डेंगुबाट बच्न पूरा बाहुला भएका पोशाक लगाउन आग्रह

36

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कर्मचारीहरुलाई पूरा बाहुला भएका पोशाक लगाउन आग्रह गरेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप बढेको भन्दै मन्त्रालयले त्यसबाट जोगिन पूरा बाहुला भएको पोशाक लगाउन आग्रह गरेको हो ।

मन्त्रालयले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘डेंगु रोगको संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्त सफा राख्नुहुन र कार्यालय समयमा पूरा बाहुला भएको पोशाक अनिवार्य लगाउनुहुन नेपाल सरकारका सम्पूर्ण कर्मचारीहरु एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा अनुरोध छ ।’

डेंगु एडिज नामको लामखुट्टेको टोकाइबाट सर्छ । यो लामखुट्टे विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय हुन्छ । त्यसैले डेंगु रोग लाग्नबाट जोगिने सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो ।