पाचौँ प्रि–स्कुल ओलम्पिक २०८० शनिबार हुँदै

73

काठमाडौँ । प्रि–स्कुल ओलम्पिक कमिसनको आयोजनामा पाँचौँ प्रि–स्कुल ओलम्पिक २०८० आगामी शनिवार आयोजना हुने भएको छ। बिहीबार होटेल यलो प्यागोडामा आयोजित एक पत्रकार सम्मेलन मार्फत कार्यक्रम बारे जानकारी गराइएको थियो। राजधानीको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा कुल ६९ विद्यालयका १७०० बालबालिकाको सहभागिता रहने आयोजकको दाबी छ। यो पटक बाट १३ वटा सामुदायिक विद्यालयका बालबालिकाको समेत सहभागिता रहने छ।

शनिवार सम्पन्न हुने कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बू प्रमुख अतिथिका रूपमा रहनेछन् । कार्यक्रमका लागि प्रि(स्कुल ओलम्पिक कमिसनका सदस्य विद्यालयहरूले १ हप्ता अघि देखि नै आ(आफ्नो विद्यालयमा खेल खेलाएर तयारी गरिरहेका छन् । शनिवार रंगशालामा तिनै बालबालिकाहरूले आफ्नो खेल कौशल अभिभावकहरूलाई देखाउनेछन् । यस पटकको ओलम्पिकको नारा, “लिभ टुगेदर, प्ले टुगेदर” (सँगै बाँचौँ, सँगै खेलौँ) रहेको छ।

 

कमिसनले प्रत्येक वर्ष २ पटक बर्खे र हिउँदे ओलम्पिक आयोजना गराउँदै आएको छ। प्रि–स्कूल ओलम्पिक कमिसन, स्पोर्ट्स फर अल कमिसन, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष विष्णु गोपाल श्रेष्ठको संरक्षकत्वमा प्रि–स्कूल ओलम्पिक कमिसनको निर्माण भएको छ। राज्य लक्ष्मी बैदार अध्यक्ष रहेको यो कमिसनमा शर्मिला के।सी। उपाध्यक्ष, रिता घिमिरे तिमिल्सिना कोषाध्यक्ष, सम्झना बस्नेत सचिव रहेका छन्। त्यस्तै डा.मीनाक्षी दाहाल, सानु अमात्य र रेखा शाही हमालले कमिसनको मेन्टरको भूमिका निभाइरहेका छन्। यो पटकको ओलम्पिकलाई १० वटा निजी विद्यालयले सहयोग गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै आयोजकहरूले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न सम्बद्ध सबैलाई अपिल गरे। सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनीहरूले बालबालिकाका क्षेत्रमा राज्यले आवश्यक जति ध्यान दिन नसकेको भन्दै गुनासो मात्रै गर्नुभन्दा आफूहरूले आफ्नो तहबाट गर्न सक्ने प्रयास गर्नका लागि कार्यक्रम आयोजना गर्दै आएको बताए।