बुहारी होइन छोरा हुँ

608

भनिन्छ, समाजमा परिवर्तन गर्न पहिले आफुमा परिवर्तन ल्याउनुपर्छ । आफुमा परिवर्तन तब आउँछ, जब हामी शिक्षित हुन्छौँ ,अनि हाम्रो बिचार ,सोच,उद्देश्य र संकल्प पनि नयाँ हुन्छ । त्यस्तै एक नारी हुन सरिता साउद । जहाँ सुर्य अस्ताउन मात्रै आउने भू–भाग क्षेत्र अर्थात त्यो प्रदेश हो सुदूरपश्चिम प्रदेश ! जहाँ अभाव गरिबी, अशिक्षा बेरोजगारी तमामौ तमाम समस्या छन ! ती सबै समस्या संगै महिलाका समस्या त झनै अथाह छन् । महिला छाउपडी हुँदा होस या सुत्केरी हुँदा होस पोषिलो खानेकुरा बाट बञ्चित भएको समाजमा एकल महिलालाई संघर्ष गर्न कति कठिन होला त्यो कुरा सहजै अनुमान लगाउन सकिन्छ । सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका वडान.३ बोराडाँडीमा जन्मनु भएको सरिता साउद त्यही समाज परिवर्तनको लागि नयाँ सोचका साथ अग्रसर एक ‘एकल महिला’ हुनुहुन्छ ।

बुबा लाल बहादुर साउद र कर्मदिने आमा कलादेवी साउदको सरिता प्रिय छोरी हुनुहुन्छ । बाल्यकालमा नै जन्मदिने आमा कुमारीदेवि साउदको निधन भएपछि उहाँलाई कर्मदिने आमाले नै आफ्नो जन्मदिने आमाको आभास दिलाउनु भयो । बाल्यकालमा आमाबाट पाउने माया, स्नेह, स्याहार सबै कर्मदिने आमाबाट पाउनु भयो । संयुक्त परिवारमा जन्मनु भएकी सरिता बाल्यकालमा निकै चञ्चले र कमेडियन स्वभावको हुनुहुन्थ्यो । बाल्यकाल सुख सयलमा बिताउनु भएकी सरितालाई अभाव भन्ने शब्द कुनै ठाउँमा पनि आएन । घर नजिकै बजार र स्कूल थियो । पढाइ संगै विद्यालयमा अतिरिक्त क्रियाकलापमा उहाँले सहभागीता जनाउनु हुन्थ्यो । अन्य क्षेत्र भन्दा बढी उहाँले विशेष गरि सफलता खेलकुदमा पाउनुहुन्थ्यो । सफलताबाट प्राप्त हुने पुरस्कार जीवनको संघर्ष गर्न सिकाउने माध्यम बनेको हो । सरिताको सफलतामा रमाउने उहाँका बुवा लालबहादुर साउद कयौँ पटक छोरी प्रथम भएको पुरस्कार ग्रहण गर्न आफैँ पनि पुग्नुहुन्थ्यो । साउद किसानी परिवारको हुनुहुन्थ्यो । संयुक्त परिवारको वातावरणमा केही असहजता त पक्का थियो तर त्यस असहजतालाई परिवारले उहाँलाई कहिले महसुस गर्न दिनुभएन । उहाँका बुवा लालबहादुर साउदले छोरी पनि छोरा सरह नै हुन भन्ने मान्यता बोक्नु भएको थियो । दुई छोरी पछि लालबहादुरका अरु सन्तान छैनन् त्यसैले पनि छोरीलाई छोरा सरह पढाउन लेखाउनु पर्छ ! छोरालाई बोर्डिब अनि छोरीलाई सामुदायिक विद्यालय पढाउनु हुन्न भनेर आफुलाई बोर्डिब स्कुल पढाउदा सरिता आफू कहिल्यै छोरीको अनुभव नभई छोरा भएको अनुभव बताउनु हुन्छ । बुवाले छोरा र छोरीमा कुनै भेदभाव नगरी हामी दुई वटा बहिनीलाई सधैं छोराको दर्जा दिनु भयो र बोर्डिङ्ग स्कूल पढाउनुभयो । दुबै छोरीहरूले पनि आफू छोरी नभई छोरा भएको महसुस बुवालाई गराएको र गराईरहने सरिता बताउनुहुन्छ । सरिता पढाईमा पनि राम्रो हुनुहुन्थ्यो । उहाँले २०६० सालमा मोर्डन स्कूल धनगढीबाट एसएलसी पास गर्नुभयो । त्यस लगतै धनगढीकै सुदूरपश्चिम कलेजबाट प्लस टु र ब्याचलर सक्नुभयो ।

ब्याचलर दोस्रो वर्षमा अध्ययनको क्रममा जीवनले नयाँ मोड लियो । घरमा विवाहको कुरा आयो, डडेल्धुरा घर भएका नरेश बहादुर खडायतसँग सरिताको मागि विवाह भयो । राजनीतिक वातावरणमा हुर्केका नरेशसँग माग्न आएको एक हप्तामा सबै कुरा जुरेपछि २०६४ साल फागुन १० गते सरिता र नरेश बैवाहिक बन्धनमा बाधिनुभयो । विवाहपछि सरिताले क्रमशः एक श्रीमती, एक बुहारी र आमाको भूमिका निभाउनुभयो । विवाहपछि श्रीमान कामको शिलशिलामा बाहिर हिडिरहनु परे पनि उहाँले आफ्नो पूर्ण समय परिवारलाई दिनुभयो । छोरा मिसन खडायत र छोरी एलिसा खडायतलाई दुई सन्तान ईश्वरको बरदान मान्दै हुर्काउनुभयो । त्यस क्रममा कैलाली बहुमुखी क्याम्पसबाट ।।।समाजशास्त्र’ र राष्ट्रिय मा.वि सुख्खडबाट ।।।ग्रामिण विकास’ मा डबल मास्टर डिग्री गर्नुभयो । जीवनमा श्रीमान श्रीमती एक रथका दुई पाबग्रा हुन भन्ने चरितार्थ सरिताको जीवनमा थियो । जीवन असाध्यै राम्रो सहजसंगै पढाई लेखाईमा उहाँलाई उहाँका श्रीमानले धेरै सहयोग गर्नुभयो । सधैँ अगाडी बढ्नको लागि हौसला दिनुहुन्थ्यो । असहजतालाई सहजता पार्नु हुन्थ्यो । परिवार सानो अनि खुसी थियो । सबै कुराले सम्पन्न पनि थियो । घरमा कुनै अभाव थिएन मनमा कुनै बेचैन थिएन । यसै बेलामा विश्वमा कोरोना महामारी आयो । त्यसबाट नेपाल पनि अछुतो रहन सकेन ! देशमा दिनहुँ सयौं मानिसहरूको कोरोनाबाट निधन भइरहेको थियो । त्यहीँ कोरोनाले सरिताको जीवनमा दुःखद क्षण निम्त्यायो । सरिताको घरमा पनि आमा र उहाँका श्रीमान नरेश दुबैलाई कोरोना लाग्यो । आमाले त कोरोनालाई जित्नुभयो तर नरेशले कोरोना जित्न सक्नु भएन कोरोना जित्न कोरोनाको भ्याक्सिन लगाएपछि नरेशलाई झन धेरै गाह्रो भयो ।

मृगौला र कलेजोले काम गर्न छाड्यो । नेपालमा महङ्गो अस्पतालहरुमा उपचार गर्न सम्भव देखिएन नेपालका धेरै ठाउँ उपचार गरियो त्यसपछि उपचारको लागि भारत लगियो । लाखौँ पैसा खर्च गर्दा समेत सरिताले आफ्नो श्रीमान नरेश बचाउन सक्नु भएन । उपचारमा पैसा पनि सकियो श्रीमान पनि रहनु भएन जीवनमा सबैभन्दा दुःखद क्षण २०७८ साल अजोज १६ गते भारतको दिल्लीमा नै उपचारको क्रममा नरेशले देह त्याग गर्नुभयो । सरिताको जीवनमा ठूलो बज्रपात आईलाग्यो । विवाह गरेको १४ वर्षमा नै शिरको सिन्दुर पुछियो । नरेशसँग देखेका लाखौँ सपनाहरु अधुरो भयो तर उहाँले आफ्नो दुई सन्तानको मुहारलाई हेरेर आफुलाई सम्हाल्नुभयो । नरेशको शवलाई डडेल्धुरा नै लगेर दाहसंस्कार गर्नुभयो । १५ दिनसम्मको काजक्रीया सकिएपछि सरिताले आफ्नो मन समाल्दै जीवनलाई गति संगै अगाडि बढाउने प्रयत्न गर्नु भयो अनि सुरुभयो परिवर्तनको यात्रा । मान्छेलाई आईपर्दा हरेक समस्याको समाधान आफैंबाट गर्न बाध्य हुनुपर्ने रहेछ भन्ने कुरा उहाँले देखाउनु भयो । विधूवा महिलाले एक वर्षसम्म सेतो कपडा नै लगाएर एउटै धाराको पानी अनि एउटै मात्र घरमा बस्नुपर्ने परम्परालाई उहाँले तोड्नुभयो । उहाँले परिवर्तन पाहिला आफैँबाट अगाडी बढाउनुभयो । छोरा छोरीलाई हुर्काउनु बढाउनु राम्रो शिक्षा दीक्षा दिने जिम्मेवारी एकतर्फ, श्रीमानको उपचारमा लागेको लाखौँको ऋण अर्कोतर्फ थियो । त्यसमाथि समाजले एकल महिला भएपछि हेर्ने दृष्टिकोण निकै संकोचित थियो । हिजोसम्म सम्मानको दृष्टिकोणले हेर्ने र बुझ्ने मानिसहरुले अब सरितालाई नकरात्मक रुपमा बुझ्ने मानिसको समाजमा कमि थिएन । अझ श्रीमानको निधनको ६ महिनामा रातो कपडामा सजिएर हिडेको देख्नेहरु धेरैले उहाँलाई यतिसम्म भने कि अब एक वर्ष, छ महिना भन्दा बढी बस्दिन, श्रीमानको निधनलाई शोकमा हैन रमाइलोमा लिएर हिडेकी छ । यी यस्तै लान्छनाहरु लगाउने र कुरा काट्नेहरुको कमि थिएन तर सरिताले समाजको कुरालाई कहिले वास्ता गर्नुभएन । उहाँले समाज र आफन्तको असली रुपलाई श्रीमान पीडामा हुँदा गरेको व्यवहारले देखाइ सकेको थियो । धेरै पटक सरिताको जीवनमा यस्ता दिनहरु आए, समाजले उहाँलाई यतिसम्म भने कि उहाँले जीवनको अगाडीको बाटो नै केही समय बिर्से जस्तो भयो तर जब छोरा छोरीको मुहार हेर्नुहुन्थ्यो उहाँमा अगाडी बढ्ने हिम्मत उर्जावान भएर आउँथ्यो ।

त्यसैको फल हो, हिजो खुट्टा तानेर रोक्नेहरु आज सरिताको प्रगतीमा ताली बजाइरहेका छन् । सरिता आफु मात्र हैन आफु जस्ता हजारौँको सोच परिवर्तन गर्न लागिरहनुभएको छ । त्यसको सुरुवात आफैँले गर्नुभएको छ । विधुवाले रातो लगाउनु हुँदैन भन्ने समाजमा आज सरिता शिर ठाडो बनाएर गलामा पोते रातो टिका, अनि रातो सारीमा हिड्नु हुन्छ । समाजले के भन्छ अनि के सोच्छ त्यसमा उहाँलाई केही प्रवाह छैन बस समाज परिवर्तन गर्नुछ त्यसैले सरिता भन्नु हुन्छ –।।। श्रीमानको नामको सिन्दुर हो र राता,रातो त हामीले जन्मजात नै लगाएका हौँ त्यसैले म सिन्दुर बाहेक सबै रातो लगाउछु । पोते लगाउँदा त मन खुसी हुन्छ । किन कि समाजमा लगाउन हुन्छ हुँदैन भन्ने बहस चलेको छ । आज नकरात्मक भन्नेहरुले पनि भोली आफु र आफ्नालाई पर्दा सकरात्मक सोच्छन् भन्ने मलाई विश्वास छ । समाजले अनेक खाले लान्छ्ना लगाउदा पनि सरिताको पाइला रोकिएको छैन । हिजो समाजले केही भन्छ कि ? यसो नगर्दा के होला बुहारी भनेर रोक्ने सासुआमा पनि आज बुझ्ने बन्नु भएको छ । सासुआमाले पनि आज उहाँलाई बुहारी हैन छोराको दर्जा दिनुभएको छ । भाग्यले जीवनसाथी मेरो श्रीमान गुमाएको पीडा छ तर पीडाको घाउमा मलम लगाउने सासुआमा पाएकोमा उहाँ आफुलाई भाग्यमानी मान्नु हुन्छ । सरितालाई थाहा छ आज भन्दा भोलीको यात्रा अझ कठिन हुने छ तर उहाँमा कुनै पनि परिस्थितिमा नडगमगाउने आत्माविश्वास र प्रतिज्ञा छ । जन्म घरमा पनि छोरा समानको दर्जा पाएकी सरिताले बुवा लाल बहादुर साउदको नाम बाट धनगढी उपमहानगरपालिका वडा न.३ स्थित श्री त्रिभुवन माध्यामिक विद्यालयमा ६ कोठे बराबरको दुई तले विद्यालय भवन निर्माण सम्पन्न गर्नु भएको छ ।

शैक्षिक भवनमा आवश्यक पर्ने सामाग्री कुर्ची, टेबुल ,शोफा, दराज सबै खरिद गरि विद्यालयलाई हस्तान्तरण गरिसक्नु भएको छ । छोरी भएर पनि छोरा जस्तै अदम्य साहस बोकेर सामाजिक सेवामा निरन्तर खटिनु भएकी सरिताको कार्य प्रती बुवा आमा हर्षित हुनुहुन्छ । सरिता अहिले नेतृत्व व्यक्तित्व विकासमा क्रियाशिल संस्था धनगढी लेडी जेसिसको अध्यक्ष हुनुहुन्छ । जुन संस्थाले सामाजिक कामहरु गर्दै आइरहेको छ । त्यसका साथै उहाँ नेपाल साँस्कृतिक महासंघ संगमा पनि आबद्ध हुनुहुन्छ र जय मालिका कलेज धनगढी र कोविदा इन्टरनेशनल स्कूल धनगढीमा प्राध्यापन गराई रहनुभएको छ ।