अमिताभदेखि शाहरुखसम्म यी चार कलाकालर विरुद्ध मुद्दा दर्ता

36

मुम्बई । बलिउडका अभिनेता अमिताभ बच्चन, शाहरुख खान अजय देवगन र रणवीर सिंहविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध पान मसला र गुटखाको प्रचार गरेको आरोपमा बिहारको एउटा अदालतमा मुद्दा दर्ता भएको हो ।

यी बलिउड स्टारविरुद्ध मुजफ्फरपुरका सामाजिक अभियन्ता तमन्ना हासमीले केस दर्ता गराएकी हुन् ।

वास्तवमा यो मुद्दा अभिनेता अक्षय कुमारबाट सुरु भएको हो । हालै अभिनेता अक्षयले पान मसाला ब्रान्डको प्रचार गर्दै गरेको देखिएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना सुरु भएको थियो ।

चर्को आलोचनापछि अभिनेताले सामाजिक सञ्जालमार्फत नै माफी माग्दै उक्त ब्रान्डसँग टाढिए । उनले उक्त प्रोजेक्टबाट पाएको पारिश्रमिक सामाजसेवामा लगाउने बताए ।

अक्षयका साथै बलिउड अभिनेता अमिताभ बच्चन, अजय देवगन, शाहरुख खान र रणवीर सिंह पनि पान मसलाको प्रचार गर्दै गरेको देख्न सकिन्छ । हुन त अमिताभ बच्चनले गत वर्ष मात्रै आफूले प्रचार गर्दै आइरहेको तम्बाकु ब्रान्डसँगको आफ्नो सम्झौता रद्द गरिसकेका छन् ।

तर, तमन्नाले दर्ता गरेको मुद्दापछि यी चार अभिनेताको कानुनी झमेला सुरु भएको हो । उनले अमिताभ, अजय, शाहरुख र रणवीरविरुद्ध सेक्सन ४६७, ४६८, ४३९, र १२०बी अन्तर्गत मुद्दा दर्ता गराएकी हुन् ।

उनीहरूविरुद्ध हालेको चार्जसिटमा ‘पैसाको लोभमा आफ्नो पपुलारिटीको गलत प्रयोग’ गरेको आरोप लगाइएको छ । नवभारत टाइम्सका अनुसार यस मुद्दामा २७ मे मा सुनुवाइ हुँदै छ ।