साहित्यकार ढुङ्गेल, श्रेष्ठ र भट्टराई सम्मानित

25

काठमाडौं । नेपाली तथा संस्कृत साहित्यमा कलम चलाउँदै आएका तीन जना साहित्यकारलाई सम्मान गरिएको छ।

काठमाडौंको धापासीमा आयोजित एक कार्यक्रमबीच साहित्यकारहरू प्रा.डा. पूर्णचन्द्र ढुङ्गेल, प्रा.डा. दयाराम श्रेष्ठ र प्रा.प्रभा भट्टराईलाई सम्मानित गरिएको हो। पं. काँशिनाथ उपाध्याय हरिप्रिया वाङ्मय प्रतिष्ठान, धरानले तीनै जनालाई सम्मान गरेको हो।

त्यस्तै, प्रतिष्ठानले सिन्धुलीको कुशेश्वर संस्कृत विद्यालयलाई पनि सम्मान गरेको छ। यससँगै धरानस्थित पिण्डेश्वर विद्यापीठमा अध्ययनरत दुई विद्यार्थीलाई पुरस्कृत गरिएको छ।

२०६७ सालमा स्थापित प्रतिष्ठानले हरेक वर्ष कार्यक्रम आयोजना गरेर सम्मान तथा पुरस्कृत गर्दै आएको अध्यक्ष प्रा. नारायणप्रसाद शर्मा कट्टेलले बताए। कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोख्रेलले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए।

कार्यक्रममा प्रा. नारायणप्रसाद शर्मा कट्टेलद्वारा लिखित जीवन तरङ्ग काव्यको लोकार्पण गरिएको छ। कार्यक्रममा प्रा.डा. माधवप्रसाद पोख्रेल, डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ठ पत्रकार एवं भाषाविद् शरच्चन्द्र वस्ती लगायतले पुस्तकमाथि चर्चा गरेका थिए।