नारी दिवस र नेपाली नारी

119

हरिराम पौडेल
भन्न त धनकी देवी लक्ष्मी, विद्याकी देवी सरस्वती र शक्तिकी देवी दुर्गा भनेर नारीलाई पूजा गर्ने गरिन्छ समाजमा तर व्यवहारमा भने नारी र पुरुषमा समान व्यवहार समेत गरेको पाइदैन । नारी हिंसाका घटना दिनप्रतिदिन बढिरहेका छन् । पत्रपत्रिकामा दैनिक रुपमा महिला हिंसा, विभेद र शोषणका समाचारहरु छापन्छिन्, टेलिभिजन र रेडियोमा यिनै समाचार सुन्नु पर्छ ।
२१ औँ शताब्दीको विकसित र समृद्ध समाज भने पनि समाजमा पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुन आदिका कारण नारीहरु जबरजस्ती करणी, यौन दुव्र्यवहार, एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथा, बालविवाह, बहुविवाह, अनमेल विवाह जस्ता अमानवीय व्यवहार सहन बाध्य भएका छन् । कानूनको कमि भन्दा पनि कानून लागू गर्ने निकाय चुस्न नभइदिदा नारीहरु यस प्रकारका उत्पिडन सहन बाध्य छन् । प्रत्येक वर्ष मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय नारी दिवसले नारीले भोग्नु पर्ने यी र यस्ता अवस्थाको न्युनिकरण समेत गर्न नसकेको यथार्थ हामी सामु रहेको छ ।

सन् १९७५ लाई संयुक्त राष्ट्रसंघले मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गर्यो । संसारका १८९ सरकारका प्रतिनिधिद्वारा हस्ताक्षरित सन् १९९५ को बेइजिङ घोषणापत्रले प्रत्येक महिलाले इच्छाअनुसार राजनीतिमा भाग लिन पाउने, शिक्षा आर्जन गर्न पाउने, कुनै पनि लैङ्गिक विभेद र हिंसाको सिकार नभई समाजमा स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारसहितको ऐतिहासिक निर्णय ग¥यो । सन् २००२ मा बसेको राष्ट्रसंघ महासभाले लक्षित गरेको सहस्राव्दी विकास लक्ष्य लगायतका सबै खाले सम्मेलन तथा सन्धिले पनि सन् २०१५ सम्ममा लैङ्गिक आधारमा विद्यमान सवै किसिमका असमानताहरु हटाउन सरकारका संयन्त्रहरु, गैरसरकारी संघ संस्थाहरु, नागरिक समाज, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघसंस्था तथा दातृपक्षले समेत अ–ाआफ्नो क्षेत्रबाट एक्लै वा समन्वयात्मक रुपमा कार्य गर्ने लक्ष्यहरु राखेको थियो तर सो लक्ष मात्र लक्षमा सिमित रह्यो ।

भन्न त महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सृजना गर्नु यस दिवसको मर्म हो भनिन्छ तर यी भनाईहरु भनाई र नारामा मात्र सिमित रहेका छन्, नारीको अवस्था जस्ताको तस्तै रहेको छ । नेपालमा नारी दिवस मनाउन थालिएको पनि दशकौं भइसकेको छ । वि.स. २०१६ सालमा प्रधानमन्त्री वी.पी. कोइरालाको पालादेखि यो दिवस मनाउन सुरु गरिएको हो भन्दा गर्व लाग्छ तर दशकौ सम्म पनि नारीको अवस्था उस्तै रहदा भने खिन्नतावोध हुने गर्दछ ।

नेपालमा प्रधानमन्त्री वी.पी. कोइरालाको मन्त्रिमण्डलमा उनले द्वारिकादेवी ठकुरानीलाई पनि आफ्नो मन्त्रिमण्डलमा समावेश गराएर महिला सहभागिता लागू गरेका थिए, अहिलेको अवस्थामा आइपुग्दा राष्ट्रपति, सभामुख तथा सर्वोच्च अदालतको प्रधानन्याधीश जस्तो संवैधानिक तथा गरिमामय पदमामा नेपाली महिला पुगिसकेका छन् भने नेपालको संविधान २०७२ ले केन्द्रदेखि स्थानीय तहसम्मको संघीय संरचनामा प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच स्थापित गरेको अवस्था रहेको छ ता पनि नारीहरु किन उत्पिडनमा परेका छन् भन्ने प्रश्न अनुत्तरित रहेको छ साथै नारी माथी हुने हिंसाका घटना पनि बढिरहेका छन् । पदीय आडले पनि हिंसा हुने गरेका छन् । कार्यालयमा हुने हिंसामा विशेष गरी उच्चपदको पुरुष कर्मचारीबाट उ भन्दा तल्लो तह कि महिला कर्मचारी हिंसामा पर्ने गरेकी छिन् ।

लैंगिक हिंसा विरुद्धका अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरु
 दासत्व विरुद्धको महासन्धि ७ जनवरी १९६३
 दासत्व, दासव्यापार तथा दासता जस्तै व्यवहारहरु सम्वन्धी महासन्धि, १९५३,
 वालअधिकार महासन्धि, १९८९,
 महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन सम्वन्धि महासन्धि, १९७९ र इच्छाधिन आलेख १९९९,
 देहव्यापारको लागि हुने महिला तथा वालवालिका वेचविखन नियन्त्रण र सो विरुद्ध सघंर्ष गर्ने, सम्वन्धी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन महासन्धि, २००२,
 महिलाको राजनैतिक अधिकार सम्बन्धि महासन्धि १९५२

सन १९७५ देखी विश्व स्तरमा महिला अधिकार सुनिश्चितता र लैंगिक हिंसा न्युनीकरणको लागी निरन्तर रुपमा आयोजना गरिएकोे विभिन्न विश्व महिला सम्मेलनहरुले पारित गरेको घोषणपत्र र अन्तर्राष्ट्रिय दस्ताबेजहरुलाई पनि महिला अधिकारको अन्तर्राष्ट्रिय दस्ताबेज जसमा १९९५ मा चीनको बेईजिङमा भएको बेईजिङ सम्मेलनमा अनुमोदन गरेको महिलासँग सरोकार राख्ने १२ बुंदे महिला अधिकारको सवाललाई महत्वपूर्ण दस्तावेजको रुपमा रहेको छ ।
लैंगिक हिंसा विरुद्धका राष्ट्रिय कानूनहरु
 नेपालको संविधान, २०७२
 महिला विरुद्धका ६५ वटा विभेदपूर्ण प्रावधानहरु संसोधन गरी लैंगिक समानता कायम गर्न केहि नेपाल ऐन संसोधन गर्न वनेको ऐन, २०६३
 मानव वेचविखन तथा ओसारपसार नियन्त्रण गर्ने ऐन,२०६४ र नियमावली, २०६५
 लैंगिक हिंसा निवारण कोष (सञ्चालन) नियमावली, २०६७
 छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४
 एकल महिला सुरक्षा कोष नियमावली, २०७०
 मुलुकी (देवानी तथा फौजदारी) संहिता २०७४
 मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४
 घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६
 कार्यस्थलमा हुने यौन जन्य दुव्र्यवहार सम्वन्धि ऐन ,२०७१
 विद्युतीय कारोबार ऐन, २०६४
 बालबालिका सम्बन्धी ऐन, २०४८
 लैंगिक समानता कायम गर्न वनेको ऐन, २०६३
 लैंगिक समानता कायम गर्ने तथा लैंगिक हिंसा अन्त्य गर्न केही ऐनलाई संसोधन गर्ने ऐन, २०७२
 वोक्सीको आरोप सम्वन्धि कसुर तथा सजायका सम्वन्धमा व्यवस्थ गर्न वनेको ऐन, २०७२

पक्ष राष्ट्र भएको नाताले महासन्धिमा भएका सबै प्रावधानहरु पालना गर्नु राज्यको कर्तव्य हो । राज्यले अन्तर्राष्ट्रिय महासन्धिमा भएका व्यवस्थाहरुलाई घरेलु कानुनहरुमा आन्तरिकीकरण गर्न महिला सम्बन्धी अधिकारलाई कानुन र संविधानमा सुरक्षित पनि गरेको छ । यति धेरै सन्धि र कानूनहरु नारीको पक्षमा रहदा समेत समाजमा नारीले हिंसाको सामना गरिरहनु परेको दुःख लाग्दो अवस्था छ ।

नेपालको इतिहासमै पहिलो पटक संविधानसभाबाट जारी भएको नेपालको संविधानको धारा ३८ मा महिलाको हक संरक्षित गरी सो हक हनन भएको खण्डमा संवैधानिक उपचारको व्यवस्था समेत गरेको छ । व्यवहारगत रुपमा हुने हिंसालाई नियन्त्रण गर्न मुलुकी फौजदारी अपराध संहिता २०७४ मा महिला विरुद्धका कसूरलाई जघन्य कसुरकोको रुपमा स्थापित गरेको छ । यति हुँदाहुदै पनि नियन्त्रण गर्ने कार्यकारी निकाय, नियामक निकाय र न्याय दिलाउने स्वतन्त्र, स्वच्छ एवं सक्षम न्यायपालिका हुँदाहुँदै पनि हरेकदिन घट्ने लैंगिक एवं यौन हिंसा विरुद्धका कसूरमा राज्यको यथेष्ठ ध्यान पुग्न नसकेको कारणले नारीले सधैं आँफूलाई असुरक्षित महशुष गर्नु परेको अवस्था छ ।
नारी हिंसाका कतिपय घटना सार्वजनिक नै हुदैनन्, पीडितले इज्जत, प्रतिष्ठा, डर र धम्कीको कारण आँफू हिंसामा परेको कुरा लुकाई छिपाई राख्ने गर्दछन्, कतिपय अवस्थामा यस्ता घटना लुकाउन परिवारको समेत दवाव पर्ने गरेको छ । विशेषतः ग्रामिण परिवेशमा यस्तो समस्या बढि देखिएको छ । अशिक्षा, कानूनी ज्ञानको अभाव र न्याय पाउने सम्भावना कम देखिदा जघन्य प्रकृतिका नारी हिंसाका घटनाहरु पनि प्रकाशमा आउदैनन् ।
यस पटकको नारी दिवस देखि सडकदेखि सदनसम्म नारी मैत्री स्वरहरु गुञ्जियोस्, दिवस तारे होटलमा मीठा, मीठा परिकारको रसस्वादन र र भाषणमा मात्र सिमित नहोस्, यो दिवसले कहि, कतै नारी भएकै कारणले हिंसा, उत्पिडनमा परेका समाचारहरु पढ्न नपरोस्, पुरातनवादी सोचको अन्त्य होस्, नारी पुरुष दुवैमा एक–अर्कालाई सम्मान गर्ने वातावरणको सृजना होस्, सम्पूर्ण नारीजनमा नारी दिवसको शुभकामना ।
(लेखक नवनारीका सम्पादक हुन् । )