पछि हट्नु भएन । आन्दोलनको क्रममा पटक पटक पक्राउ पनि पर्नुभयो ।

तर उहाँमा ज्यादै असहज परिस्थितिमा पनि संयमता र धैर्यताका साथ समस्यालाई सामना गर्ने सामथ्र्य र आँट थियो । साथै राजनीतिमा लाग्दा देश र जनताको हक अधिकारको लागि संघर्ष अपरिहार्य हो भन्ने बुझाई र सङ्कल्पको कारणले उहाँले हरेक दुःख र सुखलाई जीवनको कर्तव्यको रुपमा अगाडि बढाउँदै जानुभयो । २०५४ साल असार २५ गते शंकर पोखरेलसँग उहाँको विवाह भयो । सुजिता र शंकर त्यतिबेला स्ववियू काउन्सिलमा एकसाथ थिए । उहाँहरुको भिजन एक अर्कामा मेल खान्थ्यो । साथीभाईहरुले आन्दोलनको हित र आगामी दिनहरुमा पनि राजनीतिक पाटोमा सहजता हुने भन्दै विवाहको लागि प्रस्ताव गरेका थिए । अन्तरजातीय विवाह समाजको रीतिरिवाज विपरित थियो । विवाहको प्रस्ताव सुजिताको घरमा सहज रुपमा स्वीकार्य पनि शंकरलाई भने परिवारलाई मनाउन केही समय लागेको थियो । करिब कुरा चलेको २ वर्षपछि मात्र सुजिता र शंकरको प्रगतिशिल विवाह भएको हो । विवाह भएको समयमा शंकर प्रतिनिधि सभाको सदस्य हुनुहुन्थ्यो । विवाहपछि पनि सुजिताले राजनीतिलाई सकृय रुपमा निरन्तरता दिनुभयो । दुबैजना राजनीतिमा हुँदा व्यवहारिक रुपमा समस्या भए पनि घरपरिवारबाट भएको सकारात्मक सहयोगका कारण केही सहज भयो । तर काठमाडौंको डेराको बसाई र महङ्गीले सबैलाई गाँजेकै हुन्थ्यो । सुजिता र शंकरले जीवनमा आइपरेका हरेक समस्या र पलहरुलाई सँगै समझदारीपूर्वक सम्हाल्नुभयो । त्यसमा परिवारले गरेको माया विश्वास र सहयोगको कारण विवाहपछि पनि राजनीतिक र सामाजिक काममा सुजिताको निरन्तरता रह्यो । दुई सन्तान अंकिता र आकृति पोखरेलको आमा बन्दा पनि सुजिताले आफ्नो राजनीतिक जीवनबाट आफूलाई टाढा राख्नुभएन । पहिलो सन्तान जन्मेपछि ५–६ महिनासम्म काम नरहँदा पनि धेरै कुरा छुटिसक्यो कि जस्तो लाग्ने र अव कसरी निरन्तरता दिने, पहिलेजस्तै काम गर्न सकिएला कि नसकिएला भन्ने उहाँको मनमा लाग्दथ्यो । तर त्यो अफ्ट्यारो क्षणपछि काममा फर्केपछि पनि सहजै भयो । सुजिताको लागि शंकर एक असल श्रीमान र जीवनसाथी बन्नुभयो । सुजिताले चालेको हरेक कदममा सहयोग र प्रेरणा दिनुहुन्थ्यो । प्राय कुनै पनि काममा रोकतोक गर्नुहुन्नथ्यो । उच्च बैचारिक चेत, अनुशाषित, सरल र मितव्ययी व्यवहारले गर्दा सुजितालाई हरेक ठाउँमा क्रियाशिल र परिणाममुखी भएर काम गर्न सहज भयो । सुजिता एक राजनीतिज्ञ मात्र नभएर एक समाजसेवी पनि हुनुहुन्छ । समाजमा उहाँले धेरै उदाहरणीय कामहरु गर्नुभएको छ । विशेषगरी महिला आन्दोलन, मजदुर आन्दोलन र विद्यार्थी आन्दोलनले उहाँको जीवनलाई अझैँ राम्रोसँग बुझाएको छ ।

उहाँले जीवनको हरेक भोगाईलाई कर्तव्यको रुपमा लिनुहुन्छ । त्यसैले त हरेक भोगाईमा नयाँपन र परिवर्तन जोडिएको छ । संघर्षमय यस जीवनमा विगतबाट उहाँले पछुताउने काम केही पनि नगरेकोमा गर्व गर्नुहुन्छ । २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभाको सदस्य हुँदा अन्र्तराष्ट्रिय सम्बन्ध समितिमा रही काम गर्ने क्रममा उहाँले विश्व सम्पदा सूचिकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिको संयोजक रही काम गर्नुभयो, अन्तर्राष्ट्रिय स्तरको विभिन्न क्षेत्रमा रही योगदान गर्ने क्रममा हाल Global Council of Global Alliance for Tax Justice (GATJ),०, को सदस्य हुनुहुन्छ ।
नेकपा (एमाले)को पोलिटब्युरो सदस्य, उपत्यका विशेष प्रदेश कमिटी
इन्चार्जको जिम्मेवारीमा रहेर काम गरिरहनुभएको छ ।