आज क्वाँटी खाने दिन, यसरी बनाउनुहोस् स्वादिलो क्वाँटी

57


कामठाडौं । आज जनैपूर्णिमा, काँधमा जनै र हातमा डोरो बाध्नुका साथै घर घरमा क्वाँटी खाने प्रचलन धेरै पहिलेदेखि चलिआएको छ ।
क्वाँटी खाने प्रचलन खासगरी नेवार समुदायमा बढी छ तर पछिल्लो समय सबै समुदायमा यसको लोकप्रियता बढेको छ ।
प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमाको रातमा क्वाटी खाने गरिन्छ । क्वाटी जनै पूर्णिमाको विशेषता पनि हो । नेवारी भाषामा क्वाँ भनेको तातो हो भने टि भनेको झोल हो । त्यसैले क्वाटीको खास अर्थ तातो झोल पदार्थ भन्ने हुन्छ ।

 

क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको छ । फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिवद्र्धक पौष्टिक आहारका रुपमा पनि लिइन्छ ।

केराउ, चना, मुगी, मास, सिमी, भटमासलगायतका गेडागुडी मिसाई पानीमा भिजाएर टुसा निक्लिएपछि क्वाँटी तयार पारिन्छ ।

 

क्वाँटी कसरी बनाउने
क्वाँटी बनाउने बिभिन्न तरिका हुनसक्छन् । कसैले भुटेर त कसैले झोल राखेर साकाहारी स्वादको क्वाँटी पकाउँछन् । कसैले कुखुरा र खसीको मासु मिसाएर पनि क्वाँटी बनाउँछन् । यसमध्ये हामीले शाकाहारी क्वाँटी बनाउने तरिका दिएका छौ ।

आवश्यक सामाग्री
टुसा पलाएका मिक्स गेडागुडी– २०० ग्राम
ज्वानो– १० ग्राम
सुप– ५ ग्राम
तोरी– ५ ग्राम
करी पाउडर– ५ ग्राम
काटेको–पिनेको लसुन– १० ग्राम
काटेको–पिनेको अदुवा– १० ग्राम
ताजा हरियो– रातो खुर्सानी– ५ ग्राम
बेसारको धुलो– ५ ग्राम
काटेको प्याज– २० ग्राम
काटेको गोलभेडा– ४० ग्राम
नुन –स्वाद अनुसार
काटेको हरियो धनियाँ– ५ ग्राम

क्वाँटी तयार गर्ने तरिका
दुई दिनअघि नै भिजाएर राखेको एघार प्रकारका गेडागुडीहरू र माथिका सामाग्री भेला पारेपछि अब क्वाँटी बनाउन सुरू गर्नुहोस् ।

सुरूमा प्रेसर कुकरमा तेल तताउनुहोस् ।

तेल तातेपछि ज्वाँनो, सुप र तोरी फुराउनुहोस् । एकैछिनमा काटेर राखेको प्याज, लसुन, अदुवा, ताजा रातो÷हरियो खोर्सानी राख्नुहोस् र २–३ मिनेट भुट्नुहोस् ।

अब, उम्रिएको मिक्स गेडागुडी हालेर केही बेर भुट्नुहोस् ।

करी पाउडर, बेसारको धुलो, काटेको गोलभेडा, नुन स्वादअनुसार हालेर राम्रोसँग चलाउनुहोस् र फेरि २–३ मिनेट भुट्नुहोस् ।

केहीबेर भुटिसकेपछि पानी हालेर प्रेसर कुकरको बिर्को बन्द गर्नुहोस् ।

ठूलो आगो पारेर करिब ६–७ शिठी लगाउनुहोस् । र हावा गएपछि बिर्को खोल्नुहोस् ।

क्वाँटीलाई आकर्षक देखाउन काटेको हरियो धनियाँ हालिदिनुहोस् ।

अब तपाईंको भान्सामा स्वादिलो क्वाँटी तयार भयो ।

क्वाँटीलाई अझ स्वादिलो बनाउन गरम मसला पनि राख्न सकिन्छ। साथै पुनः तेलमा सुकेको रातो खुर्सानी, जिराको दाना र ज्वानो हालेर क्वाँटी झान्न पनि सक्नुहुन्छ ।