झगडाले सम्बन्ध गाढा बनाउँछ

37

जीवन एक यात्रा हो । यही यात्रालाई सहज बनाउन हामीलाई एउटा साथीको आवश्यकता पर्छ । त्यो साथी हाम्रो जीवनमा जीवनसाथीको रूपमा आउँछ र जीवन जिउन सिकाउँछ । त्यसैले त जीवनसाथीलाई अर्को नाममा सहयात्री भनिन्छ । जिन्दगी जिउने क्रममा हामीले दुःखसुखका पलहरूलाई अनुभवमात्रै गरेका हुँदैनौँ, त्यसलाई भोगेका पनि हुन्छौँ । त्यो भोगाईमा आफ्नो बनेर साथ दिने साथी नै सहयात्री हुनेगर्छ । अर्को अर्थमा भन्दा अपरिचितबाट परिचित भएको यही सम्बन्ध–सहयात्राले नै हामीलाई दुः खहरूसँग लड्ने साहस दिइरहेको हुन्छ । सहयात्रा दुई व्यक्तिको वैवाहिक यात्रा हो । यो यात्रालाई कति सुन्दर र सुमधुर बनाउने भन्ने कुरा दुई व्यक्तिको भावना र आत्मीय मिलनमा भर पर्छ । कुनै पनि सम्बन्ध दीर्घकालसम्म मजबुद हुनका लागि प्रेमको साथमा एकअर्कामा सम्मान र विश्वास हुन आवश्यक छ । बैवाहिक सम्बन्धले जोडिदिएको सहयात्रालाई कतिको पे्रमिल र रोमाञ्चित बनाउने भन्ने कुरा एक अर्काको भावना र विचारमा भर पर्छ ।

यही सहयात्राको एक जोडी हुनुहुन्छ गायक तथा संगीतकार डिजराज पौडेल र सुमित्रा सापकोटा । एक समय थियो हरेक रेडियोमा एक मात्र गीत गुञ्जिनथ्यो ‘तिमी आउने बाटोमा फुल रोपिदिए तिमी आएनौँ’। सुनैको दरबार,चौका परेपछि, मुटुमा बास मागी, तिमी करोडमा म त रोडमा लगायताका गीतहरु आज पनि सामाजिक सञ्जाल तथा रेडियो टेलिभिजनमा बज्दा हामीले सम्झने हसिलो मुहार हो डिजराज पौडेल । जसको पहिलो गीत र संगीतले नै दर्शक समक्ष स्थापित गरिदियो । करिब तीन दशकदेखि सांगीतिक यात्रामा क्रियाशिल गायक डिजराजले अहिलेसम्म पाँच ओटा भन्दा बढी एल्बम निकालिसक्नु भएको छ । ८०, ९० ओटा भन्दा बढी गीतहरुमा आवाज दिइसक्नुभएको छ । यसै क्रममा हामीले माघ महिनाको सहयात्रामा उहाँहरुको जोडीलाई समेट्ने कोसिस गरेका छौँ ।

गीतकार तथा संगीतकार डिजराज पौडेलको जन्म सिन्धुलीमा भएको हो । बुबा भवनाी प्रसाद पौडेल र आमा सिता पौडेलको डिजराज साँइलो छोरा हुनुहुन्छ । बाल्यकालमा डिजराज चञ्चले स्वभावको हुनुहुन्थ्यो । हसिलो मुहारको डिजराज कमेडि गरेर सबैलाई हसाँउनु हुन्थ्यो । स्कूलमा सबैको प्रिय हुनुहुन्थयो । शिक्षकहरुले पनि उहाँलाई धेरै माया गर्नुहुन्थयो । कक्षामा अन्य साथीहरु भन्दा अंग्रेजीमा जान्नेभएको कारण साथीहरु पनि धेरै थिए । डिजराजलाई सानैदेखि संगीतमा पनि धेरै रुची थियो । उहाँ घरमा नै हिन्दी, उद्धु तथा नेपाली कालजयी गीतहरु अभ्यास धेरै गर्नुहुन्थ्यो । तर स्कूलमा हुने कार्यक्रमहरु भने गाउन लजाउनुहुन्थ्यो । यसरी एसएलसी दिएपछि उहाँ काठमाडौं आउनुभयो । काठमाडौंमा उहाँ बानेश्वरमा बस्नुहुन्थयो । पढाई, जागिर , संगीतको यात्रा एकैसाथ अगाडि बढिरहेको थियो । त्यही क्रममा उहाँको आफन्तको घरमा जो क्रममा सुमित्रासँग डिजराजको भेट भयो । बिस्तारै डिजराजको प्रेम सुमित्राप्रति पलाउँदै गयो । कयौँ दिन त सुमित्रालाई भेट्नकै लागि
भए पनि डिजराज आफन्तकोमा जान थाल्नुभयो ।

सुमित्रा सापकोटा जन्म काठमाडौंमा भएको हो । बुबा सालिकग्राम सापकोटा र आमा गौरी सापकोटाको सुमित्रा पहिलो सन्तान हुनुहुन्छ । १० वर्षको सानो उमेरमा बुबा गुमाएपछि परिवार प्रतिको धेरै जिमेवारी सुमित्राको काधमा थियो । जसको कारण उहाँलाई समयले सानैदेखि व्यवहारिक बन्न सिकायो । उहाँको स्वभाव पनि मिजासिलो मिलनसार थियो । सानो परिवारमा हुर्कनुभएको सुमित्राले काठमाडौंबाट नै एसएलसी पास गर्नुभयो । मिन भवन कलेजबाट बिबिए सकेर सिटिजन्स बैंकमा जागिरे हुनुभयो । जहाँ अहिलेसम्म क्रियाशिल हुनुहुन्छ । भेट बाक्लो हुँदै जाँदा सुमित्रा र डिजराजको मनमा प्रेम बढ्दै गयो । सुमित्रा भन्नु हुन्छ–।।। प्रेम भन्ने कुरा निकै अच्चमको हुँदो रहेछ, त्यो समय यस्तो थियो कहिले काँही भेट नहोस् भन्दा भेट हुन्थ्यो बाटोमा देखिन्थयो । मलाई त्यो महोल आज पनि याद आउँछ जति बेला उहाँले पहिलोपटक स्टेजमा ।।।तिमी आउने बाटोमा फुल रोपिदिए तिमी आएनौँ’ गीत गाउनुभएको थियो । त्यो हसिँलो अनुहारबाट विछोडको गीत सुन्दा मलाई त्यतिबेला नै लागेको थियो कि मेरो जिन्दगी उहाँसँग हाँसेर बित्छ । ’ त्यतिबेला डिजराज र सुमित्राको प्रेम धेरै परिपक्क थियो ।

करिब ७ वर्षको सम्बन्धलाई उहाँहरुले २०६८ सालमा विवाहमा परिण गर्नुभएको थियो । पारिवारिक वातावरणमा उहाँहरुको विवाह काठमाडौंमा नै सम्पन्न भयो । विवाह गरेको दुई वर्षपछि छोरा सुयोग पौडेलको जन्म भयो । डिजराज भन्नु हुन्छ–‘उमेरसँगै हाम्रो प्रेम परिपक्क हुँदै गयो । छोराको जन्मपछि झन हाम्रो प्रेम र विश्वास बढ्दै गयो । मलाई लाग्छ सन्तानको आगमनले पनि एक अर्कामा विश्वास र माया बढाउँदो रहेछ । ’ डिजराज र सुमित्राको विवाहले एक दशक पार गरिसेको छ । तर प्रेम र विश्वास अझैँ उस्तै छ । डिजराज गायनको शिलशिलामा धेरै ठाउँमा पुग्नुहुन्छ । सुमित्रा आफ्नो घरको व्यवहार सम्हालेर अफिस जानुहुन्छ । सानो–सानो कुरामा खुसी हुने यो जोडिले जीवनलाई एकदमै सरल तरिकाले बिताउन रुचाउनु हुन्छ । सुमित्रालाई घर चिटिक्क राखेको मन पर्छ त्यसमा डिजराज पोख्त हुनुहुन्छ जसको कारण कहिले काही सानो तिनो झगडा पर्छ तर त्यसले कहिले पनि ठूलो रुप लिन पाउँदैन । किन भने गल्ती भएको कुरामा दुबै जना सहजै पश्चताप गर्नुहुन्छ । डिजराज भन्नु हुन्छ–‘झगडा नै नपर्ने सम्बन्ध त सायद कसैको हुँदैन तर धेरैलाई थाहा हुन्न झगडामा नै प्रेम लुकेको हुन्छ । झगडा गर्ने भनेकै मन मिल्ने आफ्नो मान्छेसँग हो त्यो आफ्नो मान्छे सहयात्री भन्दा अरु कोही हुनै सक्दैन । ’ डिजराज र सुमित्राको कुनै ठूलो महत्वकांक्षा छैन जे छ जस्तो छ त्यसैमा रमाउने बानी छ । जसको कारण सम्बन्धमा कहिले दरार आएको छैन । कहिले काँही केही कुरामा सुमित्रालाई रिस उठे पनि डिजराजको मायाले रिस कतिबेला पगाल्छ थाहा नै पाउनु हुन्न । डिजराजलाई सुमित्राले बनाएको मासुको परिकार निकै मन पर्छ तर डिजराज आफैँ भने भान्समा एकदमै कम छिर्नुहुन्छ यधपि, भाडा माझ्ने कलामा भने सुमित्रा भन्दा डिजराज निकै खपिस हुनुहुन्छ । वास्तवमा सहयात्रा त्यो हो, जुन सहयात्रीले जीवनको हरेक दुख सुखमा साथ दिन्छ त्यही असल सहयात्रीको उदाहरण हुन डिजराज र सुमित्रा । देखावटी जीवन भन्दा वास्तविक जीवनमा रमाउने यो जोडी बाहिर हेर्दा जति सरल देखिनुहुन्छ । उहाँहरुको व्यवहार पनि उत्तिकै सरल छ । सुमित्रा घर र छोराको जिमेवारी हेरेर अफिस जानुहुन्छ डिजराज आफ्नो गायन क्षेत्रमा व्यस्त हुनुहुन्छ । आज डिजराजले कमाएको नाम र सफलताको पछाडि केवाल डिजराजको मेहेनत, इमान्दारिता र कर्म मात्र छैन सबै भन्दा ठूलो हात सुमित्राको छ ।