प्रिज्मा टेलिभिजन संचालनमा,टेलिश्रृंखला मात्रै प्रसारण हुने

20

 

काठमाडौं । टेलिश्रृंखला मात्रै प्रसारण गर्ने गरि प्रिज्मा टेलिभिजन संचालनमा आएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा टेलिभिजनको प्रसारण सुरु भएको जानकारी दिइएको हो ।

सिरिज मात्रै प्रसारण हुने यो टेलिभिजन विधागत रुपमा मुलुककै पहिलो च्यानल हुने सञ्चालकले जनाएका छन् । आयोजित कार्यक्रममा अभिनेता तथा निर्देशक नीर शाहले यो टेलिभिजनले विश्वभर छरिएर रहेका नेपालीभाषीलाई एक सूत्रमा बाँध्ने विश्वास आफूले लिएको बताए ।

 

फिल्म क्षेत्रलाई जस्तै टेलिभिजनलाई पनि संकुचित क्षेत्रभित्र राख्दै आएको बताउँदै टेलिश्रृंखलालाई संकुचित घेराभित्र राख्न नहुने उनको भनाइ छ । शाहले भने– ‘दुर्भाग्यको कुरा भन्नुपर्छ, प्रायः हामीले फिल्मको परिभाषालाई जसरी संकुचित घेरामा राखेका छौं, त्यसरी नै टेलिश्रृंखलालाई पनि यही घेराभित्र राख्ने गरेका छौं ।’

नेपाली दर्शकलाई एक सूत्रमा बाँध्न मनोरञ्जनात्मक कार्यक्रम उपलब्ध गराउने उद्देश्यले टेलिभिजन च्यानल सञ्चालनमा ल्याइएको जानकारी कार्यक्रममा दिइयो । विभिन्न भाषाका विदेशी धारावाहिकलाई पनि नेपाली डबिङ गरेर प्रसारण हुने जनाइएको छ ।