विद्यार्थीको पहिलो स्कूल भनेको आफ्नो घर हो–प्रिन्सिपल मोहना मोथे खनाल

72

कालिम्पोङमा जन्मिएकी मोहना मोथे खनालले समाजमा बेग्लै पहिचान बनाएकी छन् । सामाजिक सेवामा रमाउने मोहना एक शिक्षिका हुन् । शिक्षा क्षेत्रमा केही गर्ने उदेश्यका साथ कार्यरत मोहन्नाले काठमाडौंको ज्ञानोदय स्कुलबाट शिक्षिकाको रुपमा आफ्नो यात्रा अगाडी बढाएकी थिइन् । जहाँ उनी सामाजिक शिक्षा विषयको शिक्षिका थिइन् ।

उनले लिटिल एञ्जल्समा पनि करिब १४ वर्ष काम गरेकी छिन् । उनले आफ्नो जीवनको ३ दशक यस क्षेत्रमा बिताएर अनगिन्ती अनुभव हासिल गरेकी छिन् । अहिले नेसनल एकेडेमीमा प्रिन्सिपलको रुपमा कार्यरत रहेको पनि करिब एक वर्ष पुग्न लागेको छ । उनले शिक्षण पेसासँगै मर्निङ ग्लोरी इभेन्ट म्यानेजमेन्टमार्फत धेरै इभेन्टहरु गरेकी छिन् । उनले विशेष गरी बालबालिकाहरुलाई लक्षित गरेर अन्तराष्ट्रिय स्तरको ट्यालेन्ट शो गर्दै आएकी छिन् । जसमा ‘लिटिल च्याम्प’ र ‘सुपर किड्स’ लाई मानिसहरुले बढी चिन्ने गरेका छन् ।

सुरुका दिनमा उनलाई शिक्षा क्षेत्रमा काम गर्ने कुनै इच्छा थिएन र तर विवाहपछि जागिर स्वरुप उनले यस क्षेत्रमा आफ्नो कदम बढाएकी थिइन् । जहाँ काम गर्दै जाँदा उनले अनुभवहरु बटुल्दै गइन् केही नयाँ कुरा सिक्दै गइन् अनि उनमा शिक्षा क्षेत्र जागिरमा मात्रमा सीमित नभएर सपना बन्न पुग्यो । उनलाई बालबालिका निकै मन पर्छ । उनले शिक्षा क्षेत्रमा केवल शिक्षिका मात्र हैन आफैँ विद्यार्थी भएर पनि आफ्नो भूमिका निभाएकी छिन् । उनले बालबालिकालाई केही सिकाउँदा आफूले पनि सिक्ने अवसर पाउने हुँदा यस पेसालाई मनोरञ्जनको रुपमा हेर्ने गरेको बताउँछिन् ।

१९९८ बाट उनले शिक्षण पेसालाई अंगालेकी हुन् आज २०२१ सम्म आइपुग्दा उनले धेरै बालबालिकाको भविष्य उज्याले पार्न ज्ञानको ज्योति बाडेकी छिन् । उनीसँग हिजोदेखि आजसम्म सिकिरहेका यात्राको अनुभवहरु धेरै छन् । साना बालबालिकालाई फकाएर पढाएको होस् या केही माथिल्लो कक्षाको विद्यार्थीलाई अभिभावक बनेर सम्झाएको पल होस् उनले हरेक कुराबाट केही न केही ज्ञान सिक्ने गरेकी छिन् ।

उनले शिक्षण पेसा अंगाल्दाको समय र आजको समयमा शिक्षण क्षेत्रमा आमुल परिवर्तन आएको छ । यी सबै परिवर्तन सकरात्मक बाटो तर्फ नगइरहेको उनको अनुभव छ । उनी भन्छिन्–‘ आजका विद्यार्थीहरु निकै रिसालु स्वभावका भएका छन् । पहिलेका विद्यार्थीहरुमा जस्तो त्यो शान्त र अनुसाशन स्वभाव नै छैन । केही सम्झाउँदा झट्ट रिसाउने झर्किने बानी बढ्दै गएको छ । सायद, यसको कारण हाम्रो खानपिन पनि हुन सक्छ ।

कोरोना महामारीको कारण अन्य क्षेत्र जस्तै शिक्षण क्षेत्रमा पनि यसको असर निकै देखियो । लामो समय विद्यार्थीहरु शिक्षाबाट बञ्चित भए । यसको समाधानको लागि सरकारले अनलाई कक्षा सञ्चानको लागि अनुमति दियो । जुन विद्यार्थीहरुकोमा इन्टरनेटको सुविधा थियो उनीहरुले शिक्षा हासिल गरे । विकल्प नभएकाहरु चुप लागेर बस्न बाध्य भए । यस्तो अवस्थामा मोहनाले भने विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर स्कूलमा नै पढ्ने वातावरण मिलाइन् । उनी भन्छिन्–‘कोरोनाको समय धेरैमा विद्यार्थीहरु अभिभावकको साथमा घर गए । केही स्कूलको वरपर भएका विद्यार्थीको लागि कोरोनाबाट बच्ने उपायसहित मैले स्कुलमै पढ्ने वातावरण मिलाएको थिए । सबै विद्यार्थीले पढ्न पाउने समान अधिकार भएकोले घरमा इन्टरनेट न भएको र तत्काल इन्टरनेट जोड्न सक्ने अवस्था नभएको विद्यार्थीको लागि स्कूलमै अनलाईन कक्षा सञ्चान गरेको थिए । यस कामको लागि मलाई स्कूलका शिक्षकहरुले पनि धेरै सहयोग गरे कोरोनाले गर्दा शिक्षण क्षेत्रमा अनलाइन कक्षाले राम्रो प्रभाव छोड्यो । तर यसले गर्दा विद्यार्थीहरुमा पढ्न पर्ने भावना हराएको उनी बताउँछिन् । कोरोना काल अगाडी मोबाइल न चलाउ भन्नु पर्ने बालबालिकालाई अनलाइन कक्षामा बस्न जर्वरजस्ती मोबाइल चलाउ बस भनेर फकाउनु पर्यो । जसले गर्दा आफ्नो लागि भन्दा पनि अर्काको लागि पढेको जस्तो विद्यार्थीहरुले महसुस गर्ने र विद्यार्थीहरु अल्छी भएको मोहन्ना बताउँछिन् ।

उनी भन्छिन्–‘विद्यार्थीको लागि अनलाईन कक्षा जति नै प्रभावकारी भने पनि यसका बेफाइदाहरु पनि छन् । हामीले कक्षा कोठामा विद्यार्थीलाई स्पर्श गरेर पढाएको जस्तो अनलाइनमा हुँदैन । किन भने हाम्रो आँखा अगाडी पढे जस्तो गरे पनि उनीहरु अन्य क्रियाकलापमा व्यस्त भइरहेका हुन्छन् । परिक्षा छ भने मात्र अलिकति चनाखो भए जस्तो गर्छन नत्र भने अन्य कुराको बाहाना धेरै बनाउँछन् । उनीहरुले पढाएको विषय कतिको शुझे वा बुझेनन् भनेर मूल्याङकन गर्न निकै कठिन हुन्छ । साना बालबालिकाको लागि त झन एक जना साथीको नै आवश्य पर्छ ।’

कोरोना महामारीपछि विद्यालयमा सञ्चालनको लागि धेरै चुनौती थपिए । अभिभावकको रोजिरोटी खोसिदा विद्यार्थीहरु पढाइबाट बञ्चित भए । स्कूल भवन, शिक्षकको पारिश्रमिकदेखि विद्यार्थीको स्वास्थ्य अवस्थासम्म धेरै कुरामा चुनौती आयो । तर मोहना यही चुनौतीलाई पार गर्दै आफ्नो स्कूललाई देशकै नमुना स्कूल बनाउन लागि परेकी छिन् ।

एउटा स्कूललाई नमुना बनाउँन केवल एक प्रिन्सिपलको मात्र हैन विद्यार्थी शिक्षक र अभिभावक सबैको उत्तिकै महत्वपूर्ण हात हुन्छ । उनलाई लाग्छ, कुनै पनि स्कूलबाट एक सक्षम विद्यार्थी उत्पादन हुन शिक्षकको भन्दा अभिभावकको भूमिका धेरै हुन्छन् । विद्यार्थीको पहिलो स्कूल भनेको आफ्नो घर हो । किन भने अभिभावकले घरमा दिएको ज्ञान स्कूलमा शिक्षकले दिएको भन्दा धेरै महत्वपूर्ण हुन्छ । सबै अभिभावकले स्कूलले नै सब कुरा सिकाउँछ भन्ने भ्रममा पर्न हुँदैन । विद्यार्थी घरमा आएपछि उसले सिकेका कुरालाई मूल्याङकन गर्ने काम अभिभावकले गरे मात्र एक विद्यार्थी असल विद्यार्थीको सूचिमा पर्छ ।

मोहनाको स्कूल ‘नेसनल एकेडेमी मा करिब १२, १३ सय विद्यार्थीहरु अध्ययनरत छन् । उनी त्यस स्कूलमा प्रिन्सिपलको पदमा रहे पनि उनले विद्यार्थीको अगाडी शिक्षिका मात्र हैन अभिभावकको भूमिका पनि निभाउँदै आएकी छिन् । उनले कक्षा कोठामा किताबी ज्ञान भन्दा धेरै व्यवहारी ज्ञान सिकाउने गरेकी छिन् । त्यसैले उनी विद्यार्थीको रोजाईको शिक्षिकाको रुपमा चिनिन्छन् ।