विमान दुर्घटना : ज्यान गुमाउनेमा धनगढीको एक दम्पत्ति पनि

26

काठमाडौं ।पोखराबाट जोमसोमका लागि उडान भरेर दुर्घटनाग्रस्त भएको विमानमा धनगढीको एक दम्पत्तिले पनि ज्यान गुमाएको पुष्टि भएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१४ ‘एच गाँउ’ फूलबारीका ६९ बर्षीया पुरूषोत्तम गोले र ६५ बर्षीय उनकी श्रीमती तुलसीदेवी तामाङ विमान दुर्घटनामा परेका हुन् । उनी काठमाडौंमा जोरपाटीमा गलैंचा उद्योग संचालन गर्दै आएका थिए । उनका तीन छोरा र तीन छोरी छन् ।

उनीहरुको पुर्खेउली घर भने धनुषा हो । उनीहरु परिवार सहित मुक्तिनाथ दर्शनमा निस्केका थिए । गलैँचा उद्योगको संचालन गरी काठमाडौँ बस्दै आएका गोलेले धनगढी उपमहानगरपालिका १४ ‘एच गाँउ’ फूलबारीमा सिद्धार्थ आधारभूत विद्यालय स्थापना गरेका थिए । सामाजिक अगुवाका रूपमा पहिचान बनाएका गोलेले विद्यालय स्थापनका बखतमा निःशुल्क रूपमा शिक्षक भएर सेवा समेत दिएका थिए ।

उनीहरू एकै परिवारका सात जनामध्येकै सदस्य हुन् । राजा वीरेन्द्रको कार्यकालमा २०३६ सालमा उनीसँगै ९७ घर धुरी धनुषाबाट बसाइँसराइ गरी कैलाली आएका थिए । त्यसमध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सातजना रहेको पुष्टि भएको हो ।

विमानमा धनुषा मिथिला नगरपालिका–११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेका छन् ।