एकल आमा भन्दा गर्व लाग्छ

20

 

समाज परिवर्तनको बाटो तर्फ अगाडि बढिरहेको छ । विज्ञान र प्रविधिको नयाँ नयाँ विकास भएको छ तर मानिसको सोचमा भने खासै परिवर्तन आएको छैन । आज पनि हामी कतिपय अवस्थामा पुराना विचारधारालाई नै समर्थन गरेर आफ्नो अस्तित्व कायम गर्न लागि परेका छौँ । यही भिडमा केही फरक सोच अनि विचारको साथमा अगाडि बढेकी एकल महिला हुन् तिलु राना । जो आफुलाई एकल आमा भनेर चिनाउन पाउँदा गर्व लाग्ने बताउनु हुन्छ । रानाको जन्म २०३९ साल असार १९ गते कोलकतामा भएको हो । बुबा डम्बर बहादुर गलामी मगर र आमा हरिमाया गलामी मगरको तिलु कान्छी छोरी हुनुहुन्छ । उहाँ भन्दा माथि दिदी हुनुहुन्छ । कान्छी आमा गीता गलामी मगरबाट पनि दुई छोरीहरु रहेका छन् । सम्पन्न परिवारमा जन्मनुभएको तिलु बाल्यकालमा निकै चञ्चले स्वभावको हुनुहुन्थ्यो ।

आमा बाबाको माया ममतामा नै उहाँको बाल्यकाल बित्यो । उहाँले एसएलसी भने इन्डियाबाट नै दिनुभयो । करिब २० वर्षको उमेरमा उहाँले प्रेम विवाह गर्नुभयो । आमा बुबाको काखमा छदा केही पनि दुखहरुलाई नभोगेकी तिलुको जीवनमा विवाहपछि धेरै उतारचढाबहरु आए । सम्पन्न परिवारमा विवाह भए पनि केही समय यस्तो परिस्थितहरु आए जहाँ उहाँले स्टपमा खाना पकाउनेदेखि चिउरा मात्र खाएर दिन कटाउने अवस्था समेत आयो तर कहिले पनि हिम्मत हार्नुभएन । जीवनमा आएका हरेक दुखलाई एउटा परिक्षाको रुपमा लिनुभयो र समस्यासँग जुध्दै जानुभयो । छोरी एसिका राना र छोरा यज्ञप्रताप रानाको जन्म भयो । परिवारको जिम्मेवारी थपियो । हरेक जिम्मेवारी गहन रुपमा निभाउदै तिलु अगाडि बढ्नुभयो । तिलुलाई सानैदेखि कराँतेमा रुची थियो । उहाँले केनकाई भन्ने कराँतेको संस्था पनि खोल्नुभयो तेही क्रममा ह्यान्डी ग्राफ सिक्नुभयो । जहाँ सिक्नु भएको थियो अन्तमा त्यही ‘ कान्तिपुर कला सागर एण्ड सप्लार्यस’ किनेर आफैँले सञ्चालन गर्नुभयो । लामो समयमा बिहान कराँते ट्रेनर अनि दिउँसोमा ‘कान्तिपुर कला सागर एण्ड सप्लार्यस’ सञ्चालन गर्नुभयो । केही समय उहाँ इन्डिया पनि बस्नुभयो त्यहाँ पनि उहाँले आफ्नो कराँते यात्रालाई निरन्तरता नै दिनुभयो । यस अवधिमा उहाँ इन्टरनेशनल गोल्ड मेडलिस्ट बन्नु भयो । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्डहरु हात पार्नुभयो । जसमा विवाह अगाडि रुद्रपुरमा भएको पाँचौँ अन्तराष्ट्रिय कराँते च्याम्पियनशिपमा ३ ओटा गोल्ड मेडल जित्नुभएको थियो । त्यसैगरी सिमलाबाट बेस्ट फाइटर इन्टरनेशनल गोल्ड मेडलिस्ट १९९९–२००० जित्नुभएको छ ।

विवाहपछि इन्डियाको कलकत्ता स्टेडियममा भएको थ्री होकमा अवार्ड कपमा तेस्रो हुनुभएको थियो । हालसालै सम्पन्न एसियन गोजुरियो कराँते २०२२ को रेफरी, कराँते कोच र जज बन्नुभएको थियो । तर जीवन सोचे जस्तो सधैँ एकै किसिमको कहाँ हुने रहेछ । विभिन्न उतारचढाब पछि उहाँ कानुनी रुपमा श्रीमानबाट छुटिनु भयो । केही समय त्यस कुराबाट बिछिप्त भएको मनलाई सम्हालेर उहाँले जीवनलाई नयाँ रुपमा परिवर्तन गर्ने सोच बनाउनु भयो । त्यसपछि उहाँले डाइनामिक फिटनेश सञ्चालन गर्नुभयो । तिलु हालसालै सम्पन्न ‘मिस एण्ड मिसेस युनिर्भसल २०२३’ मा मिसेस तर्फ सेकेण्ड रनरप बन्नु भएको छ । तिलु अहिले महिलाहरु एकल रहेर पनि आफ्नो सन्तान र आफ्नो लागि हरेक ठाउँमा प्रतिस्पर्धा गर्न
सक्छन् भन्ने एक उदाहरणीय पात्र बन्नु भएको छ । तिलुले जीवनलाई धेरै नजिकबाट बुझ्नु भएको छ । आफुले मन पराएको मान्छेबाट टाढिदा होस् या एकल आमाको रुपमा समाजमा प्रतिस्पर्धा गर्दा होस् हरेक ठाउँमा आफुलाई अब्बल बनाएर उभाउनु भयो । समाजमा रहेका आफुजस्तै हजारौँ एकल आमाहरुको लागि प्रेरणाको स्रोत बन्न चाहनु हुन्छ । त्यसैले उहाँ हरेक क्षेत्रमा आफुलाई एकल आमा भन्दा गर्व लाग्ने बताउनु हुन्छ ।